बाढी–पहिरो पीडितका लागि नेपाल तामाङ घेदुङ जोहोरबारुद्वारा रु. २ लाख २२ हजार सहयोग।

जोहोरबारु (मलेसिया):= नेपालमा चीन – रसुवा नाकाहुँदै भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति नेपाल तामाङ घेदुङले गहिरो दुःख व्यक्त गरेको छ।

प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिको संयोजनमा नेपाल तामाङ घेदुङ मलेसिया, क्षेत्रीय कार्यसमिति जोहोरबारुले रु. २ लाख २२ हजार २ सय ५५ सहयोग रकम पठाएको छ।

विपद्को कठिन परिस्थितिमा पीडित परिवारको साथमा उभिँदै मानवीय सहयोग गर्ने उद्देश्यले उक्त रकम खाद्यान्न तथा आवश्यक राहत सामग्री व्यवस्थापनमा प्रयोग गर्ने गरी प्रदान गरिएको जनाइएको छ। सो संकलित रकम घेदुङ जोहोर समितिले नेपालको संघीय परिषदको खातामा जम्मा गरेका हुन ।

राहत अभियानमार्फत विपद्मा परेका परिवारलाई केही भए पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै नेपाल तामाङ घेदुङ जोहोरबारु कार्यसमितिले अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगी हात, शुभेच्छुक तथा सदस्यहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

मलेसियामा रहेका नेपाली समुदाय तथा विभिन्न संघसंस्थाले नेपालमा आएको बाढी–पहिरोबाट प्रभावित नागरिकका लागि राहत तथा आर्थिक सहयोग जुटाइरहेका बेला तामाङ घेदुङ जोहोरबारुको यो सहयोग पनि मानवीय ऐक्यबद्धताको उदाहरण बनेको छ।