‘परालसम्म पनि बचेन, धानको त आसै थिएन’
[ विवेक खड्का ]
दाङ:= काटेको धान पूरै पानीमा डुबेको छ । तैपनि तुलसीपुर उपमहानगरपालिका-११ मोतीपुरका किसान जागुराम चौधरीले काटेर एकमेसो राखेको धानको लिन फर्काउँदै हुनुहुन्छ । उम्रिसकेका बाला र कुहिएको परालले उहाँको अनुहार मलीन बन्यो । ‘परालसम्म पनि बचेन, धानको त आसै थिएन,’ डुबानमा परेको धान देखाउँदै जागुरामले भन्नुभयोे ।
लगातार चार दिनको बेमौसमी झरीले मोतीपुरको करिब ६० बिघामा काटिसकेको धान सखाप भएको छ । मातीपुर बबई नदीको तटीय क्षेत्र हो । विसं १९८० सालसम्म मोतीपुरको नाम ‘आँखा फुटी’ थियो रे । फालाबांगी राजा त्यहाँ पुगेका बेला असाध्यै राम्रो धानखेती देखेपछि ठाउँको नाम नै फेरिदिएर मोतीपुर राखिदिएको बुढा पाकाहरू सुनाउँछन् । मोतीपुर उत्पादनका दृष्टिकोणले अन्नको भकारी पनि हो ।
तर, त्यही मोतीपुरमा अहिले बेमौसमी वर्षाका कारण भित्र्याउने अवस्थाको सबै धान स्वाहा भएको अवस्था छ । ‘काटेको धान मात्र होइन, नकाटेको धान पनि ठाडै बालामै टुसा पलाएको छ’, उम्रेको बाला देखाउँदै स्थानीय मोहन बस्नेतले भन्नुभयो, ‘हाइब्रिड धान पाकेको समयमा भिœयाउन सकिएन र पानी परिरहेको हुँदा ठाडै बोटमै फेरि फल टुसाएको छ ।’ ढलेको धान त खेतमै उम्रिन थालिसकेको छ ।
खराइमा राखिसकेको धान डुबेपछि सोही गाउँका मनिराम चौधरीले पम्पसेट लगाएर गराको पानी तानिरहनुभएको थियो । ‘काट्न बाँकी त खेतमै डुब्यो, खराइमा राखेको धान पनि पानीले उम्रिसकेको छ’, मनिरामले भन्नुभयो, ‘प्रकृतिको खेललाई कसैले टार्न सक्ने रहेनछ ।’ चार वर्षअघि पनि मोतीपुरको गनारीमा खेतमा काटेर सुकाएको धान एकैरात परेको पानीका कारण भल आएर धान पूरै बगाएको थियो । तर, यति धेरै क्षति त्योबेला नभएको मनिरामले बताउनुभयो ।
मोतीपुरमा अधिकांशले जमिनदारको अधियाँ खेत लगाएका छन् । तर, यो वर्ष श्रमको खर्च पनि उठ्न नसक्ने चिन्ताले उनीहरूलाई सताएको छ । वर्षभरि के खाएर गुजारा गर्ने भन्नेमा उनीहरू चिन्तित छन् । बेल टाकुराका सन्तबहादुर बुढाथोकी पनि बिहीबार धानखेतमै मलीन अनुहारमा भेटिनुभएको थियो । जसोतसो मल बिउको जोहो गरेर हुर्काएको धान भिœयाउने बेला सखाप भएपछि उहाँको मन भक्कानिएको छ ।
‘दशैँ मानेलगत्तै मेसिन लगाएर एकैदिन कटाएको थिएँ, तर दैवले भित्र्याउन दिएन’– सन्तबहादुरको दुःखेसो छ । भिजेको वा टुसाएको धान खाँदा पनि मिठो नहुने र मूल्य पनि नपाउने उहाँले बताउनुभयो । ‘यसरी भिजेको धान कथम कदाचित जोगिए पनि कुटाउँदै धुलैधुलो हुने गर्छ,’ उहाँले भन्नुभयो, ‘यो पालि भोकमरी पर्न सक्छ र धानको मूल्य निकै महँगो हुनेछ ।’
तुलसीपुर उपमहानगरपालिका–१० गौरीगाउँका किसान दानबहादुर खड्का पनि यस्तै नियति भोगिरहनुभएको छ । भर्खरै फाटेको आकाशमुनि उहाँले खेतका गरामा धानका लिन फर्काइरहनुभएको थियो । तर, उम्रिसकेका दानाले दानबहादुरको मन फाटेको छ । गाँसका लागि तयार खाना दैवले उम्काइ दिएको किसानले बताउने गरेका छन् । तैपनि बचेखुँचेका बाला स्याहार्न पूरै गाउँले खेतमा देखिन्थे ।
पश्चिम दाङमा मोतीपुर धान उत्पादनको दृष्टिले भकारी समान हो । मोतीपुरका स्थानीय बासिन्दा तथा तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतले बेमौसमी झरीले किसानले भिœयाउने बेलामा धान सबै स्वाहा पारेको हुँदा राज्यले क्षतिपूर्ति दिनुपर्ने बताउनुहुन्छ । तीनै तहका सरकारले किसानका समस्यालाई सुनेर समाधानको प्रयास तत्काल थाल्नुपर्ने उहाँको सुझाव छ ।
किसानको वर्ष दिनको मिहिनेत क्षति हुँदा पनि स्थानीय पालिकाका कृषि शाखाका कर्मचारी र जनप्रतिनिधिहरू खेतबारीमा नआएको प्रति बस्नेतले रोष प्रकट गर्नुभयोे । गौरीगाउँ, कटाँहा, प्रिगाउँ, मोतीपुर मात्र होइन, तुलसीपुर–२ पवननगरका किसान पनि बेमौसमी वर्षाले निकै आहत भएका छन् ।
तुलसीपुर–२ का वडाध्यक्ष राजु आचार्य भने किसानसँगै खेतमै भेटिनुभएको थियो । ‘हाम्रो वडामा कम्तीमा ३० प्रतिशतभन्दा बढी धान खेती नोक्सान भएको प्रारम्भिक अनुमान गरेका छौं’,- पवननगर कुमलगढीको खेतमा भेटिनुभएका वडाध्यक्ष आचार्यले भन्नुभयोे । आचार्यका अनुसार सबैभन्दा बढी क्षति त्यहाँ कुमलगढीमै भएको छ । तकियापुर, नन्द्रागाउँ लगायतका क्षेत्रमा पनि काटेको र नकाटेका धानबाली पनि नोक्सान पुगेको उहाँले बताउनुभयो ।
वडाध्यक्ष आचार्यले किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनेबारे आफूले तुलसीपुरका मेयरसँग कुरा गर्दै आएको बताउनुभयो । आकाश खुल्नेबित्तिकै बिहीवार बिहानै तुलसीपुर १९ थानगाउँका किसान पनि खेतमा पुगिसकेका थिए । त्यहाँ पनि अधिकांश किसानले धान काटिसकेका छन् । काट्न बाँकी धानमा नोक्सान नभए पनि काटिसकेको धानबाली पूरै क्षति भएको स्थानीय शिक्षक सूर्यबहादुर बस्नेतले जानकारी दिनुभयो।
पश्चिम दाङका दंगीशरण, शान्तिनगर, बबई गाउँपालिका, तुलसीपुर र घोराही उपमहानगरपालिका, लमही नगरपालिका, राप्तीलगायत सबै पालिकाहरूमा बढी क्षति भएको जिल्ला कृषि ज्ञानकेन्द्रले जनाएको छ । उसले दाङमा यो वर्ष ३९ हजार हेक्टरमा धानखेती भएको भन्दै ३० प्रतिशत धानबाली नोक्सान भएको जानकारी दिएको छ ।




















