काठमाडौं:= प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले संसद्मा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्नुभएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकमा उहाँले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्नुभएको हो । लगत्तै सभामुख प्रदीपकुमार भण्डारीले प्रस्तावउपर ७ गते मतदान हुने जानकारी गराउँदै बैठक स्थगित गर्नुभयो । प्रदेशसभामा प्रस्ताव टेबुल भएसँगै मुख्यमन्त्री आचार्यको कार्यकालको छिनोफानो आइतबार हुने भएको छ ।
बैठक सुरु हुनुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्ता र प्रतिपक्षी दलहरूबीच शुक्रबार प्रस्ताव टेबुल गर्ने र आइतबार उक्त प्रस्तावमाथि छलफल गरी प्रदेशसभामा मत विभाजन गर्ने सहमति भएको थियो । सोहीअनुसार मुख्यमन्त्री आचार्यले शुक्रबारको प्रदेशसभा बैठकमा संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेशसभा नियमावली २०७४ को नियम १२८ को उपनियम (४) बमोजिम विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुभएको छ ।
कार्यव्यवस्था बैठकमा विपक्षी गठबन्धनका तर्फबाट सहभागी भएका सांसदहरूले भने शुक्रबार नै छलफल गरी मत विभाजन गर्नुपर्ने माग गरेका थिए । तर, बाढी–पहिरोका कारण शुक्रबार केही सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमै रहेको र प्रदेशसभामा उपस्थित हुन नसकेका कारण विश्वासको मत लिने प्रस्तावमाथिको छलफल र मत विभाजन आइतबारको बैठकमा गर्ने सहमति भएको जनाइएको छ ।
आचार्य गत भदौ १० गते प्रदेश १ को मुख्यमन्त्री बन्नुभएको थियो । एमाले विभाजनपछि मुख्यमन्त्री बन्नुभएका आचार्य अल्पमतमा हुनुहुन्छ । उहाँले प्रदेशसभामा विश्वासको मत नपाउने पनि निश्चित छ । प्रदेशसभामा एमालेका कुल ५० सांसदमध्ये १० जना नेकपा (एकीकृत समाजवादी)मा आबद्ध भएपछि आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको हो ।
प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ४७ सांसदको समर्थन आवश्यक पर्दछ । प्रदेशसभामा अहिले नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका तीन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक र राप्रपाका एक सांसद छन्।
मुख्यमन्त्री आचार्यको बहिर्गमन निश्चित भएसँगै प्रदेश १ मा नेकपा एसका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्नुहुने भएको छ । विपक्षी गठबन्धनले राईलाई मुख्यमन्त्री बनाउने सहमति गरेको छ । यता, अल्पमतमै रहनुभएकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको छिनोफानो कात्तिक १० गते हुँदैछ । बिहीबारको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश भए पनि १० गते मतदान हुने गरी बैठक स्थगित भएको थियो ।
बागमतीमा पनि मुख्यमन्त्री शाक्यले विश्वासको मत नपाउने निश्चित छ । १०९ सदस्यीय बागमती प्रदेशसभामा विश्वासको मत पाउन ५५ सांसदको साथ चाहिन्छ । तर, एमालेका ४३ सांसद मात्रै छन् । बागमतीमा पनि नेकपा एसकै राजेन्द्र पाण्डेलाई विपक्षी गठबन्धनले मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेका छन् । बागमतीमा नेकपा एस र नेपाली कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।




















