सुनसरी-मोरङ औद्योगिक करिडोरका अधिकांश उद्योग डुबानमा।

[ निर्मल ढुंगाना ] 

विराटनगर:= गत सोमबार र मंगलबार परेको अविरल वर्षाका कारण सुनसरी मोरङ औद्योगिक करिडोर क्षेत्रभित्रका करिब ८० प्रतिशत उद्योग डुबानमा परेका छन् । करिडोर क्षेत्रमा साना र ठूला गरेर ५०० भन्दा बढी उद्योग सञ्चालित छन् । जसमध्ये ४ सय बढी उद्योग डुबानमा परेका हुन् ।

उद्योग डुबानमा पर्दा उद्योगको कच्चा पदार्थ, तयारी पदार्थ र मेसिनरी सामग्रीमा नोक्सान पुगेको छ र करोडौँ रकमबराबरको क्षति भएको उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले हिमालय टाइम्सलाई बताउनुभयो ।

पानीको निकास राम्रो नभएका कारण बाढीको पानी उद्योग क्षेत्रमा पसेको छ । वर्षाका कारण विद्युत् सेवा अवरुद्ध हुँदा उद्योगी थप पीडित भए । दुहवीमा रहेको मुख्य वितरण केन्द्रमा पानी पसेकाले १ नं. प्रदेशभरि नै ४० घण्टा बढी विद्युत् अवरुद्ध भएको थियो । उद्योगमा रहेका जेनेरेटर डुबानमा परेपछि उद्योगको आन्तरिक विद्युत् सप्लाई बन्द भएको छ ।

उद्योगभित्र रहेका कच्चा, तयारी अवस्थामा रहेका वस्तुहरू डुबानमा पर्दा क्षतिको यकिन विवरण संकलन गर्न सकिएको छैन । मोरङको बूढीगंगा गाउँपालिकादेखि सुनसरीको इटहरी र कटहरीदेखि रंगेली क्षेत्रका ८० प्रतिशत उद्योग डुबानमा परेका हुन् । उद्योग संगठन मोरङले औद्योगिक करिडोरमा डुबानमा परेका उद्योगमा भएको क्षतिको विवरण संकलन गर्न पदाधिकारी कर्मचारीको टोली परिचालन गरेको छ ।

नेपाल उद्योग परिसंघ प्रादेशिक कार्यालय विराटनगर र मोरङ व्यापार संघले समेत सुनसरी मोरङ औद्योगिक करिडोरमा बाढीबाट भएको क्षतिकोे विवरण तयार गर्न टोली परिचालन गरेको छ । परिसंघका अध्यक्ष भीम घिमिरे र संघका अध्यक्ष प्रकाश मुन्दडाले अविरल वर्षापछि बाढीको पानी उद्योगमा पस्दा उद्योगलाई करोडौँ रकमबराबरको क्षति भएको र त्यसको विवरण संकलन गर्ने कार्य जारी रहेको जानकारी गराउनुभयो ।

डुबानमा परेका उद्योगभित्रको पानी फ्ँयाक्ने र कच्चा पदार्थ र तयारी अवस्थाका मालसामानलाई जोगाउने काम भइरेहकोले पानी सफा गरेपछि क्षतिको याथार्थ विवरण आउने उद्योग परिसंघका महानिर्देशक विजयहरि शर्माले बताउनुभयो । शर्माले क्षति पुगेका उद्योगहरूलाई क्षतिको भुक्तानी चाँडो गरिदिन बिमा कम्पनीहरूलाई आग्रह गरिएको बताउनुभयो । ‘बाढीबाट पीडित भएका उद्योगी व्यवसायीहरूलाई आवश्यक राहतका प्याकेज उपलब्ध गराउनसमेत परिसंघले पहल गर्नेछ’, शर्माले भन्नुभयो ।

प्रदेश १ मा बाढी-पहिरोबाट ७० को मृत्यु

प्रदेश नं. १ मा गत सोमबार र मंगलबार परेको अविरल वर्षाबाट आएको बाढी-पहिरोबाट ७० जनाले ज्यान गुमाएका छन् । १३ जना घाइते र १२ जना बेपत्ता रहेको मुख्यमन्त्री भीमप्रसाद आचार्यले शुक्रबार प्रदेशसभालाई जानकारी गराउनुभएको छ ।

मुख्यमन्त्री आचार्यले प्रदेशसभा बैठक सुचारु हुनासाथ बाढी-पहिरोबाट प्रदेश नं. १ मा अत्यधिक मानवीय क्षतिसँगै धानबाली नष्ट भएको जानकारी गराउनुभयो । प्रदेश नं. १ मा ४० घरधुरी पूर्णरूपमा क्षति भएको, एक हजार ८२५ घर आंशिक रूपमा क्षति भएको तथा हजारौं पशुपंक्षी मरेको तथ्यांक मुख्यमन्त्री आचार्यले सार्वजनिक गर्नुभयो ।

मुख्यमन्त्री आचार्यले १० हजार हेक्टरमा लगाइएको धानबाली पूर्णरूपमा नष्ट भएको तथा ५० हजार हेक्टर जमिनमा लगाइएको धानबाली आंशिक रूपमा नष्ट भएको तथ्यांक बैठकमा प्रस्तुत गर्नुभएको थियो । बाढी– पहिरोबाट प्रदेशमा भएको धनमाल र पशुपक्षीको तथ्यांक संकलन कार्य जारी रहेको भन्दै मुख्यमन्त्री आचार्यले वर्षाका कारण अवरुद्ध राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आएको प्रदेशसभालाई जानकारी गराउनुभएको थियो ।