क्वालालम्पुर (मलेसिया):= मलेसियामा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा सन् २०२४ देखि हालसम्म ९६ हजार ८४४ जना विदेशी नागरिक पक्राउ परेका छन्।
मलेसियाका प्रहरी महानिरीक्षक (आईजीपी) तान श्री मोहम्मद खालिद इस्माइलले शनिबार (नोभेम्बर १४) जारी गरेको विज्ञप्तिमा उक्त तथ्याङ्क सार्वजनिक गरेका हुन्। उनले देशको सार्वजनिक सुरक्षा र शान्ति सुव्यवस्था कायम राख्न विदेशी नागरिकमाथि कानुन कार्यान्वयनलाई थप कडा र निरन्तर बनाइने बताएका छन्।
आपराधिक अनुसन्धान विभाग (सीआईडी) को तथ्याङ्कअनुसार सन् २०२४ मा ३३ हजार १३६ जना विदेशी पक्राउ परेका थिए। सन् २०२५ मा यो सङ्ख्या बढेर ३६ हजार ७४० पुगेको थियो। जुन अघिल्लो वर्षको तुलनामा ३ हजार ६०४ जना अर्थात् १०.९ प्रतिशतले बढी हो।
त्यस्तै, सन् २०२६ जनवरीदेखि सेप्टेम्बरसम्म थप २६ हजार ९६८ जना विदेशी नागरिक पक्राउ परेको विज्ञप्तिमा उल्लेख छ। प्रहरी महानिरीक्षक खालिदले मलेसियामा रहेका विदेशी नागरिक मात्र नभई आपराधिक गतिविधिमा संलग्न जोसुकै व्यक्तिमाथि पनि समान रूपमा कानुनी कारबाही गरिने स्पष्ट पारेका छन्।
उनका अनुसार विभिन्न सरकारी निकायसँगको सहकार्य, संयुक्त सुरक्षा कारबाही, सूचनाको आदानप्रदान तथा प्रभावकारी निगरानीलाई थप सुदृढ बनाइनेछ। उनले कानुनको दृष्टिमा सबै व्यक्ति समान रहेको उल्लेख गर्दै नागरिकता, हैसियत वा पदका आधारमा कसैलाई पनि कानुनी उन्मुक्ति नदिइने बताए।
साथै, आपराधिक गतिविधिबारे सम्बन्धित निकायलाई सूचना उपलब्ध गराएर प्रहरीलाई सहयोग गर्न सर्वसाधारणसँग उनले आग्रह गरेका छन्। अपराध नियन्त्रण तथा सार्वजनिक सुरक्षा कायम राख्न नागरिकको सतर्कता र सहकार्य महत्त्वपूर्ण रहेको उनको भनाइ छ।




















