मलेसियामा नक्कली ई–पास “भिसा” बनाउने गिरोहको पर्दाफास, दुई बंगलादेशी पक्राउ।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको पेनाङ राज्यमा विदेशी श्रमिकलाई लक्षित गरी अध्यागमनको नक्कली विद्युतीय पास (ई–पास) तयार गरी बिक्री गर्ने गिरोहको पर्दाफास भएको छ। अध्यागमन विभागले सिम्पाङ आम्पात क्षेत्रमा छापा मार्दै गिरोहमा संलग्न रहेको आरोपमा दुई जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ।

पेनाङ राज्यका अध्यागमन निर्देशक स्याम्सुल फिट्री अहमदका अनुसार २३ र ३२ वर्षका ती दुई व्यक्तिलाई सार्वजनिक उजुरी तथा गुप्त सूचनाका आधारमा राति करिब १० बजे पक्राउ गरिएको हो।

छापा मार्ने क्रममा प्रहरीले विदेशी नागरिकका केही राहदानी, परिवर्तन गरिएका ई–पासका ठूलो सङ्ख्यामा छापिएका प्रतिहरू, मोबाइल फोन, ल्यापटप र प्रिन्टर बरामद गरेको छ। साथै, घटनामा प्रयोग भएको आशङ्कामा एउटा कार र दुईवटा मोटरसाइकल पनि जफत गरिएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार उक्त गिरोहले विशेषगरी बंगलादेशी र पाकिस्तानी नागरिकलाई लक्षित गरी नक्कली ई–पास बिक्री गर्दै आएको खुलेको छ। वैध यात्रा कागजात नभएका वा मलेसियामा तोकिएको अवधिभन्दा बढी बसेका विदेशीलाई प्रतिप्रति ५० देखि १०० रिङ्गिटसम्म लिएर नक्कली ई–पास उपलब्ध गराउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको अध्यागमन निर्देशकले बताएका छन्।

उनका अनुसार अन्य प्रशासनिक काम मिलाइदिने बहानामा रकम सयौँदेखि हजारौँ रिङ्गिटसम्म पुग्ने गरेको हुन सक्ने आशङ्का छ। तर, यसबारे थप अनुसन्धान भइरहेको छ।गिरोहले ल्यापटपको प्रयोग गरी ई–पास र राहदानीका डिजिटल प्रतिलिपिमा व्यक्तिगत विवरण सम्पादन तथा परिवर्तन गर्ने र त्यसपछि प्रिन्टरमार्फत नक्कली कागजात तयार गर्ने गरेको पाइएको छ। ती कागजात हेर्दा सक्कलीजस्तै देखिने भएकाले सर्वसाधारणले सहजै छुट्याउन कठिन हुने बताइएको छ।

यद्यपि, अध्यागमन विभागले ई–पासमा रहेको क्यूआर कोड स्क्यान तथा आफ्नो आधिकारिक प्रणालीमा विवरण रुजु गरेर कागजात सक्कली वा नक्कली भएको पुष्टि गर्ने जनाएको छ। पक्राउ परेका दुईमध्ये २३ वर्षीय व्यक्तिसँग वैध बसोबास अनुमति रहेको र उनी निर्माण क्षेत्रमा कार्यरत रहेको पाइएको छ। अर्का ३२ वर्षीय व्यक्तिसँग भने मलेसियामा बस्नका लागि कुनै वैध यात्रा कागजात वा अनुमति नरहेको अध्यागमनले जनाएको छ।

उनीहरू दुवै जना स्थानीय नागरिकको घर भाडामा लिएर बस्दै आएका थिए। एक जना पक्राउ परेका व्यक्तिले आफू मलेसिया आएको तीनदेखि चार महिना मात्रै भएको दाबी गरे पनि गिरोहले कति समयदेखि यस्तो गतिविधि सञ्चालन गर्दै आएको थियो भन्नेबारे अनुसन्धान जारी छ।

अध्यागमन विभागका अनुसार दुवै जनालाई थप अनुसन्धानका लागि १४ दिनको हिरासतमा राखिएको छ। उनीहरूमाथि मलेसियाको अध्यागमन ऐन १९५९/६३ को दफा ५६ र ५२डी तथा राहदानी ऐन १९६६ को दफा १२(१)(एफ) अन्तर्गत अनुसन्धान भइरहेको छ।

यस घटनामा संलग्न हुन सक्ने अन्य व्यक्तिको पहिचान र खोजीका लागि अध्यागमन विभागको केन्द्रीय कार्यालयसँग पनि समन्वय गरिने जनाइएको छ।