मलेसियामा स्थानीय श्रमिकको सुरुवाती तलब १५.७९ प्रतिशतले वृद्धि भई औसत २,२०० रिंगिट पुग्यो।

क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारको प्रगतिशील तलब नीति (DGP) अन्तर्गत निजी क्षेत्रका ४,०२५ कम्पनीमा कार्यरत ५१,३६३ भन्दा बढी स्थानीय श्रमिकको सुरुवाती तलब १५.७९ प्रतिशतले वृद्धि भई औसत २,२०० रिंगिट पुगेको छ।

सरकारले ५०,००० श्रमिक समेट्ने लक्ष्य पार गरेको यस योजनामा श्रमिकको सीप विकास, कम्तीमा वार्षिक २१ घण्टाको तालिम, अनुभव र सरकारी तलब निर्देशिकाका आधारमा पारिश्रमिक बढाइन्छ। निजी कम्पनीहरूलाई तलब बढाउन प्रोत्साहन गर्न सरकारले प्रतिश्रमिक मासिक २०० देखि ३०० रिंगिटसम्म नगद अनुदानसमेत उपलब्ध गराउँदै आएको छ।

यद्यपि, सरकारी संस्था बाहेकका निजी कम्पनीमा लागू हुने यो तलब वृद्धि मलेसियाका स्थानीय नागरिक (स्वदेशी श्रमिक) का लागि मात्र सीमित छ। सरकारी मापदण्डअनुसार डीजीपी योजनामा विदेशी श्रमिकहरू समेटिँदैनन्। विदेशी कामदारहरूको हकमा मलेसियाको न्यूनतम पारिश्रमिक आदेशअनुसार हाल कायम रहेको १,७०० रिंगिट आधारभूत तलब नै लागू हुनेछ, जुन जुन २०२७ देखि बढेर २,००० रिंगिट पुग्ने घोषणा गरिएको छ।