अमेरिकाका दुई वैज्ञानिक डेभिड र आर्डेमलाई चिकित्सातर्फको नोबेल पुरस्कार।

एजेन्सी (न्यूर्योक) := अमेरिकाका दुई वैज्ञानिकलाई यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ । शरीरले मानव स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियामा गरेको अध्ययनका लागि डेभिड जुलियस र आर्डेम पाटापौटियनलाई चिकित्सातर्फको नोबेल पुरस्कार २०२१ दिने निर्णय भएको नोबेल पुरस्कार छनौट समितिले जनाएको हो ।

उहाँहरूले हाम्रो शरीरले कसरी घामको न्यानो वा माया गर्ने मानिसको अंगालोको न्यानोपना महसुस गर्छ भन्ने बारेमा अध्ययन गर्नुभएको थियो । शरीरले कसरी शारीरिक स्पर्शलाई स्नायु प्रणालीमा विद्युतीय सन्देशका रूपमा परिवर्तन गर्छ भन्ने बारेमा उहाँहरूले गरेको अध्ययन दुखाइसम्बन्धी समस्या समाधान गर्ने उपचारका लागि उपयोगी हुने बताइएको छ । नोबेल पुरस्कार कमिटीका सदस्यहरूले मानव जीवनका लागि ठूलो योगदान हुने भएकाले यस अध्ययनका लागि पुरस्कार दिने निर्णय भएको बताएका छन् ।

अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक जुलियसले पिरो खुर्सानी खाँदा पोलेको महसुस गराउने रसायनका बारेमा अध्ययन गर्नुभएको थियो । त्यस्तै पाटापौटियनले गरेको अध्ययनबाट फरक खालका तर कुनै भौतिक दबाव वा स्पर्शले सक्रिय हुने कोषको अंश पत्ता लगाउनुभएको थियो ।

दुवैजनालाई पुरस्कारस्वरूप आठ लाख ४५ हजार पाउण्ड रकम प्रदान गरिने नोबेल कमिटीले जनाएको छ । कमिटीले कोरोनाभाइरूसको महामारीका कारण यस वर्षको नोबेल पुरस्कार विजेताहरूलाई सम्बन्धित देशहरूबाटै प्रदान गर्ने योजना बनाएको छ ।