‘नेपाल वेष्ट म्युजिक अवार्ड २०२१’, कुबेर र ‘पत्रकारिता सम्मान’ लक्ष्मणलाई।

काठमाडौं:= नेपालको शान, संगीतको पहिचान भन्ने मूल नारा’का साथ सोमबार साँझ सम्पन्न ‘नेपाल वेष्ट म्युजिक अवार्ड’मा रंगपत्रकार कुबेर गिरी र लक्ष्मण सुवेदी सम्मानित हुनुभएको छ । गत सोमबार चन्द्रागिरि हिल्स रिसोर्टमा आयोजित अवार्ड समारोहमा गिरी र सुवेदीलाई ‘पत्रकारिता सम्मान-२०२०’ बाट सम्मान गरिएको हो ।

समारोहमा उक्त सम्मानसँगै ३५ वटा रेगुलर विधा र जुरी अवार्ड पनि प्रदान गरिएको थियो । कार्यक्रममा पत्रकार गिरीलाई नेपाल वेष्ट म्युजिक अवार्ड ‘पत्रकारिता सम्मान-२०२०’ अनलाइन र सुवेदीले नेपाल वेष्ट म्युजिक अवार्ड ‘पत्रकारिता सम्मान-२०२०’ छापातर्फको पुरस्कार प्राप्त गर्नुभयो । सोही कार्यक्रममा पत्रकार रमेश बस्नेतले ‘पत्रकारिता सम्मान-२०२०’ रेडियो प्राप्त गर्नुभएको थियो ।

कार्यक्रममा सम्मानित सबै पत्रकारलाई चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, उद्योग वाणिज्य संघका उपाध्यक्ष चन्द्र ढकाल, कलाकार निर्देशक कृष्ण मल्ल, अभिनेत्री शर्मिला मल्ल, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, पूर्वबोर्ड अध्यक्ष राजकुमार राई, निर्देशक मिलन चाम्सलगायतले खादा, दोसल्ला तथा सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

गिरी विगत दुई दशकदेखि पत्रकारितामा क्रियासिल रहनुभएको छ । २०५८ बाट चण्डेश्वरी प्रकाशनको प्रभातकालीन दैनिकबाट पत्रकारिता सुरु गर्नुभएका गिरीले थुप्रै साप्ताहिक, समाचारपत्र, हिमालयन टाइम्स दैनिक, सौर्य दैनिक, विभिन्न अनलाइन, एफएम, नेपाल टेलिभिजनको राष्ट्रिय प्रसारको समाचारबाट प्रसार हुने ‘चलचित्र समाचार’समेतमा काम गरिसक्नुभएको छ।

त्यस्तै, करिब दुई दशकदेखि रंग पत्रकारितामा क्रियाशील सुवेदीसँग विभिन्न साप्ताहिक, मासिक हुँदै नयाँ पत्रिका दैनिकमा लामो समय काम गरेको अनुभव छ । यस्तै रमेश बस्नेत पनि रेडियोमा लामो समयदेखि क्रियाशील रहँदै आउनु भएको छ ।

नेपाली गीतसंगीतलाई प्रवद्र्धन गर्दै नेपाली सांगीतिक क्षेत्रलाई चलायमान र क्रियाशील बनाउने उद्देश्यले अवार्ड आयोजना गरिएको आयोजक संस्था तुल्सी मिडियाका अध्यक्ष तथा अवार्डका संयोजक नवराज भण्डारीले बताउनुभयो । भण्डारीले आगामी वर्षमा पनि अहिलेजस्तै निष्पक्ष तरिकाले अवार्ड प्रदान गरिने बताउनुभएको थियो ।