मलेसिया (मलेसिया):= नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसिया तथा क्षेत्रीय समिति जोहोरबारुको आयोजनामा सोनाम ल्होछार २०२७ को दोस्रो वार्षिक बृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
तामाङ समुदायको मौलिक भाषा, कला, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। मञ्जुश्री संवत् २८६३ तथा ल्हुगा ल्हो (भेडा वर्ष) को अवसरमा आयोजना हुने उक्त कार्यक्रम सन् २०२७ फेब्रुअरी ७ तारिखका दिन जोहोरबारु, मलेसियामा सम्पन्न हुने आयोजकले सार्वजनिक गरेको पोस्टरमा उल्लेख छ।
‘सोनाम ल्होछार २०२७, हाम्रो संस्कृति हाम्रो पहिचान’ भन्ने भावनासहित आयोजना हुन लागेको यस कार्यक्रमले मलेसियामा रहेका तामाङ समुदायलाई एकताबद्ध गर्दै आपसी सद्भाव, भाइचारा र सांस्कृतिक एकतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
आयोजक संस्थाले कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन सम्पूर्ण तामाङ समुदाय, नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ।




















