बंगलादेशमा नेपाली टोलीको अभ्यास सुरु।

काठमाडौ:= बंगलादेशमा नेपाली फुटबल टोलीले अभ्यास सुरु गरेको छ । तीन दिनअघि नै टोली बंगलादेश पुगेको भए पनि कोरोना भाइरसको परीक्षण रिपोर्ट नआएका कारण टोली अभ्यासका लागि मैदान जान पाएको थिएन ।

शनिबार सबै खेलाडीको परीक्षण रिपोर्ट नेगेटिभ आएपछि आइतबारबाट नेपाली टोलीले ढाकास्थित धनमुण्डी मैदानमा प्रशिक्षण सुरु गरेको हो । बंगलादेशसँग दुईवटा मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली टोली ढाका पुगेको हो ।

पिसिआर रिपोर्ट नआएका कारण टोलीका सदस्यहरूले सुरुका दुई दिन आफू बसेको होटलमै हल्का शारीरिक अभ्यास गरेका थिए । आइतबार नेपाली टोलीले दुई घण्टा धनमुण्डी मैदानमा अभ्यास गरेको थियो ।

नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले मैदानमा अभ्यास गर्न पाउँदा त्यहाँको कण्डिसनसँग घुलमिल हुन सहयोग पुगेको बताउनुभयो । मैत्रीपूर्ण खेलका लागि नेपालबाट २५ खेलाडी र ११ अफिसियल गरी ३६ जना अहिले ढाकामा छन् ।

नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ तथा दोस्रो मैत्रीपूर्ण खेल मंसिर २ गते बंगबन्धु स्टेडियममा हुनेछ । केही मुख्यसहित सातजना खेलाडी भने नेपालमै गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि काठमाडौंमै रोकिनुभएको थियो ।

सोहीकारण आठजना नयाँ खेलाडीले टोलीमा मौका पाएका छन् । बंगलादेश पुगेको २५ सदस्यीय नेपाली टोलीमा अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तान, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रञ्जित धिमाल, रवि पासवास, सरोज दाहाल, सेशेहाङ आङदम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ हुनुहुन्छ ।

नेपाली टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन र सहायक प्रशिक्षकका रूपमा किरण श्रेष्ठ तथा गोलकिपर प्रशिक्षकका रूपमा विकास मल्ल रहनुभएको छ । २०७५ मा भएको साफ च्याम्पियन्ससिप पछि नेपालले पहिलोपल्ट बंगलादेशविरुद्ध खेल्न लागेको हो । त्यसबेला नेपालले नेपालले बंगलादेशलाई २–० गोलअन्तरले हराएको थियो ।