निरन्तरता कहिलेसम्म ?

सत्तारुढ दलभित्रको अन्तरविरोध एकातिर उत्कर्षमा छ भने प्रमुख प्रतिपक्षी दलभित्रको असहमतिको खेल हेर्न लायक नै छ । नेपाल कम्युनिष्ट पार्टी असफलताको सिँढी चढिरहेको समयमा छायाँ सरकार चलाउनुपर्ने, अर्कोपटक सरकार बनाउने उद्देश्यकासाथ संगठन विस्तारमा लाग्नुपर्ने समयमा यो पार्टी विधिका नाममा असहमतिको पोखरीमा पौडी खेल्न सक्रिय छ । सिद्धान्ततः विधिको विषय अत्यन्त सही हो तर सान्दर्भिक भने होइन । विधिको माग आरम्भकै दिनदेखि गरिएको भए र विगतमा आफ्ना स्वार्थअनुरूप विधिको प्रश्नको उपयोग नगरिएको भए संभवतः नेपाली कांग्रेसमा उठेको विधि र विधानको किचलोको राजनीतिक महत्व र अर्थ हुने थियो होला । तर आफ्नो स्वार्थ अनुकूल अंशवण्डा भएसम्म विधि र विधानको विषय गौण हुने र जब स्वार्थमा धक्का हुन्छ र गणितको खेल खेल्नुपर्ने हुन्छ अनि नेपाली कांग्रेसमा विधिको प्रश्न उठिरहेको देखिन्छ । के अहिले नेपाली कांगे्रसमा कुनै निहुँमा विवादको पेटारो खोल्नुपर्ने वा विवादको गुँड लगाउनुपर्ने बेलाहो त ? काम कुरो एकातिर कुम्लो बोकी कतातिर भन्ने उखानलाई चरितार्थ पार्दै नेपाली कांग्रेसको शीर्ष नेतृत्वमा बसेकाहरु नै आफ्नै खुट्टोमा वञ्चरो हान्ने खेलमा सहभागी हुनु आफैंमा आश्चर्यको विषय हो । ठीक दुई वर्षपछि संघीय र प्रदेशको निर्वाचन हुँदै छ । स्थानीय सरकारको निर्वाचन हुने समय त दुई वर्षभन्दा कम छ । यो कम समयमा आफ्नो दललाई थप ऐक्यबद्ध कसरी गर्नेभन्दा पनि पार्टी नेतृत्व कसरी हत्याउने वा जोगाउने भन्ने चाकाचुलीमा शीर्ष नेतृत्व देखिन्छ । यो चाकाचुलीले नेपाली कांग्रेसलाई मात्रै होइन नेपालको समग्र लोकतान्त्रिक आन्दोलनलाई नै क्षति पु¥याइरहेको छ । कुनै पनि राजनीतिक दलमा पुस्ताको बहस निरर्थक हो । 

राजनीतिक दलमा नेतृत्व लिने व्यक्तिमा बुद्धि, संगठन कौशल, सदस्यहरु र नागरिकहरुबाट स्वीकार्य मान्यता, निरन्तरता, ग्रहणशीलता, नीति र विचारको सामयिक प्रस्तुति र अन्तिममा विवेक हुनुपर्दछ । प्रतिपक्षसँग शालीनता र आक्रामकताजति जरुरी हुन्छ राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमासमेत क्षमता प्रदर्शन गर्ने सामथ्र्य र योग्यता हुनुपर्दछ । यी सबैसँग राजनीतिक इमानदारीता, सिद्धान्तप्रतिको निष्ठा र सहकार्य गर्नसक्ने उदार चरित्र र फराक मन हुनु आवस्यक छ । यी गुण हुनका लागि कुनै आकाशबाट आउनुपर्ने र अतिरञ्जित कल्पनाको भारी बोक्नुपर्ने हुँदैन । कसैले यस्तो सोचलाई अत्यन्त आदर्शको पोको भन्न सक्छ । तर व्यावहारिक राजनीतिभित्र अनिवार्य नेतृत्व चरित्र हो यो ।

नेपाली कांग्रेसमा अठार वर्षदेखि सय वर्षसम्मका सदस्यहरु रहेका छन् । युवा पुस्ताले युवावयकै पक्षमा कुरा गर्छ होला र एकदम सत्तरी वर्ष नाघेकाले त्यही पुस्ताको कुरा गर्ला । तर उमेर समूहको विषयभन्दा विवेकपूर्ण, सामयिक र आजका दिनमा नेपालको लोकतान्त्रिक परिवर्तनलाई पूर्णतः स्वीकार गर्ने लोकतान्त्रिक नेतृत्व नेपाली कांग्रेसमा हुनु जरुरी छ । समदूरीको सिद्धान्तअनुरूप नेतृत्वको श्रेणी निर्माण गर्नसकेमा लोकतन्त्रको प्रथम मियो दाबी गरिरहेको र देखिएको नेपाली कांग्रेसले परिवर्तनको लक्ष्यबोध गर्न सक्दछ र परिवर्तनलाई सुरक्षितगर्ने भूमिका निर्वाह गर्न सक्दछ होला । तर जसरी सत्तारुढ कम्युनिष्ट पार्टीमा किचलो चलिरहेको छ त्यसैको देखासिखी गर्दै कांग्रेस पनि कहिले विधिको, कहिले अंशवण्डाको फण्डामै अल्झिरहेको खण्डमा यसको संगठन, सामथ्र्य र जनविश्वास चकनाचुर भएर जानेछ । कम्युनिष्ट पार्टीका असफलताहरुको मूल्यांकन गर्दै पार्टीको संगठनतिर लाग्नुपर्नेमा उही कोठामा हुने विवादमै केन्द्रित हुने अनि त्यस विवादलाई आम सदस्यहरुकामा आफ्नो शक्ति विस्तार गर्ने नाममा छताछुल्ल पार्ने र नागरिकमा निरासा थप्ने काम भइरहेमा कांग्रेस इतिहासका कुनै अध्यायमा पढिने विषय बन्नसक्छ । शीर्ष तहका मूलीहरुले समयमै यसरी सोचेमा उचित नै हुनेछ ।