दोस्रो आरटी गोल्ड कपका लागि पूर्व कप्तान हरि खड्का मलेसियामा, क्वालालम्पुरमा भव्य स्वागत।

क्वालालम्पुर (मलेसिया):= नेपाली फुटबल टोलिका पूर्व कप्तान हरि खड्का दोस्रो आरटी गोल्ड कप प्रतियोगितामा सहभागी हुन मलेसिया आइपुगेका छन्। उनीसँगै खेलकुद क्षेत्रका पत्रकार तथा अन्य खेल पदाधिकारीहरू पनि क्वालालम्पुर पुगेका हुन्।

मलेसियास्थित नेपाली फुटबल समुदायमा विशेष उत्साह सिर्जना गरेको उक्त प्रतियोगितालाई लक्षित गर्दै आरटी एफसीले पाहुनाहरूलाई भव्य स्वागत गरेको जनाएको छ। आरटी एफसीका अध्यक्ष राजु तामाङले क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल केयलआईए विमानस्थल मा पुगेर टोलीलाई स्वागत गरेका थिए।

दोस्रो आरटी गोल्ड कपलाई मलेसियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत एकता, भाइचारा र मनोरञ्जन फैलाउने महत्वपूर्ण प्रतियोगिताका रूपमा हेरिएको छ। आयोजकका अनुसार प्रतियोगितामा विभिन्न नेपाली क्लब तथा खेलाडीहरूको सहभागिता रहनेछ।

पूर्व कप्तान हरि खड्काको उपस्थितिले प्रतियोगिताको आकर्षण अझ बढाएको छ। नेपाली राष्ट्रिय टोलीका लागि लामो समय योगदान दिएका खड्का नेपाली फुटबल इतिहासका चर्चित खेलाडीमध्ये एक मानिन्छन्।

मलेसियामा बसोबास गर्ने नेपाली खेलप्रेमीहरू अहिले प्रतियोगिताको प्रतीक्षामा उत्साहित देखिएका छन् भने आयोजक टोलीले प्रतियोगिता भव्य र सभ्य रूपमा सम्पन्न गर्ने तयारी तीव्र बनाएको जनाएको छ।