मलेसियाको सडकमा फोहोर फाल्नेलाई १३०० रिंगेट जरिवाना र सडक सफा गर्नुपर्यो।

Screenshot

क्वालालम्पुर (मलेसिया):= मलेसियामा सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्ने बानी अब निकै महँगो साबित हुन थालेको छ। विशेषगरी मलेसियामा रोजगारी गरिरहेका नेपाली श्रमिकहरूका लागि यो विषय गम्भीर चेतावनी बनेको छ।

हालै क्वालालम्पुरमा एक व्यक्तिले कारको झ्यालबाट प्लास्टिकको प्याकेट सडकमा फालेको भिडियो सार्वजनिक भएपछि स्थानीय प्रशासनले तत्काल कारबाही गरेको हो। उक्त व्यक्तिलाई आरएम १३०० (१३ सय रिङ्गीट) जरिवाना गर्नुका साथै ४ घण्टा अनिवार्य रूपमा सडक सफाइ गर्ने सजाय समेत सुनाइएको छ।

अझ चासोको विषय के भने, ती व्यक्तिले अदालतमा आफ्नो मासिक तलब केवल RM१८०० रहेको बताएका थिए। तर पनि प्रशासनले सार्वजनिक सरसफाइमा लापरवाही गरेको भन्दै कडा कारबाही गरेको हो।

मलेसिया सरकारले वातावरण स्वच्छ राख्न तथा नागरिकमा जिम्मेवारीको भावना विकास गर्न “Solid Waste and Public Cleansing Management Act 2007 (Act 672)” अन्तर्गत कडा कानुनी व्यवस्था लागू गरेको छ। यस कानुन अनुसार सार्वजनिक स्थानमा फोहोर फाल्ने व्यक्तिलाई अधिकतम RM२००० सम्म जरिवाना, साथै १२ घण्टासम्म सामुदायिक सेवा गर्न लगाउन सकिने प्रावधान रहेको छ।

सामुदायिक सेवाअन्तर्गत सडक बढार्ने, सार्वजनिक शौचालय सफा गर्ने, पार्क क्षेत्र सफा गर्ने जस्ता काम गर्नुपर्ने हुन्छ। मलेसियामा यस्ता सजाय सार्वजनिक रूपमा गराइने भएकाले सामाजिक रूपमा पनि लाजमर्दो अवस्था सिर्जना हुन सक्छ।

विशेषगरी मलेसियामा बसोबास तथा रोजगारी गरिरहेका नेपालीहरूले स्थानीय कानुनको सम्मान गर्दै सार्वजनिक स्थान सफा राख्न ध्यान दिनुपर्ने देखिन्छ। सानो लापरवाहीले महिनौँको कमाइ गुम्नुका साथै कानुनी झन्झट समेत निम्त्याउन सक्छ।

“सफा मलेसिया, सुरक्षित भविष्य” भन्ने सन्देशसहित स्थानीय प्रशासनले अहिले फोहोर फाल्ने गतिविधिमाथि निगरानी अझ कडा बनाएको जनाएको छ। एजेन्सीको सहयोगमा