मलेसियामा न्यौपानेको सफलता : ‘लेबर’ बाट अपरेशन म्यानेजरसम्म,१८ वर्षे संघर्ष।

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीका लागि मलेसिया पुग्ने अधिकांश नेपाली कामदारहरूको साझा गुनासो हुन्छ— “जुन पदमा गइयो, त्यही पदमा अवकाश।” तर झापाको कमल गाउँपालिकाका डिल्ली न्यौपानेले यो सोचलाई पूर्ण रूपमा गलत सावित गरिदिनुभएको छ। १८ वर्षअघि सामान्य ‘लेबर भिसा’मा मलेसिया पुग्नुभएका न्यौपाने आज त्यहाँकै एक प्रतिष्ठित निर्माण कम्पनीको ‘अपरेशन म्यानेजर (जिएम)’ को जिम्मेवारी सम्हाल्ने तहसम्म पुग्न सफल हुनुभएको छ। उहाँको संघर्ष, मेहनत र इमान्दारिताले वैदेशिक रोजगारीमा रहेका हजारौं नेपालीलाई नयाँ आशा दिएको छ।

संघर्षपूर्ण सुरुवात

सन् २००६ मा पहिलोपटक मलेसिया पुग्दा न्यौपानेको मासिक तलब मात्र ३८० मलेसियन रिंगेट थियो। जोहोरबारुको एक कम्पनीमा ‘जेनरल वर्कर’का रूपमा काम गर्दा उहाँले अनेक कठिनाइ सामना गर्नुभयो। चर्को घाम, कठोर श्रम र सीमित आम्दानीबीच पनि उहाँले आफ्नो लक्ष्य भने कहिल्यै छाड्नुभएन।

तीन वर्षपछि नेपाल फर्किए पनि उहाँको सपना अधुरै थियो। दोस्रोपटक मलेसिया जाने निर्णय गर्दा भने उहाँले एउटा स्पष्ट शर्त राख्नुभयो— “पासपोर्ट आफ्नै साथमा राख्न पाउनुपर्छ।”
त्यसपछि उहाँ सेलाङ्गर राज्यस्थित श्रीकाम्वाङगानमा रहेको टोनिमेन डेभ्लोप्मेन्ट नामक निर्माण कम्पनीमा आबद्ध हुनुभयो। सुरुका दिनमा उहाँले सामान्य लेबरकै रूपमा बेल्चा चलाउने काम गर्नुभयो।

“मलेसियाको प्रचण्ड गर्मीमा बेल्चा चलाउँदा कहिलेकाहीँ मनमा प्रश्न उठ्थ्यो— यो संघर्ष कहिलेसम्म? तर मैले कहिल्यै हिम्मत हारिनँ। आफ्नो जिम्मेवारीलाई सधैं सकारात्मक रूपमा लिएँ,” न्यौपाने विगत सम्झनुहुन्छ।

मेहनतसँगै विश्वासको जित

न्यौपानेका अनुसार सफलताको आधार केवल मेहनत मात्र होइन, रोजगारदाताको विश्वास जित्नु पनि हो।
कम्पनीप्रतिको इमान्दारिता, अनुशासन र सहकर्मीहरूसँगको राम्रो व्यवहारका कारण कम्पनीले उहाँलाई क्रमशः ठूलो जिम्मेवारी दिन थाल्यो।

सुरुमा कामदारहरूको ‘हेड’ बनाइएका न्यौपाने पछि कामदार व्यवस्थापन, विभिन्न देशबाट श्रमिक ल्याउने प्रक्रिया तथा छनोटजस्ता महत्वपूर्ण जिम्मेवारीमा पुग्नुभयो।
कम्पनीले उहाँमाथि गरेको यही विश्वासले आज उहाँलाई सम्पूर्ण अपरेसन सम्हाल्ने म्यानेजरको पदसम्म पुर्‍याएको छ।
हिजो ३८० रिंगेटबाट सुरु भएको उहाँको तलब अहिले मासिक ६ हजार मलेसियन रिंगेटभन्दा बढी पुगेको छ।

कामदारबाट उद्यमीसम्म

मलेसियाको बसाइँले न्यौपानेलाई केवल पद र पैसा मात्रै दिएन, उद्यमशीलताको आत्मविश्वास पनि दियो।
हाल उहाँले मलेसियामै आफ्नै शैलुन व्यवसायमा लगानी गर्नुभएको छ। साथै, आफ्नै पहलमा विभिन्न क्षेत्रमा नेपाली कामदारहरूलाई रोजगारीको अवसर उपलब्ध गराउँदै आउनुभएको छ।

अब स्वदेशमै केही गर्ने सपना

निर्माण क्षेत्रमा लामो अनुभव, व्यवस्थापकीय क्षमता र आर्थिक आधार तयार गरिसकेपछि न्यौपाने अब नेपाल फर्किएर केही नयाँ गर्ने योजनामा हुनुहुन्छ।
“मलेसियाले मलाई अनुभव, सीप र आत्मविश्वास दियो। अब नेपाल फर्किएर निर्माण क्षेत्रमा नयाँ ढंगले काम गर्ने योजना बनाएको छु,” उहाँले बताउनुभयो।

नेपाली श्रमिकलाई प्रेरणादायी सन्देश
विदेशमा संघर्ष गरिरहेका नेपाली श्रमिकहरूलाई न्यौपानेको सन्देश स्पष्ट छ—

“आफ्नो काम अरूभन्दा फरक र उत्कृष्ट तरिकाले गर्नुस्। यदि तपाईंको कामले रोजगारदाताको मन जित्न सक्यो भने, तपाईं सधैं विश्वासिलो बन्न सक्नुहुन्छ। चुनौती धेरै हुन्छन्, तर इमान्दारिता र मेहनतले सबै ढोका खोलिदिन्छ।”
डिल्ली न्यौपानेको यो यात्रा वैदेशिक रोजगारीमा रहेका ती हजारौं नेपालीका लागि प्रेरणाको स्रोत बनेको छ, जो कठिन परिस्थितिबीच पनि भविष्य बदल्ने सपना बोकेर विदेशमा पसिना बगाइरहेका छन्।

समाचार स्रोत : भूमिराज पराजुली / उज्यालो खबर ड्टकम ।