मध्यपूर्व तनावको असर: मलेसियामा उत्पादन उद्योग संकटमा, कामदार प्रभावित हुने चिन्ता।

क्वालालम्पुर (मलेसिया):= मध्यपूर्व क्षेत्रमा बढ्दो भूराजनीतिक तनाव र अन्तर्राष्ट्रिय ढुवानी मार्गमा देखिएको अवरोधका कारण मलेसियाको उत्पादन क्षेत्र गम्भीर संकटतर्फ धकेलिएको छ। कच्चा पदार्थको अभाव, ढुवानी खर्चमा भारी वृद्धि तथा आपूर्ति शृङ्खलामा आएको अव्यवस्थाले उद्योगहरू उत्पादन कटौती गर्न बाध्य भएका छन्।

मलेसियाको औद्योगिक क्षेत्रको प्रतिनिधित्व गर्ने Federation of Malaysian Manufacturers (FMM) ले सरकारसँग तत्काल वित्तीय राहत, कर छुट तथा उद्योग संरक्षणका विशेष प्याकेज ल्याउन आग्रह गरेको छ।

FMM का अध्यक्ष जाकोब लि चोर कोक का अनुसार हालै गरिएको सर्वेक्षणले करिब ४८.२ प्रतिशत उत्पादन कम्पनीहरूले उत्पादन घटाउन वा केही उत्पादन लाइन पूर्ण रूपमा बन्द गर्नुपरेको देखाएको छ। उनका अनुसार अन्तर्राष्ट्रिय आपूर्ति प्रणालीमा आएको अवरोधले मलेसियाको समग्र औद्योगिक वृद्धि र अर्थतन्त्रमा गम्भीर असर पार्न सक्ने खतरा बढेको छ।

मध्यपूर्व क्षेत्रमा जारी तनावका कारण समुद्री ढुवानी मार्ग परिवर्तन गर्नुपर्दा सामान ढुवानीमा ढिलाइ भइरहेको छ। यसले ढुवानी खर्च २० देखि ५० प्रतिशतसम्म बढाएको उद्योगीहरूको भनाइ छ।

यसको प्रत्यक्ष असर कच्चा पदार्थको आपूर्तिमा परेको छ। FMM का अनुसार करिब ७० प्रतिशत उद्योगहरूले रासायनिक पदार्थ, रेजिन्स, धातु तथा अन्य अत्यावश्यक कच्चा पदार्थको अभाव झेलिरहेका छन्। धेरै उद्योगहरूसँग अब केही साताका लागि मात्र पुग्ने मौज्दात बाँकी रहेको जनाइएको छ।

उद्योग क्षेत्र संकटमा परेसँगै मलेसियामा कार्यरत विदेशी श्रमिकहरूमा पनि चिन्ता बढेको छ। विशेषगरी उत्पादन क्षेत्रमा ठूलो संख्यामा कार्यरत नेपाली श्रमिकहरू यसबाट प्रभावित हुन सक्ने अनुमान गरिएको छ।

मलेसिया नेपाली श्रमिकहरूको प्रमुख श्रम गन्तव्य मुलुकमध्ये एक हो। यहाँको उत्पादन, इलेक्ट्रोनिक्स, फ्याक्ट्री तथा निर्माण क्षेत्रमा हजारौँ नेपाली कार्यरत छन्। उद्योगहरूमा उत्पादन कटौती वा अस्थायी बन्दको अवस्था आए रोजगारी, ओभरटाइम तथा आम्दानीमा प्रत्यक्ष असर पर्ने सम्भावना रहेको श्रमिकहरूले बताएका छन्।

अर्थविद्हरूका अनुसार यदि मध्यपूर्वको तनाव लामो समयसम्म जारी रह्यो भने मलेसियाको उत्पादन क्षेत्र मात्रै होइन, सम्पूर्ण दक्षिणपूर्व एशियाली व्यापार प्रणालीमा समेत दबाब बढ्न सक्छ। एजेन्सीको सहयोगमा