एजेन्सी := गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति सम्पन्न दोस्रो क्वालिफायरमा कप्तान शुभमन गिलको विष्फोटक शतकीय इनिङमा राजस्थानलाई ७ विकेटले हराउँदै गुजरात फाइनलमा पुगेको हो ।
राजस्थानले दिएको २ सय १५ रनको लक्ष्य गुजरातले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । गुजरातका शुभमनले सर्वाधिक १ सय ४ रनको शतकीय इनिङ खेल्नुभयो । यस्तै, साई सुदर्शनले ५८ र राहुल तोवाटियाले १७ र वासिङ्टन सुन्दरले १६ रन बनाउनुभयो ।
राजस्थानका नान्द्रे बर्गर, ब्रिजेश शर्मा र जोफ्रा आर्चरले १–१ विकेट लिनुभयो। यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १४ रन बनाएको थियो । राजस्थानका वैभव सूर्यवंशीले ९६ रनको अर्धशतकीय पारी खेल्नुभयो ।
यस्तै, रविन्द्र जडेजाले ४५, डोनोभान फरेराले ३८ तथा रियान परागले ११ रनको योगदान दिनुभयो । गुजरातका जेसन होल्डर र कागिसो रबाडाले २–२ विकेट लिनुभयो। यो जितसँगै गुजरातले अब आइतबार फाइनलमा साविक विजेता रोयल च्यालेन्जर्स बैंगलुरु “आरसिबी” सँग प्रतिस्पर्धा गर्नेछ ।




















