मुर्दाहरू
आफ्नो लास आफैं बोक र घाट जाऊ
मेरो सरकारको आदेश छ
आफैँ मुखाग्नि देऊ र आफ्नो लास आफैँ जलाऊ
तर सरकारी कर तिर
तिरेनौ भने जल्न पाउँदैन तिम्रो लास ।
घर नहुनेहरू
आफैँ ढुंगा फोर, माटो खन सिमेन्ट र
छड् कारखाना खोल, आफैँ लगानी जोड ।
आफैँ मालिक, आफैँ श्रमिक, आफैँ सिल्पी,
झ्याल ढोका कुँद, खाल्डो खन र जग हाल
अनि आफ्नो घर आफैँ बनाऊ
न भए चिसोमा, तातोमा, पानीमा, घाम र हुरीमा
आफैँ मर ।
मरेपछि आफ्नो लास बोकेर
आफैँ घाट जाऊ र
आफ्नो लास आफैँ जलाऊ ।
तर सरकारलाई कर तिर्न नविर्सनू ।।
मेरो सरकारको आदेश छ :
विरामी भयौ तिमी
औषधिको कारखाना खोल
अस्पताल आफैँ बनाऊ
डाक्टर नर्स आफैँ बन
अनि मुर्छा परेपछि कि पर्न आँटेमा
आफैँ अस्पताल जाऊ र बेडमा सुत,
पैसा तिर र आफ्नो उपचार आफैँ गर
सक्दैनौं भने आफ्नै घरको बलेसीमा आफैँ भुतुक्क मर ।
तर मर्नुअघि सरकारी कर भने तिर ।
सरकारको आदेश नबिर्सनू :
भोकले मर्न लागेका छौ तिमी,
आफ्नो पेट आफैँ भर,
छैन काम ? आफैँ खोज्ने गर ।
काम र माम दुवै छैन भने
भोकभोकै आफ्नै घरमा कुहेर मर
तर मर्नुअघि सरकारी कर भने तिर ।
बाटो चाहियो तिमीलाई डोजर किन, रोलर किन
गिट्टी कुट, अलकत्रा बनाऊ
मुआब्जाको रकम भर
आफ्नो बाटो आफैँ बनाऊ
तर पाइला सार्नुअघि सरकारलाई करतिर ।।
तिमी पढ्छौ जस्तो त लाग्दैन ।
पढ्यौं भने मेरा लाठी कसले बोक्छ र ?
चुनावमा मतपेटिका जो कब्जा गर्नु छ ।
ठिकै छ पढ्ने नै हो भने
विद्यालय भवन बनाऊ,
आफँै शिक्षक बन र आफैँ पढ ।
आफैँ विद्यार्थी परीक्षा देऊ
अनि शुल्क तिर र सर्टिफिकेट लेऊ
तर सरकारी कर भने दिनै पर्छ र देऊ ।
सरकारको आदेश मान्नै पर्छ :
बिजुली चाहियो
हाइड्रोमा आफँै लगानी गर,
तार बनाउ, पोल ठड्याउ, मिटर जोड
र आफ्नो घर आफैँ उज्यालो बनाऊ
पानी चाहियो
आफैँ कुलो बनाऊ र पाइप जोड
तर भन त कर नतिर्ने हो भने कसरी चल्छ सरकार ?
बारी बाँझै छ ?
कुलो पानी छैन मल हरायो
कीरा लागे, औषधि छैन
तिम्रो बारी तिम्रै काम
कुलोे खन, पानी तान
मल कारखाना खोल
औषधिको प्लान्ट आफैँ लगाऊ
सरकारको उर्दी छ तर कर तिर, किनकि
मलाई सर्प पाल्ने उधुम रहर छ
रहर त अरू पनि छ
घरको छतमाथि गाउँ हेर्ने टावर बनाउनु छ
आँगनमा हेलिकप्टर ग्राउण्ड बनाउनु छ ।
जन्मोत्सवमा देशको नक्सा चिर्दै
लाखौंको केक बनाउनु छ ।
रेल अड्कियो, पानी जहाज रोकियो
बुढाबुढीहरू रुँदै मरे पाँच हजार दिन पुगेन उनीहरूलाई ।
घरघरमा ग्यास पाइप जोड्ने योजना थियो ।
यी सबैभन्दा ठूलो इच्छा थियो बयलगाडा चढेर
युरोप अमेरिका पुग्ने र
मैले जानेका रसिला उखानटुक्काको पेटारो छरपष्ट पार्ने
मुर्दाहरू तिमीहरूले
कर तिरेनौं भने मेरो इच्छा कसरी पूरा होला र ?
टन्न मासु भात खुवाउने आस्वासन दिएको थिएँ
तुइनमुक्त गर्ने वचन थियो
धुलो छोप्ने र धुवाँ उड्न नदिने प्रतिज्ञा थियो
तर सोच र वचनले नहुने रहेछ,
कर चाहिने रहेछ
विना कर केही नहुने रहेछ मुर्दाहरू
यति र ओम्नीलाई काखी च्याप्ताच्याप्दै
होली वाइन र वाइड बडीको खेलमा हल्लिँदा हल्लिँदै
अरिंगाल र छौंडाहरू पाल्दापाल्दै
भगवान्का नामधारी
अनेक भ्रष्ट विरुप सहयोगीहरूका लागि केही व्यवस्था गर्दा गर्दै
अनि आफ्नै उपचार गर्दा गर्दै र
आफन्तहरूका लागि केही ठाउँहरूको
बन्दोबस्त मिलाउँदा मिलाउँदै
महामहिमका लागि
हेलिकप्टरहरूको जोगाड गर्दा गर्दै ।।
हिजो
तिमी ज्युँदो हुँदा,
तिमी स्वस्थ हुँदा,
तिमी सम्पन्न हुँदा,
तिमी रोजगार हुँदा
तिमी शिक्षित हुँदा
तिम्रो व्यवसाय चल्दा,
तिमीले तिरेको करको कोष त रित्तिगयो नि
खबरदार अब सरकारको आदेश छ ः
भोकै छौ ? भोकको तिमी कर तिर
बिरामी छौ ? रोगको तिमी कर तिर
बेरोजगार छौ ? समयको तिमी कर तिर
पढ्ने इच्छा छ ? किताबको तिमी कर तिर
ऋणको भारीले थिचिएका छौ ? त्यही भारीको कर तिर
तिमीले कर नतिरेपछि मेरो सरकार कसरी चलनसक्छ त ?
मुर्दाहरू आफ्नो लास आफैँ उठाऊ
आफैँ घाट जाऊ र आफैँ मुखाग्नि देऊ
तर याद गर
जलेर खरानी हुनुअघि
मेरो सरकार चलाउन कर तिर ।




















