छोरा मान्छे रुनु हुन्न भन्ने कहाँ लेख्याछ र ? रुन्छ नि छोरा मान्छे एकान्तमा धेरै पटक रुन्छ। बाहिर रोए मर्द रुनु हुन्न भन्छन् रोएको देखे नामर्दको उपमा भिराइदिन्छन्। त्यसैले सुनसान रातमा अनि एकान्तमा सबैसबै पीडालाई एकै ठाउँ एकैचोटि दिल खोलेर रुन्छ छोरा मान्छे।अरे यार मान्छे हो ढुंगामुढा होइन मन हुन्छ उसको पनि बुझ्ने गर्नुस् हजुर छोरा मान्छेको पीडा जिम्मेवारी मेहनत हजुरहरुको लागि गरेको दुःख बुझ्ने गर्नुस् ।
साच्चिकै यो छोरा मान्छेको जिन्दगी कसैको जस नपाई जाने रहेछ कि जस्तो महसुस हुन्छ अनुभव पनि भोगिरहेको छु । न बुवा आमाको प्यारो छोरा हुन सकियो न श्रीमतीको राम्रो असल श्रीमान हुन सकियो । सोच्न त मैले सबैलाई राम्रै सोचेको थिए राम्रै गरेको थिए तर आखिर किन म नराम्रो भए उनीहरूको नजरमा किन म सधैं तल्लो स्तरमा आउने गर्छु उनीहरूको सोचाइमा आखिरमा मेरो दोष के ? मान्छे चिन्नु ….के किन्नु भन्छन् नि उखान ठ्याक्कै याद आएन ।
तर म मान्छे चिन्न धेरै ढिला छु र हरेक मान्छे आफूजस्तै सोचेर विश्वास गर्नमा धेरै अघि छु त्यसैले पनि धेरै ठाउँमा विश्वासघात पाएको छु विश्वासिलो मान्छेहरू पनि गुमाएको छु ।। खैर जेसुकै होस सबैको प्यारो सबैको असल राम्रो हुन नसकेपनि मेरो लागि म ठिक छु एकदम फिट छु । सबैलाई म यस्तो उस्तो भनेर प्रमाण दिन त सक्दिन नि हजुर प्रमाण त हजुरहरुलाई मैले बोल्ने बोली मैले गर्ने सम्मान इज्जत बाट मिल्नुपर्ने हो अनुभुती हुनुपर्ने हो त्यस्तो अब हजुरहरुलाई महसुस भएन त म के गरौं ? मैले हजुरहरुको /तिम्रो चित्त बुझाउन सकिन भन्नुस् / भन अब चित्त बुझाउन के गर्नुपर्छ मैले ? मैले हजुरहरुलाई /तिमीलाई खुशी राख्न सकिन त भन्नुस् / भन अब खुशी राख्न के गर्नुपर्छ मैले ?
ए हजुर म एक्लो मान्छेले तपाईंहरूको उसको अनि सबैको मन / चित्त बुझाउन खुशी राख्न त हर प्रयास गरेकै हो त सकिन त अब के गरौं ? हजुरहरुले घमण्ड केका लागि गर्नुहुन्छ केका लागि आफ्नो दम्भ देखाउनु हुन्छ मिलेर बस्नुस्न हजुर मेरो बिन्ती छ 🙏😢। हामी आफैं आफैंमा यसरी फुट्यौ भने भोलि बाहिरका अरुले फाइदा उठाउन कुरा काट्ने चाप्लुसी गर्ने अनि अनेक कुराहरू जोडेर लगाएर फुटाउन मद्दत गर्नेछन् मौका पाउनेछन् । मैले बोल्ने त कुनै ठाउँ छैन किनकि म बोले भने एक शब्दको अनेक अर्थ लगाएर तपाईंहरू मसँग नै जुध्न भिड्न नराम्रा वचन लगाउनु हुन्छ ।
तर यति भन्छु मलाई नराम्रो भनेर नराम्रो गरेर नराम्रो सोचेर भएनि घरमा भएको हजुरहरु मिलेर बस्नुस । मेरो त बानीभइसक्यो नराम्रो सुन्ने नराम्रो पचाउने यता कम्पनीमा सानासाना कुरामा मुटु बिझाउने तिखा वचन सुन्नुपर्छ उता घरबाट परिवार सबैका रामकहानी सुन्नुपर्छ ।अब त मलाई बानी परिसकेको छ यो देखि धेरै बानी नपार्नुस्न हजुर मलाई । अति भयो भने उम्लिएको दुध पोखिन्छ नि आगो अनि खरानीमा तर म पोखिनु कहाँ गएर ?
✍️राकेश ओली
राप्तीसोनारी 8 ,बाँके
हाल : बायान लेपास पेनाङ , मलेसिया ।