काठमाडौं := मुलुकको सार्वजनिक ऋण झण्डै ३० खर्ब नजिक पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पछिल्लो प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब १९ करोड रुपैयाँ पुगेको हो ।
यो चालु आर्थिक वर्षको सुरुको तुलनामा २ खर्ब ८७ अर्ब १४ करोड रुपैयाँले बढी हो। जसमा पछिल्लो तीन महिना अर्थात् प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा वर्तमान सरकार गठन भएपछि झण्डै सबा खर्ब अर्थात् १ खर्ब १७ अर्ब २५ करोड ५२ लाख रुपैयाँ सार्वजनिक ऋण थपिएको छ ।
प्रतिवेदनअनुसार हाल कायम रहेको कुल ऋण दायित्व नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) को ४४.८७ प्रतिशत हुन आउँछ । कुल ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५३.४९ प्रतिशत (१५ खर्ब ८३ अर्ब ९१ करोड रुपैयाँ) र आन्तरिक ऋणको हिस्सा ४६.५१ प्रतिशत (१३ खर्ब ७७ अर्ब २८ करोड रुपैयाँ) रहेको छ ।
सरकारले चालु आर्थिक वर्षमा पाँच खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो । तर, जेठ मसान्तसम्ममा चार खर्ब १८ अर्ब १२ करोड रुपैयाँ (७०.२० प्रतिशत) मात्र प्राप्त भएको छ । यसमा आन्तरिक ऋणतर्फ लक्ष्यको ९३.५५ प्रतिशत प्रगति देखिए पनि बाह्य ऋण परिचालन भने निकै कमजोर अर्थात् ३४.०१ प्रतिशत मात्र सीमित देखिएको छ ।
कुल ऋण प्राप्तिमा आन्तरिक ऋणको हिस्सा ८१ प्रतिशत र बाह्य ऋणको हिस्सा जम्मा १९ प्रतिशत मात्र रहेको छ । नेपाली मुद्राको अवमूल्यनका कारण वैदेशिक ऋणको भारमा थप वृद्धि भएको ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । जेठ मसान्तसम्ममा विनिमय दरमा भएको परिवर्तनका कारण मात्र १ खर्ब ५३ अर्ब ४७ करोड रुपैयाँ बराबरको नोक्सानी (ऋण वृद्धि) भएको प्रतिवेदनमा उल्लेख छ ।
यो कुल ऋण वृद्धिको ५३.४५ प्रतिशत अंश हो । सार्वजनिक ऋण वृद्धि हुँदै जाँदा सरकारले चालु आर्थिक वर्षको ११ महिनामा सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीमा ठूलो रकम खर्चिएको छ । सरकारले जेठ मसान्तसम्ममा कुल तीन खर्ब ५१ अर्ब ७४ करोड रुपैयाँ ऋण सेवा (साँवा र ब्याज) मा खर्च गरेको छ ।
यसमध्ये आन्तरिक ऋणको साँवा भुक्तानीमा दुई खर्ब २९ अर्ब ६० करोड र ब्याज भुक्तानीमा ५५ अर्ब ६१ करोड रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । त्यस्तै, समीक्षा अवधिमा बाह्य ऋणतर्फ ५४ अर्ब ८४ करोड साँवा र ११ अर्ब ६७ करोड रुपैयाँ ब्याज भुक्तानी गरिएको छ ।
वैदेशिक व्यापार र निर्यात दुवैमा कीर्तिमान
चालु आर्थिक वर्षको ११ महिनामा नेपालको वस्तु निर्यात दुई खर्ब ७७ अर्ब पुगेको छ । यस्तै, व्यापार घाटा १६ खर्ब १६ अर्ब नाघेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार दुई खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँको वस्तु निर्यात भएको छ ।
विभागका अनुसार व्यापार घाटा १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ वैदेशिक व्यापार घाटा भएको छ । ११ महिनामा एक खर्ब ५२ अर्ब ६७ करोड रुपैयाँको डिजेल आयात भएको छ । पेट्रोल ६८ अर्ब १७ करोड ८७ लाख रुपैयाँको आयात भएको छ ।
चालु आर्थिक वर्षको ११ महिनामा एक खर्ब १३ अर्ब १८ करोड रुपैयाँको प्रशोधित भटमासको तेल निर्यात भएको छ । अलैँची १२ अर्ब रुपैयाँको अलैँची निर्यात भएको छ । गत आर्थिक वर्षको नौ महिनाको तुलनामा यसपालि निर्यातको वृद्धिदर केही उत्साहजनक देखिए तापनि व्यापार घाटाको अंक बढ्दै गएको छ ।
यो अवधिमा नेपालको निर्यात व्यापार गत वर्षको तुलनामा १८.४६ प्रतिशतले बढेर दुई खर्ब २२ अर्ब ९३ करोड ६२ लाख रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा यस्तो निर्यात एक खर्ब ८८ अर्ब १९ करोड ५० लाख रुपैयाँ थियो । आयात व्यापारमा पनि १३.८२ प्रतिशतको वृद्धि भई १४ खर्ब ९० अर्ब ४९ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।
गत वर्षको नौ महिनामा १३ खर्ब नौ अर्ब ५३ करोड २८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । आयातको तुलनामा निर्यातको वृद्धिदर उच्च देखिएकाले आयात–निर्यात अनुपातमा ३.९२ प्रतिशतले सुधार आई ६.६९ मा झरेको छ ।
यसले गत वर्ष ६.९६ रुपैयाँको आयात गर्दा एक रुपैयाँको निर्यात हुने गरेकामा यसपालि उक्त अनुपात केही घटेको छ । यो अवधिमा नेपालको कुल वैदेशिक व्यापार १४.४० प्रतिशतले बढेर १७ खर्ब १३ अर्ब ४३ करोड ५० लाख रुपैयाँ पुगेको छ। कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा केही सुधार भई १३.०१ प्रतिशत पुगेको छ ।
आयातको हिस्सा सामान्य घटेर ८६.९९ प्रतिशत कायम भएको छ । भन्सार विभागको तथ्यांकले नेपालको वैदेशिक व्यापारको आकार विस्तार भइरहेको र निर्यातको हिस्सामा क्रमिक सुधार भएको देखाएको छ । तर, ठूलो अंकको व्यापार घाटा अझै अर्थतन्त्रको प्रमुख चुनौतीका रूपमा छ ।




















