-राजु क्षेत्री “अपुरो”
सन् २००० मा सम्झौता भएपछि २००१ देखि नेपालीहरू वैधानिक रुपमा मलेसिया आउन थालेको सर्वविदितै छ । प्रारम्भिक कालमा धेरै नेपालीहरूले विभिन्न कष्ट बाधाहरू सहनुपरेको थियो । न रेमिटेन्स सुविधा, न कुनै सञ्चारको माध्यम , न सुरक्षाको कुनै अनुभूति !, अहिलेको जस्तो मोबाइलको सुविधा पनि थिएन । हेल्लो गर्नसम्म मिल्ने मोबाइल पनि सामान्य कामदारको लागि आफ्नो पहुँचभन्दा बाहिरको कुरा थियो । मोबाइल किन्नको लागि एक महिनाको लागि घर परिवार बिर्सनु पर्ने अवस्था थियो । हो , त्यस्तै अवस्थामा उनी मलेसिया प्रवेश गरेका थिए ।
उनी अर्थात जीवन देवान गाउँले । सन् २००१ मा मलेसियामा रोजगारीका लागि आएका उनी २०२३ सम्म निरन्तर रुपमा वैधानिक तवरले लामो समयसम्म बस्ने धेरै कामदारहरू मध्ये अग्रपंक्तिमा आउने व्यक्ति हुन् भन्ने मेरो ठम्याइ रहेको छ । सन् २००२ को मध्यदेखि मलेसियाको बजारमा रेमिट्यान्स, होटेल रेस्टुरेन्ट लगायत अन्य व्यापारिक प्रयोजनका पसलहरू धमाधम खोलिन थालिए । बजारमा नेपाली पत्र-पत्रिकाहरू देखा पर्न सुरु भयो । यसको शुभारम्भ रमेश तुफान पण्डितले गरे । श्रम साप्ताहिक नामक पत्रिका प्रकाशन भएपछि पत्रीका नेपालीहरूको आवाससम्म पुग्न थाल्यो । यो पत्रिका धेरैको लागि खुराक बन्न पुग्यो । यसै पत्रिकामार्फत धेरै साहित्यकारहरू जन्मिए । त्यतिबेलादेखि नै श्रम साप्ताहिक पत्रिकामा छाइरहने एउटा नाम हो -जीवन देवान गाउँले ।
मलेसियाको साहित्यकासमा यदि जीवन देवान गाउँलेको नाम हटाइदिने होभने पक्कै पनि अधुरो हुन्छ । जीवन देवान गाउँले र मेरो पहिलो भेट नेपाली सामाजिक केन्द्रको हलमा भएको थियो । यो कुरा सन् २००७ को प्रारम्भिक कालतिरको हो । भित्ते पत्रिका लेखनबाट म श्रम साप्ताहिकका पानामा अटाउन थालेको थिएँ । अक्षरको खेतीकै कारणले यो अवसर जुरेको थियो । यो अवसर जुराउनमा मेरा सहकर्मी मित्रहरू रवीन्द्र राई र पदम नेपाल सहायक बनेका थिए । इन्द्र नाराथुङ्गेजीको त्यो निमन्त्रणाले संस्थागत रुपमा मेरो साहित्यिक यात्रा प्रारम्भ भएको थियो । साहित्यिक कार्यक्रमको पहिलो सत्र समाप्त पश्चात् दोश्रो सत्रमा अनेसास मलेसियामा गठन भयो । जसको नेतृत्व गर्ने जिम्मा जीवन देवान गाउँलेलाई दिइयो । कार्य समितिभित्र म पनि अट्न पुगें। सन् २००७ -२००८ मा कार्यसमितिले एउटा संयुक्त गजलसङ्ग्रह र स्मारिका प्रकाशन गर्यो । एउटा साहित्यिक भ्रमण “साहित्य खोज्दै सन वे लगुन ” समेत सम्पन्न गर्यो । गजल र कविता प्रतियोगिताको सफल आयोजना गरिए ।
पछि यो संस्था बिगठन गरेर विश्व नेपाली साहित्य समाज मलेसियामा परिणत भयो । शाखा गाउँलेकै रेखदेख अगाडि बढ्यो । उनको त्यो कार्यकाल मलेसियाको साहित्य इतिहासमा स्वर्णिमकाल थियो भनेर मान्न सकिन्छ। केही रहर , केही वाध्यता , केही आत्मसन्तुष्टि पनि होला, उनी जहाँ छन् ,खुसी छन् । जब उनी ड्युटीमा हुन्छन् , मनमा अनेक कुराहरू सल्बलाइरहन्छन् ।फुर्सद मिल्ने बितिक्कै नेपाली भाषा र साहित्यको विकासमा लागिपरेका सर्जकहरूको उनीहरूको जीवनी लेखेर परिचय गराउँंछन् । उनले बिर्सिसकेका दर्जनौं सर्जकहरूलाई आफ्नो पानामा उतार्न भ्याएका छन् ।
गाउँलेको धेरै बिधामा दख्खल राख्छन । तर उनको रुचि आख्यानतिर छ। कथा बिधा उनको प्रिय बिधा हो । उनको एउटा कथा सङ्ग्रह प्रकाशित भइसकेको छ । उनी लघुकथालाई नजिकबाट बुझ्ने सर्जक पनि हुन् । सन् २०११ मा ‘मियो स्तूप’ नामक संयुक्त लघुकथा सङ्ग्रहको सम्पादन उनैले गरेका थिए । यो भन्दा अगाडि सन २००८ तिर म स्वयंले सम्पादन गरेको कास्की समाज मलेसियाबाट प्रकाशित कथा लघुकथा संगालो “सिर्जनसिल कथाहरू” संयुक्त सङ्ग्रह प्रकाशन गर्ने प्रयास भएपनि बिशुद्ध रुपमा मियो स्तुपलाई नै पहिलो संयुक्त लघुकथा सङ्ग्रह मान्न सकिन्छ।
समय बदलिएको छ । परिवेश बदलिएको छ । मान्छे बदलिएका छन् तर उनीभने बदलिएका छैनन् । क्वालालम्पुरमा अझै रुँघेर बसिरहेका छन् । स्वदेशमै कृषि कर्ममा रमाइरहेका इन्द्र नाराथुङ्गे कतै टुप्लुक्क आइपुग्छन् कि ! अमेरिकामा ग्रीनकार्ड पाइसकेका टङ्क चन्द यतै कोतारायातिर भेटिन्छन् कि ! हेलो , जीवन भाइ ! भन्दै मनि राई गोठाले ठोक्किन्छन् कि ! के छ , हौ ? भन्दै सञ्जय छुच्चा राई र राज रोबर्ट अजनवी सुब्बा अँगालो मार्न आइपुग्छन् कि ! भनेर टोलाई बस्छन् उनी । “हिउँ पगालेर आगो”का कृतिकार गणेश खड्का “प्रतीक्षा”को प्रतीक्षा गरेर बसेको पनि वर्षौ बितिसकेको छ । यदाकदा भेटिने दिलदुखी जन्तरे , दिलिप राई सगर, देवेन्द्र सुर्केली , सिर्जन श्रीहरूसँगको भेट पछिल्लो क्रमदेखि अब निकै पातालिदै गएको छ।
जीवन देवान गाउँलेसंग मैले पनि थुप्रै सहकार्य गरेको छु । उनकै नेतृत्वमा रहेको अनेसासको सदस्य भएर काम गरिसकेको छु । कहिले उनको पाठक भएको छु भने कहिले उनलाई पाठक बनाएको छु । साहित्यिक भ्रमणको अनुभव बटुलेको छु । मैले सम्पादन गरेको क्षत्री समाजको ” स्मारिका ” र मेरो लघुकथाकृति “भाग्य र कर्म”को उनकै हातबाट विमोचन गराएको छु । उनीसंगै एउटै मञ्चमा सम्मानित हुने अवसर पनि पाएको छु ।
सम्मानको प्रसङ्ग जोडिहालौं । सन् २०१६ तिर मञ्जरी थिएटर ग्रुप भन्ने एउटा संस्था मलेसिया सक्रिय थियो । त्यो संस्थाले नयाँ पुराना ५ जना सर्जकहरूलाई सम्मान गरेको थियो। यही सम्मान हुने सुचिमा म पनि थिएँ । अरु सर्जकहरूको सामुन्ने मेरो उचाई दर्बिलो भएपनि उनको सामुन्ने साहित्य लेखन क्षेत्रमा म आफुलाई होचो कदको महसुस गरिरहेको थिएँ । ७ वर्ष बितिसकेछ । त्यसपछि हाम्रो भेट हुन सकेको छैन । तर हामी निकट छौं । नेपाली भाषा र साहित्यका कारण हाम्रो सामिप्यता अझै बढेको छ ।
धनकुटा बोधे निवासी जीवन देवान गाउँले सामाजिक कार्यमा पनि रुचि राख्दै आइरहेका छन् । बेलाबखत उनीद्वारा गरिएका कार्यहरू पनि देखिएको छ, सुनिएको छ । तर त्यो चर्चाको विषय भने बन्न सकेको छैन । उनले आदिवासी जनजाती महासंघ मलेसियाको पनि नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् ।
मलेसिया आएका धेरै नेपालीहरू धेरैजसो स्वदेश फर्किसकेका छन् । कतिपयले दर्जनौ देश चाहारिसकेका छन् तर उनी यही देशलाई कर्मभूमि बनाएर बसेका छन् । ‘अरु घोडा चढे भनेर आफू धुरीमा चढ्नु हुँदैन ।´ भन्ने कुरामा विश्वास राख्दछन् । मानिस जहाँ जस्तो अवस्थामा छ , खुसी रहनुपर्छ भन्ने उनको कर्मले पनि पुष्टि गर्दछ। नत्र अरुझैँ उनी पनि राम्रो आम्दानी हुने देशमा जान पक्कै सक्थे। मलेसियाको साहित्यकाशमा देखिएका सयौं नामहरू आज धेरैजसो गुमनाम छन् कतिपय आफ्नै दुनियाँमा रमाइरहेका छन् तर उनले यहीँ रहेर नेपाली भाषा साहित्य र संस्कृतिलाई जोगाएर राख्न आफ्नो तर्फबाट कुनै कसर बाँकी राखेका छैनन् । मेरो नजरमा गाउँले श्रस्टा मात्रै होइनन् कुशल द्रष्टा पनि हुन ।