भाइमसलाको छैन बजार, मूल्य २० प्रतिशतले कम

काठमाडौं । तिहारमा प्रयोग हुने भाइमसलाको मूल्य यो वर्ष २० प्रतिशतले कम भएको छ ।  भाइमसलाको मूल्य घटे पनि कोभिड—१९ को जोखिमका कारण व्यापार भने आधाभन्दा बढीले घटेको छ । चाड तिहारको पाँचौँ दिनमा पर्ने भाइटीकामा हिन्दु परम्पराअनुसार भाइमसला अनिवार्य हुन्छ । 

भाइ मसलामा काजु, किसमिस, ओखर, नरिवल, बदाम, पेस्ता, अञ्जिर, मखना, छोकडा, ल्वाङ सुकुमेललगायत पर्छन् । यी मसलाहरूको गुणस्तरअनुसार फरक भए पनि विगत वर्षहरूभन्दा कम रहेको असन क्षेत्रमा व्यापार गर्दै आउनुभएका सञ्जयदत्त तुलाधरले बताउनुभयो । मूल्य कम भए पनि ग्राहक न्यून संख्यामा मात्रै आउने गरेको उहाँले बताउनुभयो । 

बजारमा पसलहरू अनुसार मूल्य भने फरक छ । होलसेल पसलबाट खुद्रा व्यापारीहरूलाई समान प्रकारले छुट सुविधा भए पनि खुद्रा पसलहरूमा मूल्य फरक पाइएको हो । सामानको गुणस्तरअनुसार मूल्य फरक भएको व्यवसायीहरू बताउँछन् । दैनिक उपभोग्य वस्तुको मूल्य बढे पनि भाइमसलाको मूल्य कम भएको अर्का व्यापारी लोचनकाजी तुलाधरले बताउनुभयो । विगतको तुलनामा आधाभन्दा कम मात्रै ग्राहकहरू किनमेलका लागि आउने गरेको उहाँको भनाइ छ । 

यो वर्ष बजारमा काजु प्रतिकेजी एक सय रुपैयाँदेखि दुई सय रुपैयाँसम्मले घटेको छ । किसमिस सय रुपैयाँसम्म, पेस्ता, नरिवल ५० रुपैयाँले घटेको छ । यसै गरी छोकडा प्रतिकेजी २० रुपैयाँ र सुकुमेल केजीमा पाँच सय रुपैयाँसम्मले घटेको खुद्रा व्यापार संघले जनाएको छ । होटल, रेस्टुरेण्ट, मिठाइ पसलहरूमा मसला बिक्री हुने गरेको भए पनि कोभिड–१९ का कारण होटल व्यवसाय नै कमजोर बनेकाले मसलाको व्यापार पनि खस्केको हो । व्यापारीहरूले धेरै समयसम्म गोदाममै सामान राख्दा बिग्रिने डरले पनि यो वर्ष सस्तोमा दिन थालेका हुन् । अहिले पनि कोभिड–१९ को जोखिम कायमै रहेको छ । सरकारले चाडपर्वहरू स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मनाउन आग्रह गरेको छ ।