सेलाङ्गोरमा विदेशीले मलेसियनसंग ‘नक्कली विवाह’ गरेर व्यापार लाइसेन्स लिने प्रवृत्ति बढ्दो

शाह आलम (मलेसिया):= मलेसियाको सेलाङ्गोर राज्यमा विदेशी नागरिकहरूले व्यापार सञ्चालन अनुमति (बिजनेस लाइसेन्स) प्राप्त गर्न स्थानीय महिलासँग ‘नक्कली विवाह’ गर्ने प्रवृत्ति गम्भीर बन्दै गएको खुलासा भएको छ।

सेलाङ्गोर सरकारका स्थानीय शासन तथा पर्यटनसम्बन्धी कार्यकारी परिषद् सदस्य (एक्सको) दातुक ङ सुई लिमले यस्तो गतिविधि नयाँ नभई पछिल्लो एक दशकभन्दा बढी समयदेखि चलिरहेको विश्वास गरिएको बताएका छन्।

उनका अनुसार केही विदेशी नागरिकले मलेसियामा बसोबास र व्यापार सञ्चालनलाई सहज बनाउन मात्र स्थानीय महिलासँग विवाह गर्ने गरेका छन्। व्यापार अनुमति स्थानीय नागरिकको नाममा दर्ता हुने भएकाले स्थानीय निकायहरूलाई कारबाही गर्न कठिनाइ भइरहेको उनले बताए।

“जब अनुगमन तथा कारबाहीका लागि टोली पुग्छ, सम्बन्धित व्यक्तिहरूले आफू केवल आफ्ना पति वा पत्नीको व्यापारमा सहयोग गरिरहेको दाबी गर्छन्। लाइसेन्स कानुनी रूपमा स्थानीय नागरिककै नाममा भएकाले स्थानीय निकायहरू द्विविधामा पर्ने गरेका छन्,” उनले भने।

दातुक लिमका अनुसार व्यापार अनुमति सम्बन्धी नियम उल्लङ्घन वा अन्य कानुनी अपराध प्रमाणित नभएसम्म स्थानीय निकाय (PBT) ले त्यस्ता लाइसेन्स रद्द गर्न सक्दैन।

उनले विदेशी नागरिकहरू साना तथा खुद्रा व्यवसायमा अनियन्त्रित रूपमा संलग्न हुन थालेको विषयप्रति सरकार गम्भीर रहेको बताउँदै अनुमति बिना सञ्चालन गरिएका व्यवसायमाथि कडा कारबाही जारी रहने स्पष्ट पारे।

यस समस्याको समाधानका लागि सेलाङ्गोर राज्य सरकारले अध्यागमन विभाग तथा सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै प्रभावकारी उपाय खोजिरहेको जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार शाह आलमको सुङ्गाई रासाउसेक्सन–१५ लगायतका औद्योगिक क्षेत्रहरूमा यस्ता घटनाहरू बढी देखिएको बताइएको छ।

News source : buletin tv 3