‘बिहे गर्न हतार छैन’

काठमाडौं:= लोकप्रिय नायिका केकी अधिकारीले अहिले नै बिहे गर्न हतार नभएको बताउनु भएको छ । पछिल्लो समय नेपाली चलचित्रक्षेत्रका नायिकाहरूले बिहे गरिरहेको देख्दा आफ्नो पनि बिहे गर्ने पालो आएको होकि भन्ने लागेको तर अहिले नै हतार नगर्ने उहाँको भनाइ छ । बुधबार धुलिखेल माउण्टेन रिसोर्टमा एक गीतको सुटिङको क्रममा केकीले आफ्नो बिहेको मिति अहिले नै भन्न नसक्ने तर हतार नगर्ने बताउनु भएको हो ।

‘सहकर्मी साथीहरूले बिहे गर्दा पालो आएछ कि भन्ने त लाग्छ, फेरि साथीभाइको बिहे भइसक्दा घरबाट पनि बिहेका लागि फोर्स गर्नुहुन्छ तर अहिले आफ्नो काममै फोकस छु त्यसैले यस विषयमा अहिले सोचेकी छैन’, केकीले हिमालय टाइम्ससँग भन्नुभयो, ‘विशेषगरी घरपरिवारमा आफ्नो उमेरको साथीहरूको बिहे हुँदा बढी फोर्स हुने रहेछ ।’ 

नेपाली चलचित्र क्षेत्रमा विभिन्न नायिकाहरू विभिन्न समयमा विवादमा पनि आइरहन्छन् तर नायिका केकी भने हालसम्म विवादमा पर्नु भएको छैन । प्रायः अविवाहित नायिकाहरूको प्रेमका चर्चा चलचित्र नगरीमा खुबै हुने गर्छ तर केकीको पनि प्रेमको चर्चा पनि खासै चलेको हुँदैन ।

तपाइँको न त प्रेमको चर्चा चल्छ नत कुनै विवादमा पर्नुहुन्छ । तपाइँ यो कुरालाई राम्रो व्यवस्थापक गर्न जान्ने मान्छे हो ? हाम्रो प्रश्नमा उहाँ भन्नुहुन्छ । ‘यो ग्ल्यामर क्षेत्रमा माया प्रेमका कुराहरू चल्नु स्वभाविक हो । तर मेरो हकमा अहिलेसम्म प्रेमको चर्चा नआएको भन्नुभयो । कसैसँग प्रेममा भएपो चर्चा हुने हैन र । लक्कीले कुनै विवादमा परेकी छैन ।’

नायिका केकी पछिल्लो समय चलचित्र निर्माण तथा रियालिटी शोहरूमा पनि काम गरिरहनु भएको छ । अभिनेत्रीमात्र नभई चलचित्रमा पनि लगानी गर्दै आउनु भएकी केकीले फेरि एक चलचित्र निर्माण गर्ने तयारीमा जुटेको बताउनुभयो । ‘अहिले चलचित्रको भित्री काम भइहरहेको छ । छिट्टै चलचित्र निर्माणको घोषणा गर्नेछु,’ केकीले भन्नुभयो, ‘अहिलेका लागि चलचित्रको सबैकुरा भन्न त सक्दिन तर यत्तिकुरा बुझ्नुस् कि मैले अर्को चलचित्र निर्माण छिट्टै गर्नेछु ।’ केकीले चलचित्रको प्रदर्शन मिति, चलचित्रको नाम तथा कलाकारबारे भने खुलाउन चाहानु भएन ।