होटलको पेन्टहाउसमा मिनी जुवाको अखडा,१ नेपालीसहित १६ विदेशी पक्राउ।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको राजधानी क्वालालम्पुरस्थित जालान अम्पाङ क्षेत्रमा रहेको एक होटलको पेन्टहाउसमा अवैध रूपमा ‘मिनी क्यासिनो’ सञ्चालन भइरहेको अवस्थामा प्रहरीले छापा मार्दा एक नेपालीसहित १६ जना विदेशी नागरिक पक्राउ परेका छन्।

मलेसियाली सञ्चारमाध्यम मलाया मेल का अनुसार शनिबार बिहान १ बजेर ५० मिनेटमा प्रहरीले उक्त होटलको पेन्टहाउसमा छापा मारेको थियो। प्रारम्भिक अनुसन्धानमा उक्त स्थानलाई सीमित तथा चिनजानका व्यक्तिहरूका लागि मात्र खुला रहने गरी मिनी क्यासिनोका रूपमा प्रयोग गरिएको पाइएको छ।

क्वालालम्पुरका प्रहरी प्रमुख फादिल मार्सुसका अनुसार प्रारम्भिक अनुसन्धानमा उक्त जुवा गतिविधिमा चिनियाँ नागरिकहरू मात्र सहभागी हुने गरेको खुलेको छ। तर, छापा मार्ने क्रममा प्रहरीले एक नेपालीसहित १६ जना विदेशीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा १५ जना चिनियाँ नागरिक रहेका छन्, जसमा एक महिला पनि छन्।  एक नेपाली नागरिकसहित पक्राउ परेका सबैको उमेर २६ देखि ५० वर्षसम्म रहेको प्रहरीले जनाएको छ।

छापाका क्रममा प्रहरीले जुवामा प्रयोग हुने २१४ वटा पोकर चिप्स बरामद गरेको छ। ती चिप्सको कुल मूल्य ५ हजार १८० रिंगेट रहेको छ भने घटनास्थलबाट थप १ हजार रिंगेट नगदसमेत बरामद गरिएको छ। प्रहरीले घटनाबारे अध्यागमन ऐन, साझा जुवा घर ऐन तथा सार्वजनिक सेवकको काममा अवरोध पुर्‍याएको कसुरमा फौजदारी संहिताको धारा १८६ अन्तर्गत अनुसन्धान अघि बढाएको छ।

पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति माग्दै शनिबार नै मजिस्ट्रेट अदालतमा उपस्थित गराउने तयारी गरिएको प्रहरीले जनाएको छ।मलेसियामा अनुमति नलिई सञ्चालन गरिने जुवा गतिविधि तथा अवैध कारोबारविरुद्ध प्रहरीले निगरानी र कारबाहीलाई तीव्रता दिँदै आएको छ।