मलेसियामा २६ विदेशीलाई १० हजार रिंगिटसम्म जरिवाना, ८ महिला पनि दोषी।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा अवैध रूपमा प्रवेश गरेको र भिसाको म्याद सकिएपछि पनि गैरकानुनी रूपमा बसेको अभियोगमा ८ जना महिलासहित २६ जना विदेशी नागरिकलाई अदालतले जरिवाना गरेको छ।

सेसन अदालतले सोमबार चार म्यानमार, तीन इन्डोनेसिया र एक भियतनामी महिलालाई प्रतिव्यक्ति ६ हजारदेखि १० हजार रिंगिटसम्म जरिवाना सुनाएको हो। उनीहरूले अदालतसमक्ष आफ्नो कसुर स्वीकार गरेपछि न्यायाधीश जुल्कप्ली अब्दुल्लाहले उक्त फैसला सुनाएका हुन्।

अदालतमा पेस गरिएका आठ महिलामध्ये ६ जनालाई वैध यात्रा कागजातबिना मलेसिया प्रवेश गरेको अभियोगमा अध्यागमन ऐन १९५९/६३ को दफा ६(१)(ग) अनुसार मुद्दा चलाइएको थियो। बाँकी दुई जनालाई अनुमति प्राप्त अवधिभन्दा बढी समय मलेसियामा बसेको अभियोगमा सोही ऐनको दफा १५(१)(ग) अनुसार कारबाही गरिएको थियो।

६ जना महिलालाई जनही ६ हजार रिंगिट तथा अन्य दुई जनालाई जनही १० हजार रिंगिट जरिवाना तोकिएको छ। जरिवाना तिर्न नसकेमा उनीहरूले दुई महिना जेल सजाय भोग्नुपर्नेछ। सोही अदालतमा यस दिन अन्य १८ जना पुरुष विदेशी नागरिकविरुद्ध पनि अध्यागमनसम्बन्धी कसुरमा मुद्दा सुनुवाइ भएको थियो।

उनीहरू बंगलादेश, पाकिस्तान, म्यानमार र इन्डोनेसियाका नागरिक हुन्। उनीहरूलाई पनि कसुरअनुसार जनही ६ हजारदेखि १० हजार रिंगिटसम्म जरिवाना सुनाइएको छ। जरिवाना तिर्न नसके दुई महिना कैद भोग्नुपर्ने फैसला भएको छ। १८ देखि ५७ वर्ष उमेर समूहका यी २६ जना विदेशी नागरिकलाई मलेसियाको अध्यागमन विभागले अक्टोबर १० देखि २२ तारिखसम्म सञ्चालन गरेका विभिन्न छुट्टाछुट्टै कारबाही अभियानका क्रममा पक्राउ गरेको थियो।

अध्यागमनको उक्त अभियान केलान्तान राज्यका कुबाङ केरियन, कोटा भारु र गुआ मुसाङ क्षेत्रमा सञ्चालन गरिएको थियो। अभियोजन पक्षबाट सिती खैदिजाह खैरुद्दिनले बहस गरेकी थिइन्। अदालतमा उपस्थित २६ जनामध्ये कसैको पनि कानुनी प्रतिनिधि (वकिल) थिएन। केही अभियुक्तले अदालतको दोभाषेमार्फत आफ्नो बयान दिएका थिए।

स्रोत : स्थानीय सञ्चार माध्यम