राजनीतिक समीकरण फेरिए,सरकार फेरिए तर, युवा विदेश जाने बाध्यता रोकिएन।

काठमाडौं (मलेसिया):= नेपालमा राजनीतिक सत्ता र सरकार परिवर्तनको क्रम जारी रहे पनि रोजगारीको खोजीमा विदेशिने नेपाली युवाको बाध्यता भने घट्न सकेको छैन। स्वदेशमै रोजगारी सिर्जना गर्ने र युवालाई देशभित्रै अवसर उपलब्ध गराउने राजनीतिक प्रतिबद्धता व्यवहारमा कार्यान्वयन हुन नसक्दा वैदेशिक रोजगारीप्रतिको निर्भरता झन् बढ्दो देखिएको छ।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको असोज महिनामा मात्रै ७३ हजार ७६५ जना नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्। रोजगारी र आर्थिक अवसरको खोजीमा दैनिक हजारौँ नेपाली युवा विदेशिने क्रमले मुलुकभित्रको बेरोजगारी र कमजोर रोजगारी बजारको अवस्थालाई उजागर गरेको छ।

असोज महिनामा वैदेशिक रोजगारीका लागि नेपालीको पहिलो गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई) बनेको छ। उक्त अवधिमा यूएई जान २४ हजारभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएका छन्। त्यस्तै, मलेसियाका लागि ९ हजार ६५३ जनाले श्रम स्वीकृति लिएका छन् भने कतार पनि नेपाली श्रमिकको प्रमुख गन्तव्यका रूपमा देखिएको छ।

विभागको तथ्याङ्कअनुसार असोज महिनामा श्रम स्वीकृति लिने कुल श्रमिकमध्ये १० हजारभन्दा बढी महिला रहेका छन्। यसले वैदेशिक रोजगारीमा पुरुषसँगै महिलाको सहभागिता पनि उल्लेख्य रहेको देखाउँछ।

सरकार परिवर्तनसँगै रोजगारी सिर्जना, उत्पादन वृद्धि र आर्थिक समृद्धिका नयाँ प्रतिबद्धता सार्वजनिक हुने गरेका छन्। तर, देशभित्र पर्याप्त रोजगारी र आम्दानीको भरपर्दो आधार नहुँदा युवाहरू परिवार र भविष्यको जिम्मेवारी बोकेर विदेशिन बाध्य छन्।

राजनीतिक नेतृत्व र सरकार फेरिए पनि वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्यामा अपेक्षित कमी आउन नसक्नु राज्यका लागि गम्भीर चुनौती बनेको छ। रेमिट्यान्सले अर्थतन्त्र धानिरहेको अवस्थामा युवाशक्ति निरन्तर विदेशिनुपर्ने अवस्थाले स्वदेशमै रोजगारी सिर्जना गर्ने सरकारी नीति र कार्यान्वयनमाथि पुनः प्रश्न उठाएको छ।