राष्ट्रिय फुटबल टोलीका थप दुई खेलाडीमा कोरोना संक्रमण।

काठमाडौं := राष्ट्रिय फुटबल टोलीका थप दुई खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि त्यसतर्फ प्रस्थान गर्नुअघि गरिएको परीक्षणका क्रममा मंगलबार थप दुईजना राष्ट्रिय खेलाडीलाई संक्रमण देखिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

योसँगै राष्ट्रिय टोलीका सातजना खेलाडीमा कोरोना पुष्टि भएको छ । यसअघि पहिलोपल्ट गरेको परीक्षणमा तीन र दोस्रोपल्टको परीक्षणमा दुईजनामा कोरोना देखिएको छ । कोरोना पुष्टि भएका खेलाडीहरूको परिचय भने एन्फाले गोप्य राखेको छ । उहाँहरूलाई छुट्टै आइसोलेसनमा राखिएको एन्फाले जनाएको छ । 

सात खेलाडीमा संक्रमण देखिएपछि नेपालको बंगलादेश भ्रमण पनि प्रभावित हुने भएको छ । यद्यपि प्रशिक्षक बालगोपाल महर्जनले बाँकी खेलाडीहरूलाई समेट्दै बिहीबार टोलीलाई बंगलादेश लिएर जाँदैछन् ।

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि अघिल्लो सातादेखि नेपाली टोलीले दशरथ रंगशालामा अभ्यास सुरु गरेको हो । एन्फाले ३४ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएको थियो । सात महिनापछि नेपाली खेलाडीहरू बिहीबारबाट मैदान फर्किएका हुन् । गत चैत ११ गतेदेखि भएको लकडाउनपछि नेपालमा फुटबल प्रशिक्षण सुरु हुन लागेको यही पहिलोपटक हो ।

एन्फाले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को अनुमतिमा प्रशिक्षण सुरु गरेको हो । मुख्य प्रशिक्षक योहान कालिन नफर्कन नसक्ने स्थिति नभएपछि नेपालले बालगोपाल महर्जनको नेतृत्वमा तयारी सुरु गरेको हो । कोरोना भाइरसका कारण आफ्नो देश स्वीडेन जानुभएका कालिन फर्किनुभएको छैन । महर्जनलाई सहायक प्रशिक्षकका रूपमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकका रूपमा विकास मल्लले सघाउ पु¥याइ रहेका छन् ।

नेपालले बंगलादेशसँग ढाकामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । ढाकास्थित बंगबन्धु रंगशालामा हुने पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ गते हुनेछ । दोस्रो मैत्रीपूर्ण खेल आगामी मंसिर २ गते हुने एन्फाले जनाएको छ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।