क्वालालम्पुर (मलेसिया):= मलेसियाको अध्यागमन विभाग (इमिग्रेशन) सेलाङ्गोरले सर्वसाधारणबाट प्राप्त सूचना तथा गुनासोका आधारमा शाह आलम, सुबाङ जया र क्लाङ क्षेत्रमा विशेष संयुक्त छापा सञ्चालन गरि सयौं अवैधानिक विदेशीहरु लाई पक्राउ गरेको छ।
बिहीबार राति १० बजेदेखि सुरु भएको उक्त कारबाहीमा २४२ जना विदेशी नागरिक पक्राउ परेका छन्। अध्यागमन विभाग सेलाङ्गोरका अनुसार कारबाहीमा अध्यागमन विभाग, कर्मचारी सञ्चय कोष (KWSP), श्रम विभाग (JTK) र नागरिक सुरक्षा बल (APM) का गरी १३० जना अधिकारी तथा कर्मचारी सहभागी थिए।

कराओके सेन्टर (KTV), विभिन्न कारखाना तथा आवासीय क्षेत्रमा सञ्चालन गरिएको अनुगमनका क्रममा कुल ३२१ जनाको जाँच गरिएको थियो। तीमध्ये १८० जना पुरुष र ६२ जना महिला गरी २४२ जना विदेशी नागरिकलाई अध्यागमन सम्बन्धी कानुन उल्लंघन गरेको आशंकामा नियन्त्रणमा लिइएको हो।

कारबाहीका क्रममा चारवटा परिसरमा निरीक्षण गरिएको र थप अनुसन्धानका लागि २९ वटा फाराम जारी गरिएको विभागले जनाएको छ। पक्राउ परेका सबै विदेशी नागरिकलाई थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि सेमेन्ही अध्यागमन हिरासत केन्द्रमा राखिएको छ।
अध्यागमन विभाग सेलाङ्गोरले गैरकानुनी गतिविधिबारे सूचना उपलब्ध गराउने सर्वसाधारण प्रति आभार व्यक्त गर्दै यस्ता गतिविधि नियन्त्रण गर्न समुदायको सहयोग महत्वपूर्ण रहेको जनाएको छ।




















