‘यर्थाथ कथावस्तुको संप्रेषणले नाटक जीवन्त हुन्छ’

काठमाडौं । रंगमञ्चमा नयाँ पुस्ताका जुझारु एवं लोकप्रिय नाट्य निर्देशक हुनुहुन्छ देवेन्द्र ढकाल । उहाँले दर्जनौं नाटक निर्देशन गरिसक्नुभएको छ । एक दशकभन्दा बढी समयदेखि यो क्षेत्रमा रहेर अनुभव संगाल्नु भएका देवेन्द्रले द एभरेष्ट भ्यु, वीरबहादुर, रगतको नाता, जुनेली रात, मनको बगैँचा, सल्लाघारी, चण्डालिका आईमाई, सेतो गुम्बा, शेर्पा दाइ, अस्ताएको सूर्य, नाकाबन्दी, साली–भेना, गोर्खाली ठिटो, नखरमौली ठिटी, दियो जलन, रंगमञ्च, दुर्गमका महिला, हारेको न्यायालय, यात्रा जिन्दगीको, बिरानो शहर, सुनकेशरी, जिउँदो शहीद, गोलमाल जिन्दगानीलगायत थुप्रै नाटक निर्देशन गर्नुभएको छ । 

उहाँले यस क्षेत्रमा पु-याएको योगदानको कदर गर्दै विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्थाबाट पुरस्कृत, सम्मानित हुनुहुन्छ देवेन्द्र । कलाकारिता आफैंमा रोचक र मनोरञ्जनात्मक पेशा हो । यो विधामा नाटकलाई अझ उत्कृष्ट मानिन्छ । रंगमञ्चमा लामो समय रहेर धेरैभन्दा धेरै क्रियशन पस्किन सफल ढकालसँग हिमालय टाइम्सका लागि गोपिकृष्ण चापागाईंले गर्नुभएको संक्षिप्त कुराकानी :

लामो समयदेखि यो क्षेत्रमा हुनुहुन्छ कस्तो खालको विषयवस्तु रुचाउँछन् अहिलेका दर्शकहरूले ? 

आजभोलि सामाजिक विषयवस्तुलाई उठान गरी सामाजिक रूपान्तरणका निम्ति यथार्थ घटनालाई शिरोधार गरी नाटक रचना गरिन्छ र रंगमञ्च हुन्छ । तर, मौलिक विषयवस्तु र उत्कृष्ट प्रस्तुति नै अहिलेका दर्शकका रोजाइ हुन् ।

नाटकलाई साहित्यको कुन विधामा स्वीकार गर्न उचित हुन्छ ?

हर माध्यम र हर विधाका आआफ्नै विशेषताहरू हुन्छन् । ती विशेषतालाई प्रयोग गर्न अलगअलग योग्यता हुनुपर्छ । नाटक, चलचित्र साहित्यकै एउटा अंग हो तर नाटक वा चलचित्र कथा, कविता लेखेको जस्तो हुँदैन । 

मौलिक नाटक एकदमै कम मञ्चन हुने गरेको पाइन्छ नि ?

नेपाली दर्शकहरूमा नेपाली मौलिक नाटकको तुलनामा विदेशी नाटकको प्रभाव बढी छ । दर्शकले त्यही हेर्न चाहन्छन् । नेपालमा एकदम धैरै नाटक बनिरहेका छन् । तर, मौलिक नाटक एकदमै कमले बनाएका छन् । किनकि रंगमञ्चको दुनियाँलाई हेर्ने हो भने नेपालमा मौलिक नाटक कम चल्छ । यसले गर्दा विदेशी लेखकका नाटक धेरै मञ्चन हुन्छन् ।

नाटक वा फिल्म र तपाइँको जीवनमा रहेको भिन्नतालाई कसरी लिनुहुन्छ ? आखिर यो नाटक वा फिल्मको वास्तविकता ‘इल्युजन’ वा ‘प्रर्सेप्सन’ मात्र हो त ?

मेरो जीवन मेरो जीवन हो, जहाँ सुख–दुःख, हर्ष–विष्मय, सार्थक–निरर्थक, आरोहअवरोह सबै छन् । मेरो जीवन मेरो यर्थाथ हो । तर नाटक वा फिल्म चाहिँ कलात्मक सौन्दर्य । नाटक वा फिल्ममा सम्पूर्ण ‘इल्युजन’मात्रै हुँदैन । अनुभवबिहीन कथा नितान्त खल्लो, रंगहीनजस्तो हुन्छ जबकि यर्थाथ कथावस्तुको संप्रेषणले नाटक वा फिल्म जीवन्त हुन्छ । 

कल्पना गर्नुहोस्– फिल्म छैन । फिल्मलाई डबलीमा उतार्नु छ । यो कार्य नाटकविना सम्भव छ कि छैन ?

रंगमञ्चको एक अध्याय बितिसकेपछि सिनेमाको सम्भावना खोजिएको हो । रंगमञ्चपछिको सिढी फिल्म नभए तापनि प्रायः सिनेकर्मीहरू रंगमञ्चलाई आधारभूमि बनाएरै आएका थिए, छन् । यसैले फिल्म छैन भने नाटकद्वार्रा  मूर्तरूप दिन सकिन्छ । 

भनिन्छ, नाटक नै फिल्मको उद्गम हो । तथापि नाटक चाहिँ ओझेल परेकै हो कि ?

नाटक ओझेल परेको छैन । मञ्चन गर्न चै अवश्य कम हुँदैछ । त्यसको कारण मनोरञ्जनका साधनहरूको विकास र दर्शकहरूको समयको अभाव । पहिलो जस्तो फुर्सद कम छ मानिससँग । यसैले नाटक कम मञ्चन भएका हुन् । अहिले नाटक मञ्चन गर्दा राम्रै दर्शक आउने गर्नुहुन्छ । तर, नाटक चाहिँ युग सापेक्ष हुनुपर्छ । 

पछिल्लो समय नाटक हेर्न दर्शकहरूमा नाटकप्रति रुचि कम हुँदै गएको हो ?

तपाइँको प्रश्नसँग म सहमत छैन । नाटक हेर्ने दर्शकको रुचि कम भएको छैन । मुख्य कुरा के हो, हामीले दर्शकलाई के पस्किरहेका छौं भन्ने हो । दर्शकको रुचिमुताविक कथा, पात्र, परिवेश, स्रोतसाधनको उचित प्रयोग गर्न सक्नु पर्छ । हो, हामीकहाँ यसको उचित प्रयोग गर्न नसक्दा रंगमञ्च धरमराएको पक्कै हो । दक्ष जनशक्ति, नाट्य थियटर, आधुनिक प्रविधिको अभाव पनि छ हामी कहाँ । 

थियटरलाई कसरी व्यावसायिक बनाउने ?

यदि नेपाल सरकार तथा अन्य सम्बन्धित निकायले थियटरहरूको संख्यात्मक वृद्धि, दक्ष जनशक्ति, आधुनिक प्रविधिको विकास, रोजगारीको ग्यारेन्टी, कलाकारलाई स्थापित तथा मनोबल बढाउने काम हुने हो भने थियटरलाई पूर्णव्यावसायिक बनाउन सकिन्छ । रंगमञ्चमा निरन्तर काम गरिरहेका रंगकर्मीहरूको अवस्थाबारे राज्यले वा सम्बन्धित निकायले पनि चासो दिनुपर्छ । 

अन्त्यमा केही छ कि ?

मौलिक विषयवस्तु र उत्कृष्ट प्रस्तुति नै जहिले दर्शकको रोजाइ हुन्छ । यसैलाई ध्यानमा राखेर हामीले नाटक पस्किन सक्नुपर्छ भन्ने लाग्छ । यो क्षेत्रलाई राज्य वा सम्बन्धित निकायले पनि चासो दिनुपर्छ भन्न चाहन्छु ।