काठमाडौं := सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अहिले पाँच दिने औपचारिक भ्रमणको क्रममा छिमेकी राष्ट्र भारतमा हुनुहुन्छ । सभापति लामिछानेको भ्रमणलाई भारत सरकार र सरकारको नेतृत्व गरिरहेको दल भारतीय जनता पार्टी (भाजपा) ले उच्च महत्त्व दिएको छ ।
सोमबार नयाँदिल्ली पुग्नुभएका सभापति लामिछानेले बुधबारसम्म उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्नुभएको छ । भ्रमणका क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, सरकारको नेतृत्व गरिरहेको दल भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस.जयशंकरलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्नुभएको हो ।
तर, मंगलबार र बुधबार भएका कुनै पनि उच्चस्तरीय राजनीतिक भेटघाटमा नेपाल-भारतबीचको संवेदनशील सीमा विवादको विषयले प्रवेश नै पाएन । प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिले नेपाल र भारत दुवैतर्फ राजनीतिक तरंग पैदा गरिरहेका बेला सरकारको नेतृत्व गरिरहेको दल रास्वपाका सभापति लामिछानेको भ्रमण भएको हो ।
सरकारको नेतृत्व गरिरहेको दलको मुख्य नेतृत्वको भ्रमणमा सीमा समस्याबारे गम्भीर कुराकानी हुने ठूलो अपेक्षा गरिएको थियो । तर, भ्रमणका क्रममा भएका कुनै पनि उच्चस्तरीय राजनीतिक भेटघाटमा सीमासम्बन्धी विषयले प्रवेश नपाएको हो । भारत भ्रमणमा रहनुभएका सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँदिल्लीमा भेटवार्ता गर्नुभएको छ ।
सभापति लामिछानेले बुधबार दिउँसो भारतीय प्रधानमन्त्री कार्यालयमा मोदीसँग भेटवार्ता गर्नुभएको हो । भेटमा आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा कुराकानी भएको बताइएको छ । भेटबारे भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिनुभएको हो । मोदीले नेपाली भाषामै लेख्नुभएको थियो ।
सभापति लामिछानेसँगको भेटबारे जानकारी दिँदै प्रधानमन्त्री मोदीले भन्नुभएको छ, ‘नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेसँग भेट गर्न पाउँदा अत्यन्त खुसी लागेको छ । साझा समृद्धि र उज्ज्वल भविष्यका लागि मिलेर नजिकबाट काम गर्ने उहाँको इच्छालाई म स्वागत गर्छु र पूर्णरूपमा समर्थन गर्दछु ।’ भेटमा भारतीय पक्षबाट मोदीसँगै विदेशमन्त्री एस.जयशंकर, भारतका राष्ट्रिय सल्लाहकार अजित डोभाल, विदेशसचिव विक्रम मिश्री लगायतका उच्च पदस्थ अधिकारी थिए ।
मोदीसँगको भेटवार्तामा नेपाली टोलीमा सभापति लामिछानेसँगै उहाँकी पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी हुनुहुन्थ्यो । वार्ताका क्रममा भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा पनि सहभागी हुनुहुन्थ्यो ।
तर, प्रधानमन्त्री मोदीसँगको भेटवार्तामा पनि सीमा विवादको विषयले प्रवेश नपाएको स्रोतले जनाएको छ । नेपाल र भारतबीच सीमा परिमार्जन तथा सुगौली सन्धिकालीन नक्साका विषयमा बहस भइरहेका बेला सत्तारूढ दलका प्रमुख नेताको भारत भ्रमण र त्यसक्रममा सीमाको मुद्दा नउठ्नुलाई राजनीतिक तथा कूटनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
भाजपा अध्यक्ष नितिन नवीनको निम्तोमा सोमबार नयाँदिल्ली पुग्नुभएको हो । लामिछाने मंगलबारदेखि नै उच्चस्तरीय भेटघाटमा व्यस्त हुनुहुन्छ । आज (बिहीबार) लामिछाने उत्तर प्रदेशस्थित राम जन्मभूमि अयोध्या जाने कार्यक्रम छ । पाँच दिने भारत भ्रमण पूरा गरी लामिछाने जेठ २२ गते स्वदेश फर्कनु हुनेछ ।



















