क्वालालम्पुरमा २५७०औँ बुद्ध जयन्ती भव्य रूपमा मनाइयो।

क्वालालम्पुर(मलेसिया):= मलेसियास्थित नेपाली राजदूतावासले २५७०औँ बुद्ध जयन्ती (वेसाक डे) विशेष कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाएको छ। भगवान गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति तथा महापरिनिर्वाणको स्मरणमा आयोजित कार्यक्रम क्वालालम्पुरस्थित जालान विवेकानन्दामा सम्पन्न भएको हो।

कार्यक्रम गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको समन्वय तथा विभिन्न संस्थासंस्थाको आर्थिक भौतिक सहयोगमा आयोजना गरिएको थियो। कार्यक्रमको उद्घाटन राजदूतावासका कार्यवाहक राजदूत मुदिता बज्राचार्य, भिक्षु कमलासिरी मिस्साका तथा एनआरएनए मलेसियाका अध्यक्ष इन्द्र लिम्बुले संयुक्त रूपमा दीप प्रज्वलन गरेर गर्नुभएको थियो।

उक्त अवसरमा बोल्दै कार्यवाहक राजदूत बज्राचार्यले भगवान बुद्धका शिक्षाले नैतिक मार्गदर्शन मात्र नभई द्वन्द्व व्यवस्थापन, आपसी समझदारी र विश्वास निर्माणका लागि व्यावहारिक उपायहरू प्रदान गर्ने बताउनुभयो। उहाँले लुम्बिनी क्षेत्रको विकास, संरक्षण तथा सांस्कृतिक एवं पुरातात्त्विक सम्पदाको जगेर्नामा नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो।

कार्यक्रममा भिक्षु कमलासिरी मिस्साकाले बुद्ध जयन्तीको महत्वबारे प्रवचन दिनुका साथै मैत्री भावना (मेत्ता भावना) ध्यान सत्र सञ्चालन गर्नुभएको थियो। नेपाली भिक्षुहरूले शान्ति पूजा समेत सम्पन्न गरेका थिए।

समारोहमा भगवान बुद्धको जन्मस्थल लुम्बिनीको महत्व झल्काउने विशेष भिडियो प्रदर्शन गरिएको थियो। साथै, श्री राघवेन्द्र आर्ट्स एकेडेमीका विद्यार्थी तथा कलाकारहरूले ‘फूलको आँखामा फूलै संसार’ र ‘कुन मन्दिरमा जान्छौ यात्री’ लगायतका लोकप्रिय नेपाली गीत प्रस्तुत गर्दै कार्यक्रमलाई सांगीतिक रूपमा आकर्षक बनाएका थिए।

कार्यक्रममा विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनिधि, निजी क्षेत्रका प्रतिनिधि, नेपालका शुभेच्छुक तथा मलेसियामा रहेका नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नेपाली राजदूतावासले बुद्धका शान्ति, करुणा र सहअस्तित्वका सन्देशलाई विश्वभर फैलाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।