भत्ता पाउने भएपछि मोटरसाइकल फिर्ता गर्दै जनप्रतिनिधि

सर्लाही । मासिक यातायात खर्च पाउने भएपछि सर्लाहीको हरिपुर नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले यसअघि किनेको मोटरसाइकल फिर्ता गरेका  छन् ।  सर्लाहीको हरिपुर नगरपालिकाका वडाध्यक्षहरूले यातायातबापत मासिक दश हजार पाउने भएपछि करिव दुई बर्षदेखि प्रयोग गर्दै आएको मोटरसाइकल फिर्ता गरेका हुन् ।

प्रदेश नम्बर–२ सरकारले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी विधेयक प्रमाणीकरण गरेपछि हरिपुर नगरपालिकाका नौ जना वडाध्यक्षहरुले मोटरसाइकल फिर्ता गरेका हुन् । प्रदेशसभाबाट पारित विधेयक प्रमाणीकरणमा नगरपालिकाका वडाध्यक्षलाई यातायात खर्चबापत मासिक १० हजार तोकेपछि दोहोरो सुबिधा लिन नमिल्ने भन्दै उनीहरूले सवारी फिर्ता गरेका हुन् । 

। यसअघि हरिपुर नगरपालिकाको २०७५ साल असोजमा बसेको कार्यपालिकाको बैठकको निर्णयबाट सबै वडाध्यक्षलाई मोटरसाइकल दिने निर्णय गरेर वितरण गरिएको थियो । त्यसको लागि नगरपालिकाले २० लाखभन्दा माथिको मोटरसाइकल खरिद गरेको थियो । दोहोरो सुविधा हुने भन्दै मोटरसाइकल फिर्ता गरिएपछि किनिसकेका मोटरसाइकल ग्यारेजमा थन्किएका छन् । फिर्ता भएका बाइक अब नगरका विभिन्न शाखाहरूमा दिने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकुत उदय प्रसाद देवकोटाले बताउनुभयो ।