नेपाल-भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढाउनुपर्छ : सभापति लामिछाने।

काठमाडौं := भारत भ्रमणमा रहनुभएका रास्वपा सभापति रवि लामिछानेले नेपाल-भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाटपछि सभापति लामिछानेले सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री मोदीसँग करिब एक घण्टा लामो फलदायी र सार्थक संवाद भएको उल्लेख गर्नुभएको छ । उहाँले नेपाल र भारतले विगतका सीमितता तथा अवरोधहरूलाई पार गर्दै विकास, साझेदारी र आपसी विश्वासमा आधारित नयाँ सम्बन्ध निर्माण गर्नुपर्नेमा जोड दिएको जानकारी दिनुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टिकोणसँग आफू सहमत रहेको उल्लेख गर्दै उहाँले साझा सभ्यतागत सम्बन्ध, डिजिटल करिडोर र सहज तथा निर्बाध सम्पर्क विस्तारका माध्यमबाट दुई देशबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउन सकिने बताउनुभएको छ । सभापति लामिछानेले नेपाल र भारतबीचको साझेदारीलाई प्रगति र पारस्परिक विश्वासमा आधारित बनाउने सम्भावना रहेको उल्लेख गर्दै रास्वपा ती सम्भावनाहरूलाई व्यवहारमा रूपान्तरण गर्न प्रतिबद्ध रहेको पनि बताउनुभएको छ ।

प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच नेपाल-भारत सम्बन्धलाई विगतका सीमितताहरूभन्दा माथि उठाउँदै ‘विकास कूटनीति’को नयाँ युगतर्फ अघि बढाउने दूरदृष्टिबारे विस्तृत छलफल भएको रास्वपाले जनाएको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार सभापति लामिछाने र भारतीय शीर्ष राजनीतिक नेतृत्वबीच सीमापार सम्पर्क सुदृढ बनाउने, सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्ने तथा विपद् व्यवस्थापनमा सहकार्य बढाउने विषयमा छलफल भएको जनाएको छ ।

यस्तै, नयाँदिल्लीमा भएका उच्चस्तरीय राजनीतिक भेटवार्तामा नेपाल-भारत सम्बन्धलाई थप मजबुत बनाउने र सुरक्षा तथा पूर्वाधार क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको दूतावासको भनाइ छ ।