प्रवासी नेपाली समन्वय समिति (PNCC) को १७औँ वार्षिकोत्सव सम्पन्न।

काठमाडौं:= प्रवासी नेपाली समन्वय समिति (PNCC) ले आफ्नो स्थापना दिवस तथा १७औँ वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश जारी गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक तथा तिनका परिवारको हक, हित र सुरक्षाका लागि संस्थाले निरन्तर काम गर्दै आएको जनाएको छ।

“For the Migrants, By the Migrants” नाराका साथ सन् २००८ मा स्थापना भएको संस्थाले हालसम्म ४७ हजारभन्दा बढी आप्रवासी श्रमिक तथा उनीहरूका परिवारलाई विभिन्न समस्या समाधान, न्यायिक सहायता, उद्धार तथा परामर्श सेवामार्फत सहयोग पुर्‍याएको जनाएको छ।

संस्थाले जारी गरेको सन्देशमा वैदेशिक रोजगारीमा संलग्न नेपाली श्रमिकहरूको न्यूनतम मानवअधिकार सुनिश्चित गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउँदै आएको उल्लेख गरिएको छ। साथै, आप्रवासी श्रमिकहरूले अन्तर्राष्ट्रिय मापदण्डअनुसारका अधिकार प्राप्त गर्नुपर्ने विषयमा संस्थाको प्रतिबद्धता कायम रहेको बताइएको छ।

वार्षिकोत्सवका अवसरमा संस्थाले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमिक, सदस्य, सहयोगी तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि आप्रवासी नेपालीहरूको हकहितका लागि अझ प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ।

कार्यकारी निर्देशक सोमप्रसाद लामिछाने, महासचिव देवीप्रसाद खत्री तथा अध्यक्ष विष्णु बहादुर आलेद्वारा संयुक्त रूपमा जारी गरिएको शुभकामना सन्देशमा सबै आप्रवासी नेपाली श्रमिकहरूको सुख, सुरक्षा र समृद्धिको कामना गरिएको छ।