बादी समुदायको कथामा आधारित ‘लालीबजार’ वैशाख १८ गतेदेखि देशभर प्रदर्शन हुँदै।

काठमाडौं := चलचित्र निर्माण कम्पनी षट्कोण आर्ट्सको नयाँ प्रस्तुति ‘लालीबजार’ यही वैशाख १८ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ । ‘टल्क जंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल चलचित्र निर्माण गरिसकेको उक्त कम्पनीले यसपटक बादी समुदायको पृष्ठभूमिमा आधारित कथा दर्शकमाझ ल्याउन लागेको हो ।

अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेको यस चलचित्रको सार्वजनिक पोष्टर, ट्रेलर तथा गीतसंगीतले दर्शकको ध्यान आकर्षित गरिसकेको छ । गर्भवती महिलाको भावनात्मक चित्रण गरिएको पोष्टरले नै चलचित्रको कथावस्तुको संकेत दिएको थियो । चलचित्रमा स्वस्तिमाले ‘मधुवाला’ नामक बादी महिलाको भूमिका निर्वाह गर्नुभएको छ, जसलाई उहाँले आफ्नो अभिनय यात्राको ‘टर्निङ प्वाइन्ट’ मान्नुभएको छ ।

चलचित्रमा ‘मायालाई के दिउँ म बैना’ गीत अहिले सामाजिक सञ्जालमा लोकप्रिय बनेको छ भने ‘मिठो संसार’ र ‘मै राम्री छु त नी’ गीतले पनि दर्शकको मन जितेको छ । यसअघि षट्कोण आर्ट्सका अधिकांश चलचित्र निर्देशन गर्दै आउनुभएका प्रदीप भट्टराई यसपटक कार्यकारी निर्माता तथा पटकथाकारको भूमिकामा हुनुहुन्छ भने निर्देशनको जिम्मेवारी यम थापाले सम्हाल्नुभएको छ ।

चलचित्रको कथा पनि निर्देशक थापाकै हो जसलाई उहाँले बादी समुदायको वास्तविक परिवेशमा आधारित बनाएर प्रस्तुत गर्नुभएको छ । चलचित्रको कथा विकासका क्रममा निर्माण टिमले बर्दिया पुगेर अनुसन्धान गरेको जनाएको छ । बादी समुदायसँग सम्बन्धित विषय भएकाले पटकथा तयार गर्दा विशेष संवेदनशीलता अपनाइएको निर्माण पक्षको भनाइ छ ।

निर्माता म्याक्स दीपेश खत्रीका अनुसार ‘लालीबजार’ विषयवस्तुका हिसाबले कम्पनीका अहिलेसम्मका उत्कृष्ट चलचित्रमध्ये एक हो । कार्यकारी निर्माता प्रदीप भट्टराईले नेपाली दर्शकलाई फरक र यथार्थपरक कथा दिन आफूहरूले गहन अध्ययन र मिहिनेत गरेको जिकिर गर्नुभयो । उहाँले चलचित्रले बादी समुदायबारे रहेको गलत धारणालाई सुधार्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

चलचित्रमा कलाकार रवीन्द्रसिंह बानियाँले नकारात्मक भूमिकामा अभिनय गर्नुभएको छ । उहाँले समाजमा विद्यमान शोषण र असमानताको चित्रण गर्न चलचित्रले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँका अनुसार चलचित्रले एक आमाको संघर्ष र ममताको कथा प्रस्तुत गरेको छ ।

अभिनेत्री स्वस्तिमा खड्काले आफ्नो भूमिकाका लागि बर्दिया पुगेर अध्ययन तथा स्थानीयसँग अन्तरक्रिया गरेको सुनाउनुभयो । उहाँले चलचित्रलाई आफ्नो करिअरको सम्झनलायक कृतिका रूपमा लिनुभएको छ ।

यसै चलचित्रमार्फत कलाकार विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गर्नुभएको छ । थियटरबाट आउनुभएका विशालले स्वस्तिमा जस्ता अनुभवी कलाकारसँग काम गर्ने अवसरलाई सिकाइको रूपमा लिएको बताउनुभयो भने प्रशंसाले कार्यशाला र टिमको सहयोगले अभिनयमा सहजता भएको सुनाउनुभयो ।