विशाल ग्रुप प्रकरण : आफ्ना कर्तुत लुकाउन सबै आधिकारिक वेबसाइट नै बन्द

काठमाडौं । व्यापारिक घराना विशाल ग्रुपको जनता ठग्ने अनेकौं धन्दा र भारतीय नागरिक रोनक बोथ्राको विशाल ग्रुपसँगको सम्बन्धका विषयमा हामीले लगातार प्रमाणित समाचार सम्प्रेषण गरेपछि विशाल ग्रुपले आफ्नो आधिकारिक वेबसाइट विशाल गु्रप डटकम नै बन्द गरेको छ । विशाल गु्रपबारे जानकारी दिने अन्य वेबसाइट पनि बन्द भएका छन् । यसअघि ब्रोथा र अमेजन डिस्ट्रिब्युटर्सका स्टाफको फेसबुक एकाउण्ट डिलिट गरिएको थियो । आफ्नो कर्तुतहरू लुकाउन एकपछि अर्को सतर्कता अपनाउँदै विशाल ग्रुप सम्बन्ध पक्ष अघि बढेको देखिन्छ । 

म्याद नाघेका चक्लेट, फुड सप्लिमेन्ट, पौष्टिक आहार, बिस्कुट लगायतमा नयाँ लेबल लगाएर बजारमा पठाइरहेको आयान डिस्ट्रिब्युटर्स, अमेजन डिस्ट्रिब्युटर्स र युनाइटेड डिस्ट्रिब्युटर्स नेपालसँग विशाल ग्रुपको सम्बन्ध पुष्टि हुने जानकारी भएका सामाजिक सञ्जाल र वेबसाइट सबै बन्द गरिएका छन् । अमेजन डिस्ट्रिब्युटर्सको म्यानेजिङ डाइरेक्टर्स जितु अग्रवालको पनि लिंक्डइन र फेसबुक अकाउण्ट डिएक्टिभ गरिएको छ । यस्तै, अन्य सम्बन्धितको पनि बन्द गरिएको छ ।

विशाल ग्रुप स्रोतका अनुसार आधिकारिक वेबसाइटबाट सम्पूर्ण सूचना प्रवाह भएको भन्दै डाउन गर्न लगाएको बुझिएको छ । स्रोतका अनुसार नेपाल गुणस्तर तथा नापतौल विभागबाट पनि विशाल ग्रुपका विभिन्न कम्पनीलाई कारबाही गरिएको जानकारी बाहिर गएको, यो समूह र हालै कारबाहीमा परेका अन्य डिस्ट्रिब्युटर्सबीचको सम्बन्धका सूचना पनि वेबसाइटमार्फत आम सर्वसाधारणबीच फैलिरहेकाले वेबसाइट बन्द गर्न लगाइएको हो । 

सम्बन्धित पक्षले भने असहमति जनाउँदै वेबसाइट मर्मतको प्रक्रियामा रहेकाले हाल बन्द भएको हुन सक्ने बताएको छ । जिल्ला प्रशासन कार्यालय, वाणिज्य विभाग र महानगरीय अपराध महाशाखाको टोलीले १५ असोजमा विशाल गु्रपको अमेजन र आयान डिस्ट्रिब्युटर्सको गोदाममा छापा मार्दा ओरियो बिस्कुट, स्निकर्स र मार्स चक्लेट, ट्याङ जुस, बर्नभिटालगायत म्याद सकिएका सामग्रीमा नयाँ लेबल लगाएर बजारमा पठाउँदै गरेको फेला पारेको थियो । आइतबार विशाल ग्रुपले विज्ञप्ति जारी गर्दै आयान डिस्ट्रिब्युटर्स र युनाइटेड डिस्ट्रिब्युटर्स नेपालसँग आफ्नो कुनै सम्बन्ध नरहेको भन्दै विज्ञप्ति जारी गरेको थियो । तर, वेबसाइटमा रहेका विभिन्न जानकारीबाट यी कम्पनीबीचको सम्बन्ध पुष्टि हुने भएपछि यतिवेला वेबसाइट नै बन्द गरिएको छ ।

विशाल ग्रुपले म्याद ग्रुजिएका वस्तुमा पुनः म्याद थप गरी बजारमा पठाएर आम उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको छ । यतिबेला आफ्नो ठगी धन्दाको पर्दाफास भएपछि यसको बचाउमा लागेको विशाल ग्रुपले राजनीतिक पहुँचका आधारमा पनि अनेक चलखेल गरिरहेको बुझिएको छ । 

खाद्यवस्तुका नाममा मन्द विष : स्वास्थ्यकर्मी

हामीले खाएको खाद्यवस्तुले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष असर पार्दछ । त्यही खाद्यवस्तु गुणस्तरहीन भएमा हाम्रो शारीरिक अवस्था बिग्रन जान्छ । बालबालिकादेखि वृद्धसम्मले उपयोग गरिरहेका बजारमा नाम चलेका बोर्नभिटा, हरलिक्स, ओरियो बिस्कुट, स्निकर्स र मार्स जस्ता चक्लेट, प्रिंगल्स चिप्स, ट्याङलगायत खाद्यवस्तुको म्याद सकिएपछि पुनः लेवलिङ गरी बजारमा पठाउँदै गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो भने केही बजारमा पनि गइसकेका छन् । यस्तो निकृष्ट कार्य गर्ने व्यावसायिक घराना विशाल ग्रुपसँग जोडिएका आयान डिस्ट्रिब्युटर्स र अमेजन डिस्ट्रिब्युटर्स हुन् । यो कम्पनीका म्याद गुज्रिएका र पुनः म्याद थप गरी बजारमा पठाइएका सामग्रीहरू छ्यापछ्याप्ती रहेको स्रोतले दाबी गर्छ । म्याद गुज्रिएका सामग्रीले स्वास्थ्यमा गम्भीर असर पार्ने चिकित्सकहरू बताउँछन् । चिकित्सकको भनाइमा यस्ता सामग्री मन्द विष जस्तै हुन् । ‘म्याद नाघेका यस्ता सामग्रीले मन्द विषको जस्तो काम गरिरहेका हुन्छन् । यिनको उपभोगबाट सम्पूर्ण स्वास्थ्यमा त असर पर्छ नै, खासगरी कलेजोमा क्षति पु-याउँछ ।’ चिकित्सकको भनाइ छ । डा. प्रकाश पौडेलका अनुसार कतिपय यस्ता खानेकुरामा विभिन्न रसायनिक पदार्थ मिसाइएको हुन्छ । म्याद सकिएपछि त्यसमा भएको रसायन विषालु बन्दै जान्छ र खाएमा शरीरलाई हानि पु-याउँछ ।

म्याद ग्रुजिएका सामग्री बजारमा पठाएर आम उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलाबाड गरिएको छ । सचेत उपभोक्ताले त समाचार सार्वजनिक भएपछि यस्ता सामग्रीको उपभोग नगर्लान् तर अन्य उपभोक्ता भने यस्ता सामग्रीको प्रयोग गर्न बाध्य छन् । सम्बन्धित निकायले समयमै तदारूकता देखाइ यस्ता सामग्री बजारबाट फिर्ता ल्याउनु पर्दछ । यस्तै, म्याद नाघेका वस्तु बजारमा पठाउनेलाई कडा कारबाही हुनुपर्ने उपभोक्त अधिकारवादीकर्मी बताउँछन् ।