काठमाडौं := यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लालीबजार’ को रिलिज रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । बादी समुदायका केही अभियन्ताले उक्त चलचित्रविरुद्ध रिट हालेका थिए । उच्च अदालतले अगामी २२ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । त्यतिन्जेलसम्म चलचित्र प्रदर्शन नगर्न आदेश गरिएको हो । अदालतको आदेशपछि चलचित्र शुक्रबार प्रदर्शनमा नआउने भएको छ ।
उच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले २२ गतेको छलफलपछि चलचित्रबारे निर्णय हुने बताउनुभयो। याम थापा निर्देशित यो चलचित्र बादी महिलाको कथामा आधारित रहेको छ । चलचित्रको ट्रेलर सार्वजनिक भएपछि केही बादी अभियन्ताहरूले विरोध जनाएका थिए । चलचित्रले बादी समूदायलाई बदनाम गर्न खोजेको उनीहरूरुको आरोप छ । ‘लालीबजार नाममाथि पनि उनीहरूले आपत्ति जनाएका छन् ।
चलचित्र निर्माण कम्पनी षट्कोण आर्ट्सको नयाँ प्रस्तुति ‘लालीबजार’ हो । ‘टल्क जंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल चलचित्र निर्माण गरिसकेको उक्त कम्पनीले यसपटक बादी समुदायको पृष्ठभूमिमा आधारित कथा दर्शकमाझ ल्याउन लागेको हो ।अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेको यस चलचित्रको सार्वजनिक पोष्टर, ट्रेलर तथा गीतसंगीतले दर्शकको ध्यान आकर्षित गरिसकेको छ ।
गर्भवती महिलाको भावनात्मक चित्रण गरिएको पोष्टरले नै चलचित्रको कथावस्तुको संकेत दिएको थियो । चलचित्रमा स्वस्तिमाले ‘मधुवाला’ नामक बादी महिलाको भूमिका निर्वाह गर्नुभएको छ, जसलाई उहाँले आफ्नो अभिनय यात्राको ‘टर्निङ प्वाइन्ट’ मान्नुभएको छ ।चलचित्रमा ‘मायालाई के दिउँ म बैना’ गीत अहिले सामाजिक सञ्जालमा लोकप्रिय बनेको छ भने ‘मिठो संसार’ र ‘मै राम्री छु त नी’ गीतले दर्शकको मन जितेको छ ।
यसअघि षट्कोण आर्ट्सका अधिकांश चलचित्र निर्देशन गर्दै आउनुभएका प्रदीप भट्टराई यसपटक कार्यकारी निर्माता तथा पटकथाकारको भूमिकामा हुनुहुन्छ भने निर्देशनको जिम्मेवारी यम थापाले सम्हाल्नुभएको छ । चलचित्रको कथा पनि निर्देशक थापाकै हो जसलाई उहाँले बादी समुदायको वास्तविक परिवेशमा आधारित बनाएर प्रस्तुत गर्नुभएको छ ।चलचित्रको कथा विकासका क्रममा निर्माण टिमले बर्दिया पुगेर अनुसन्धान गरेको जनाएको छ ।
बादी समुदायसँग सम्बन्धित विषय भएकाले पटकथा तयार गर्दा विशेष संवेदनशीलता अपनाइएको निर्माण पक्षको भनाइ छ । निर्माता म्याक्स दीपेश खत्रीका अनुसार ‘लालीबजार’ विषयवस्तुका हिसाबले कम्पनीका अहिलेसम्मका उत्कृष्ट चलचित्रमध्ये एक हो। कार्यकारी निर्माता प्रदीप भट्टराईले नेपाली दर्शकलाई फरक र यथार्थपरक कथा दिन आफूहरूले गहन अध्ययन र मिहिनेत गरेको जिकिर गर्नुभयो । उहाँले चलचित्रले बादी समुदायबारे रहेको गलत धारणालाई सुधार्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
चलचित्रमा कलाकार रवीन्द्रसिंह बानियाँले नकारात्मक भूमिकामा अभिनय गर्नुभएको छ । उहाँले समाजमा विद्यमान शोषण र असमानताको चित्रण गर्न चलचित्रले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँका अनुसार चलचित्रले एक आमाको संघर्ष र ममताको कथा प्रस्तुत गरेको छ। अभिनेत्री स्वस्तिमा खड्काले आफ्नो भूमिकाका लागि बर्दिया पुगेर अध्ययन तथा स्थानीयसँग अन्तर्क्रिया गरेको सुनाउनुभयो ।
उहाँले चलचित्रलाई आफ्नो करिअरको सम्झनलायक कृतिका रूपमा लिनुभएको छ । यसै चलचित्रमार्फत कलाकार विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गर्नुभएको छ । थियटरबाट आउनुभएका विशालले स्वस्तिमा जस्ता अनुभवी कलाकारसँग काम गर्ने अवसरलाई सिकाइको रूपमा लिएको बताउनुभयो भने प्रशंसाले कार्यशाला र टिमको सहयोगले अभिनयमा सहजता भएको सुनाउनुभयो ।



















