बलात्कारीलाई मृत्युदण्ड दिन महिला सांसदहरूको माग

काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका महिला सांसदहरूले बलात्कारका दोषीलाई मृत्युदण्ड दिने कानुन बनाउनका लागि पहल गर्नुपर्ने बताएका छन् । उनीहरू बलात्कारीलाई कडाभन्दा कडा सजायको माग गरेका छन् । 

सोमबार भएको महिला सांसदहरूको भेलाले बलात्कारीलाई कडाभन्दा कडा सजायको व्यवस्था गर्न कानुन बनाउन लबिङ गर्ने निर्णय गरेको छ । उनीहरूले संविधानमै संशोधन गरी १६ वर्षभन्दा मुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्डको व्यवस्था गर्न माग गरेका छन् ।

भेलाका सहभागी महिला सांसदले १६ वर्षभन्दा मुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिन र जुनसुकै बलात्कारका घटनाका दोषीको लिंगछेदन गर्न सुझाव दिएको हो ।

भेलाले सत्तारुढ दल नेकपाकी सांसद बिन्दा पाण्डेको संयोजकत्वमा सात सदस्यीय सुझाव समिति गठन गरेको छ । समितिमा नेकपाकै शान्ता चौधरी, नेपाली कांग्रेसकी पुष्षा भुसाल, जसपाकी प्रमिलाकुमारी यादव, नेकपाकी निरुदेवी पाल, नेकपाकै पार्वती थापा र नेपाली कांग्रेसकी लक्ष्मी परियार हुनुहुन्छ ।