विषाक्त स्यानिटाइजरको बिगबिगी, थप ९ वटा स्यानिटाइजर प्रतिबन्धित

काठमाडौं । औषधि व्यवस्था विभागले भारतीय र नेपाली कम्पनीले उत्पादन गरेका थप ९ वटा हृयाण्ड स्यानिटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाएको छ । विभागले बजारमा रहेका हृयाण्ड स्यानिटाइजरको नमुना संकलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्याण्ट हृयाण्ड स्यानिटाइजरसम्बन्धी स्तर २०७६’ विपरित विषाक्त रसायन मिथानोल भेटिएपछि प्रतिबन्ध लगााएको हो । 

भारतीय कम्पनी सिभिका कस्मेक्युटिकल्स लिमिटेड उत्तराखण्डको हर्बल ट्रि हृयाण्ड रबमा ६२ प्रतिशत मिथानेल, आर केमिकल एण्ड प्याकेजिङ इण्डस्ट्रिज पर्साको रिप्याक गरिएका कुम हृयाण्ड स्यानिटाइजर र क्लिन हृयाण्ड स्यानिटाइजर, कुमकुम हर्बल इण्डस्ट्रिज बनेपाका कुमकुम इन्स्ट्याण्ट हृयाण्ड स्यानिटाइजर र इन्स्ट्याण्ट हृयाण्ड स्यानिटाइजरमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने मिथानोल र इथानोलको मिसावट रहेका पाइएको विभागले जनाएको छ ।

त्यस्तै ओम आरोग्य हेल्थकेयर प्रालि इमाडोल ललितपुरको इन्स्ट्याण्ट हृयाण्ड स्यानिटाइजर, साधना सप्लायर्स काठमाडांैको साधना इन्स्ट्याण्ट हृयाण्ड स्यानिटाइजर र कालिका सोप एण्ड केमिकल इण्डष्ट्रिजका ड्रोन हृयाण्ड स्यानिटाइजर र रंगबिनाका दुई स्यानिटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाइएको विभागले जानकारी दिएको छ । विभागले प्रतिबन्धित उद्योग तथा कम्पनीका उत्पादन प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गर्दै तत्काल बजारमा बिक्री वितरणमा रोक लगाउन र बजारबाट फिर्ता लैजान निर्देशनसमेत दिएको छ । यसअघि पनि विभागले गुणस्तरहीन भारत, चीन तथा नेपाली उद्योगले उत्पादन गरेका चारवटा स्यानिटाइजरमा प्रतिबन्ध लगाइसकेको छ ।

विभागले ओपेकल नन वासिङ एन्टिव्यक्ट्रेरियल सोलुसन्स, सासा इन्स्टयान्ट हृयाण्ड स्यानिटाइजर, पामाकेयर इन्स्टयान्ट स्यानिटाइजर र युनिकेयर इन्स्टयान्ट हृयाण्ड स्यानिटाइजर बिक्रीमा प्रतिवन्ध लगाएको हो । उल्लिखित स्यानिटाइजर उत्पादक कम्पनीहरूमा क्रमशः चीनको गुवांजु ओवोपेकल फाइन केमिकल कम्पनी, ललित इमाडोलको सम्पदा हेल्थ केयर, भारतको आरएल क्रप इण्डिया र काठमाडौंको श्रीनाथ हर्वल एण्ड कस्मेटिक इन्डष्टिजले उत्पादन गरेका हुन् ।

मिथानोल रसायन मानिसमा स्वास प्रस्वास, मुख, छाला र आँखाको माध्यमबाट शरीरमा प्रवेश गरी नकारात्मक असर पुरयाउनछ । खोकी लाग्ने, टाउको दुख्ने, रिंगटा लाग्ने, वाकावाकी भई वान्ता हुने, कमजोरी हुने । स्वास फेर्न अप्ठयारो हुने, छाला सुख्खा तथा रातो हुने, दृष्टि धुमिल भई दृष्टि गुम्न सक्ने र मानिसको मृत्यसमेत हुनसक्ने भन्दै विभागले सचेत गराएको छ । 

सामान्यतया मिथानोलको प्रयोग प्रयोशालाहरूमा विभिन्न परीक्षण, विश्लेषण तथा अनुसन्धानका लागि प्रयोग हुन्छ । मिथानोल मिसावट गरी रक्सीजन्य पेय पदार्थको सेवनले गर्दा विभिन्न देशमा मानिसहरूको ज्यानसमेत गएको छ । हाल नेपालमा मिथानोल समावेश भएको हृयाण्ड स्यानिटाइजरको बाहुल्यता देखिएको भन्दै विभागले हानिकारण रसायन मिसावट गरिएका स्यानिटाइजर खरिद नगर्न उपभोक्तालाई सचेत गराएको छ । 

कोरोनाको संक्रमण बढेसँग स्यानिटाइजरको कालोबजारी पनि बढेको छ । वाणिज्य, आपूर्ति तथा उभपोक्ता संरक्षण विभागले अनुगमनका क्रममा ८ सय रुपैयाँ पर्ने हृयाण्ड स्यानिटाइजरलाई ११ सय रुपैयाँसम्ममा बिक्री गरेको पाइए पनि कारबाही गरेको थियो । 

यसैबीच विभागले सोमबार तरकारी पसलहरूमा अनुगमन गरी ५७ हजार रुपैयाँ जरिवाना गरेको छ । काठमाडौं महानगरपालिका १ स्थित चन्दै भेजिटेवल सप्लार्यलाई १५ हजार, रूपेश शाहलाई ५ हजार, कलवार आलु प्याज भण्डारलाई ५ हजार, अमन आलु प्याज भण्डारलाई १५ हजार, मोती दुवाललाई १ हजार, विजी इन्टर प्राइजेजलाई १५ हजार र स्वादिष्ट अचार तरकारी तथा फलफूललाई १ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ । त्यस्तै आइतबार पनि अनुगमन गरी काठमाडौं महानगरपालिका १ स्थित ईश्वरी तरकारी पसललाई १० हजार र काठमाडौं महानगरपालिका ११ स्थित साहिल सर्जिकल सप्लायर्सलाई ५० हजार रुपैयाँ जरिवाना गरेको थियो ।