ज्योति ग्रुपका सञ्चालकबीचको विवाद उत्कर्षमा, दाजुभाइको झगडाले कम्पनीका गैरकानुनी काम बाहिरिँदै

काठमाडौं । नेपालका ठूला औद्योगिक घरानाहरू पछिल्लो समय विभिन्न किसिमका विवादमा तानिने क्रम जारी छ । शंकर ग्रुपको विवाद उत्कर्षमा पुगिरहेकै बेला अर्को ठूलो उद्योगी घरना ज्योति ग्रुपभित्र पनि विवादमा मुछिएको छ । यी ग्रुपहरूले आफ्ना कम्पनीमार्फत गरेका अनियमितता फेहरिस्तहरू पछिल्ला दिनहरूमा सार्वजनिक भइरहेका छन् । घरभित्रको विवाद बढ्दै जाँदा ज्योति गु्रपका अन्य गैरकानुनी कामहरू पनि सतहमा आउने क्रम जारी छ ।

अहिले ज्योति समूहभित्र सम्पत्ति बाँडफाँट र कम्पनीहरूमाथिको नेतृत्वको विषयमा विवाद देखिएको छ । सोही विषयमा कुरा नमिल्दा सञ्चालक दाजुभाइबीचको युद्ध उत्कर्षमा पुगेको छ । जसका कारण भाइ रुप ज्योतिले समेत आफूलाई गु्रपको अध्यक्षको रूपमा घोषणा गरेका छन् । बाबु मणिहर्षले सुरु गर्नुभएको उक्त औद्योगिक साम्राज्यको विरासतलाई जेठा छोरा पद्म ज्योतिले विगत २७ वर्षदेखि चलाउँदै आएका थिए । तर सम्पत्ति बाँडफाँडमा कुरा नमिल्दा भाइ रुप ज्योतिले दाजुलाई अध्यक्ष पदबाट हटाएर हाल आफू अध्यक्ष भएको दाबी गरेका छन् ।  

तर, दाजु पद्मले भने कानुनविपरीत भाइले अध्यक्ष पदबाट हटाएर आफू अध्यक्ष बनेको घोषणा गरेको आरोप लगाएका छन् । यता, रुप ज्योतिले भने कानुनका दफा उद्धृत गर्दै नियमसंगत ढंगले हटाएर आफू अध्यक्ष बनेको दाबी गरेका छन् । रुप ज्योतिले गत भदौ २९ गते केही राष्ट्रिय दैनिकमा विज्ञापन छपाएर आफू अध्यक्ष भएको घोषणा गरेपछि ज्योति ग्रुपको विवाद सतहमा आएको हो । विज्ञापनमार्फत रुप ज्योतिलाई अध्यक्ष निर्वाचित भएको जनाएपछि उक्त व्यापारिक संस्थामा तरंग उत्पन्न भएको थियो । अध्यक्षलाई जानकारी नै नदिई भाइले आफू अध्यक्ष भएको घोषणा गरेपछि ज्योति ग्रुपको घरझगडा छताछुल्ल भएको हो । 

दुई दाजुभाइबीचको झगडा र आरोप–प्रत्यारोपले ग्रुपका गैरकानुनी कामहरूसमेत छताछुल्ल हुन थालेका छन् । कमाउनकै लागि आफूहरूसँग अरु बिजनेश भएकाले अस्पताल समाजसेवाका लागि खोलिएको भन्ने दाबी गर्ने सो गु्रपका सञ्चालक अस्पताल विवादमा परेपछि मौनव्रतमा छन् । सोही गु्रपबाट काठमाडौंको मुटु कान्तिपथस्थित ज्योति भवनमा सञ्चालित ग्रान्डी सिटी क्लिनिक एन्ड हस्पिटल प्रा.लि. नै विवादमा मुछिएपछि तँै चुप मैँ चुपको स्थितिमा पुगेका हुन् । अस्पतालको विवादका सम्बन्धमा उनीहरूले कुनै प्रतिक्रिया दिएका छैनन् । तर उदेकलाग्दो कुरा त के छ भने अस्पताल दर्तामै प्रश्न उठिरहँदा समेत सरकारी निकायबाट अहिलेसम्म छानबिन प्रक्रिया अघि बढेको छैन ।

यसमा अझ रमाइलो कुरा त के छ भने, अस्पतालको विवाद बाहिरबाट नभई दाइ पद्म ज्योतिमार्फत नै बाहिरिएको हो । पद्म ज्योतिले बलजफती आफ्नो सम्पत्ति हडपेको र अस्पतालसमेत अवैधानिक रूपमा सञ्चालन भएको उनले दाबी गरेका छन् । उनले भनेजस्तै ग्राण्डी सिटी हस्पिटल रहेको भवनले भवन विभागबाट दर्ता प्रमाण लिएको छैन । निरन्तर विवादमा रहेको यो विषय अदालतमासमेत गएको छ ।

दुई सय बेडभन्दा माथिको अस्पताल सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग वा क्षेत्रीय निर्देशनालयले स्वीकृति दिनुपर्ने कानुनी प्रावधान छ । हाल ग्रान्डी सिटी क्लिनिक एन्ड हस्पिटल प्रा.लि. कति बेडमा सञ्चालित छ र कहाँबाट स्वीकृति लिएको छ भन्ने जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग पनि छैन । 

यता, ग्रान्डी सिटी अस्पतालका तर्फबाट भने एक विज्ञप्ति जारी गर्दै आफू पूर्णतः कानुनसम्मत तरिकाले सञ्चालनमा रहेको र पद्म ज्योतिको गलत प्रचारबाजीमा नलाग्न सरोकारवाला सबैमा आग्रह गरिएको छ । विज्ञप्तिमा पद्म ज्योति, सौरभ ज्योति, सुहृद ज्योतिलाई फलाम पाता, प्लाइउड लगाई ढोका बन्द गर्नेजस्ता काम गर्दै अस्पताल प्रवेशमा रोक लगाउने तथा कर्मचारीलाई धम्क्याउनेजस्ता काम बन्द गर्नसमेत आग्रह गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष र राष्ट्रिय व्यावसायिक पहल (एनबीआई)का समेत पूर्वअध्यक्ष रहेका पद्म ज्योतिको परिवारभित्रको सम्पत्ति बाँडफाँडको विवाद प्रहरीकहाँसमेत पुगेर छताछुल्ल भएको छ । महानगरीय प्रहरी परिसरको अपराध महाशाखाले ज्योति परिवारको विवाद आएको भए पनि त्यहाँबाट परिवारभित्रै मिलाउन सुझाव दिएको थियो ।

उनीहरूबीचको विवाद अहिले स्थानीय प्रशासनदेखि अदालतसम्म पुगेको छ । कहिले दाइलाई पक्राउ गर्न भन्दै भाइ त कहिले भाइलाई पक्राउ गर्ने भन्दै दाइ प्रहरी कार्यालय धाउने गरेका समाचार यसअघि पनि बाहिर आइसकेका छन् ।

ज्योति ग्रुपको स्थापना पद्म र रुप ज्योतिका पिता मणिहर्ष ज्योतिले सन् १९४० मा गर्नुभएको थियो । यो ग्रुपकाअन्तर्गत एक दर्जनभन्दा बढी कम्पनी तथा उद्योग छन् । सो ग्रुपमा तीन दाजुबहिनी पद्म ज्योति, रूप ज्योति र बहिनी कमला कंसाकार सञ्चालक छन् । 

हिमाल स्टिल, जय स्पिनिङ, ज्योति यार्न, हिमाल अक्सिजन सञ्चालनमा छ भने, हिमालयन बैंक, लुम्बिनी विकास बैंक, सगरमाथा इन्स्योरेन्स, ग्रान्डी हस्पिटल तथा बुटवल पावरमा पनि सेयर लगानी छ । यसबाहेक होन्डा मोटरसाइकल र गाडी तथा हिरो मोटरसाइकलको डिलर पनि ज्योति ग्रुपअन्तर्गत नै छ । होन्डाको कारोबार पद्म ज्योतिका छोरा सौरभले हेर्छन् भने हिरोको कारोबार रुप ज्योतिका छोरा अभिक ज्योतिले हेर्छन् । 

हिरो कम्पनीले केही समय अगाडि सार्वजनिक गरेको विज्ञापन पनि जनता झुक्याउने र ठगी गर्ने खालको थियो । जसको विषयमा हिमालय टाइम्सले पनि समाचार प्रकाशन गरेका थियो । जसमा उपभोक्ताले नै गुनासो गरेपछि हामीले विज्ञापनका बारेमा बुझ्न खोज्दा कम्पनीबाटै दोहोरो जवाफ आएको थियो । जुन विज्ञापनप्रति कम्पनीले अझै प्रस्ट पारेको छैन । जसमा सरोकारवाला निकायले समेत आपत्ति प्रकट गरेका थिए । 

यसअघि पनि ल्यान्डमार्कको विवादले यो ग्रुपका अध्यक्ष पद्म ज्योतिलाई लेनदेन प्रकरणमा पक्राउ पुर्जी जारी गरिएको थियो । रूप ज्योति गत वर्ष कात्तिक २१ गते त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ परेका थिए । उनलाई हिरासतमा अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट दुई पटक म्याद थपेको थियो । सोही मुद्दामा रूप ज्योतिकी छोरी सुरुचि पनि पक्राउ परेकी थिइन् ।

यस कम्पनीको इतिहास कोट्याउँदै जाने हो भने यस्ता कैयौं उदाहरणहरू छन्, जुन बेलाबखत बाहिर आउँदै फेरि सामसुम पारिँदै आएका थिए । तर, यसपटक दाजुभाइको झगडाका कारण पुराना विवादसमेत फेरि एकपटक ब्युँतिन पुगेका छन् ।