नुवाकोट । नुवाकोटमा पत्रकारमाथि कुटपिट भएको छ । नेपाल पत्रकार महासंघका सदस्य एवं हिमालय टाइम्सका जिल्ला संवाददाता शिव देवकोटामाथि कुटपिट भएको हो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनालसहितको टोलीले आफूमाथि कुटपिट गरेको पत्रकार देवकोटाको आरोप छ ।
महासंघको सदस्यता वितरणको प्रसंगमा आफ्नो धारणा राख्दा अध्यक्ष खनाल आफूमाथि एक्कासी जाइलागेको देवकोटाको भनाइ छ । सँगै बसेर खाजा खाइरहेको अवस्थामा खनालले कुटपिट गरेसँगै अन्यले पनि आफूमाथि कुटपिट गरेको देवकोटाले बताउनुभयो । उहाँले आफूमाथि नौ जना मिलेर कुटपिट गरेको बताउनुभएको छ ।
कुटपिटबाट देवकोटाको दाहिने करङमा गम्भीर चोट लागेको छ । उहाँको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । घटनाका दोषीमाथि कारबाहीको माग गर्दै देवकोटाका दाजुले खनालसहितका घटनामा संलग्न व्यक्तिहरूमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय विदुरमा उजुरी दिनुभएको छ ।
यसैबीच, नेपाल प्रेस युनियन नुवाकोटले देवकोटामाथि विदुरस्थित सुखद् पाउना घर (होटल)मा भएको सांघातिक आक्रमणको घोर भत्र्सना गरेको छ । युनियनका अध्यक्ष नमराज सुवेदीले मंगलबार एक विज्ञप्ति जारी गर्दै लामो समयदेखि पत्रकार महासंघ नुवाकोटमा देखिएको पत्रकार सदस्यतासम्बन्धी विवादमा गैरपत्रकारहरूको सदस्यता खारेजीको लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएका पत्रकार देवकोटामाथि भएको घटनामा संलग्नहरूलाई तत्काल कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारवाहीको माग गर्नुभएको छ । विज्ञप्तिमा महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, सचिव जगदीश खनाल, सदस्य सुजित भण्डारीलगायतका व्यक्तिबाट भएको आक्रमणको घटना निन्दनीय भएको उल्लेख छ ।
उक्त घटनामा निज आक्रमणकारीलाई उक्साहट गरेको भन्दै तादी गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डेको भूमिकाको पनि भत्र्सना गरिएको छ । देवकोटा नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय सदस्य तथा नेपाल ट्रेड युनियन कांग्रेस नुवाकोट जिल्ला अध्यक्ष हुनुहुन्छ । हिमालय टाइम्स् संवाददातामाथि भएको कुटपिटको निन्दा गर्दै तत्काल दोषीमाथि कार्वाही गर्न नेपाल प्रेस युनियन हिमालय टाइम्स प्रतिष्ठानले माग गरेको छ ।




















