चितवनका होटल खुल्ने तयारीमा

चितवन । गत चैत ११ गतेदेखि सुरु भएको लकडाउनले बन्द रहेका चितवन सौराहाका होटल तथा रेष्टुरेन्टहरू खोल्ने तयारी गरिएको छ । व्यवसायीहरूले कोभिड–१९ संक्रमणको जोखिम न्यूनीकरण गरी होटल सञ्चालन गर्नका लागि आन्तरिक तयारी भइरहेको बताएका छन् । 

 नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले गत चैत ११ गतेयता लकडाउन गर्दै आएको थियो । पछिल्लो समय लकडाउन हटाइएपछि आन्तरिक उडान र बाह्य उडानसमेत सुचारु भएका छन् । जसका कारण पर्यटकीय क्षेत्रहरू सञ्चालनमा आउने भएका हुन् । चितवनको सौराहा पनि देशको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो । त्यसैले यहाँका होटल व्यवसायीहरूले कोभिड–१९ संक्रमण रोकथामका लागि मापदण्ड पूरा गरी होटल सञ्चालन गर्ने तयारी गरिरहेका छन् । लामो समय बन्द भएकाले सरसफाइ र मर्मत गरेर होटल तथा रेष्टुरेन्ट सञ्चालनमा ल्याउन ५ देखि २० लाख रुपैयाँ थप लगानी गर्नुपर्ने अवस्था रहेको क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष दीपक भट्टराईले बताउनुभयो । तत्काल पर्यटकहरू आउने सम्भावना नभए पनि सबै मापदण्ड पूरा गरेर होटल सुचारु गर्न लागिएको उहाँले बताउनुभयो । चितवनको पर्यटन व्यवसाय पुरानै अवस्थामा फर्किन अझै दुई बर्ष लाग्ने समेत भट्टराईको भनाइ छ ।   

बाह्य पर्यटक तत्काल आउने सम्भावना नरहेको र चाडपर्व नजिकिँदै गरेकोले केही आन्तरिक पर्यटक आउने आशामा सौराहाका व्यवसायी रहेका छन् । व्यवसायीहरूलाई सरकारले उपेक्षा गरेको उनीहरूको बुझाइ छ । सरकारले पुनर्कर्जा दिने बताए पनि त्यसको कार्यान्वयन नहुँदा होटल सञ्चालन गर्न चालु पूँजीको अभाव भएको पनि व्यवसायीहरूले बताएका छन् । होटल व्यवसायी ध्रुव गिरीले लामो समय बन्द भएका होटलको सरसफाइ गर्ने, मर्मत गर्ने काममा आफुहरू व्यस्त रहेको बताउनुभयो । उहाँले होटल सुचारु गर्नका लागि कर्मचारीहरूलाई १५÷१५ दिन गरी मासिक दुई सिफ्टमा काम लगाउने योजना बनाएको समेत बताउनुभयो ।

चितवनको सौराहामा करिब २०० को संख्यामा होटल तथा रेष्टुरेन्टहरू रहेका छन् । त्यस्तै पाँच हजार पाँच सय जनाले प्रत्यक्ष रोजगारी पाउँदै आएका छन् । सौराहा क्षेत्रका होटल तथा रेष्टुरेन्टहरू पूर्ण रूपमा पर्यटनमा आधारित छन् । कोभिडका कारण तत्काल बाह्य पर्यटक आउन नसक्ने भए पनि आन्तरिक पर्यटक आउने झिनो आशाले होटल रेष्टुरेन्ट सुचारु गर्न लागिएको व्यवसायीहरू बताउँछन् ।