क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले विदेशी श्रमिकबाट संकलन हुने लेभी (Levy) रकमलाई छुट्टै ट्रस्ट फन्डमा जम्मा गरी उद्योग तथा कम्पनीहरूमा स्वचालन (Automation) र यान्त्रीकरण (Mechanisation) प्रवर्द्धन गर्ने योजना अघि सारेको छ।
यस योजनाले भविष्यमा मलेसियामा कार्यरत नेपाली सहित विदेशी श्रमिकको रोजगारीका अवसरमा प्रभाव पार्न सक्ने देखिएको छ। मलेसियाको १३औँ राष्ट्रिय विकास योजना (२०२६–२०३०) अन्तर्गत अघि सारिएको यो योजनाको मुख्य उद्देश्य विदेशी श्रमिकमाथिको निर्भरता क्रमशः घटाउँदै स्थानीय श्रमिकको सहभागिता बढाउनु हो।
योजनाअनुसार सन् २०२६ देखि विदेशी श्रमिकका लागि बहुस्तरीय लेभी प्रणाली (Multi-Tier Levy Mechanism–MTLM) लागू गर्ने लक्ष्य राखिएको छ। प्रस्तावित प्रणालीमा विदेशी श्रमिक माथि बढी निर्भर रहेका कम्पनीले तुलनात्मक रूपमा बढी लेभी तिर्नुपर्ने व्यवस्था हुनेछ। त्यसरी संकलन हुने रकम छुट्टै कोषमा जम्मा गरी उद्योग क्षेत्रमा आधुनिक प्रविधि, मेसिनरी तथा स्वचालन प्रणाली विस्तार गर्न प्रयोग गर्ने अवधारणा अघि सारिएको छ।
मलेसियाको अर्थ मन्त्रालयले सार्वजनिक गरेको १३औँ राष्ट्रिय विकास योजनामा सन् २०३० सम्म कुल श्रमशक्तिमा विदेशी श्रमिकको हिस्सा १० प्रतिशत र सन् २०३५ सम्म ५ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ। हाल कुल श्रमशक्तिमा विदेशी श्रमिकको हिस्सा करिब १५ प्रतिशत रहेको सरकारी योजनामा उल्लेख छ।
यसैबीच, मलेसियाका कोष तथा राजस्व सचिव जनरल जोहान महमुद मेरिकनले अक्टोबर १२ मा विदेशी श्रमिकबाट संकलित लेभीको केही हिस्सा उद्योग तथा व्यवसायमा यान्त्रीकरण र उत्पादकत्व सुधारका लागि प्रयोग गर्ने प्रस्ताव प्रति सरकार सकारात्मक रहेको बताएका थिए।
उनका अनुसार विदेशी श्रमिकमाथिको निर्भरता घटाउने सरकारी लक्ष्यलाई सहयोग पुग्ने गरी लेभी रकमको उपयोग गर्ने विषयमा सरकारले थप अध्ययन गर्न सक्नेछ। यद्यपि, प्रस्तावित कोषको सञ्चालन, रकम वितरण तथा लाभग्राही कम्पनी छनोट सम्बन्धी विस्तृत कार्यविधि सार्वजनिक भइसकेको छैन।
नेपाली श्रमिकको रोजगारीमा कस्तो प्रभाव पर्न सक्छ?
मलेसियामा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत रहेकाले नयाँ लेभी प्रणाली र स्वचाल सम्बन्धी सरकारी नीतिले नेपाली श्रमिकको रोजगारीमा पनि अप्रत्यक्ष प्रभाव पार्न सक्ने देखिन्छ।
विशेषगरी विदेशी श्रमिकमा अत्यधिक निर्भर रहेका उत्पादनमूलक कम्पनीहरूको सञ्चालन लागत बढ्न सक्छ। यसले रोजगारदाता कम्पनीलाई नयाँ विदेशी श्रमिक भर्ना घटाउन, स्थानीय श्रमिकको संख्या बढाउन वा मेसिन तथा आधुनिक प्रविधिको प्रयोग विस्तार गर्न प्रेरित गर्न सक्छ।
यदि उद्योगहरूले क्रमशः मानवीय श्रमको सट्टा मेसिन र स्वचालित प्रविधिको प्रयोग बढाउँदै लगे भने भविष्यमा केही क्षेत्रमा विदेशी श्रमिकको माग घट्न सक्ने सम्भावना रहन्छ। यसको असर नेपाली श्रमिकका लागि उपलब्ध रोजगारीका अवसरमा समेत पर्न सक्छ।
तर लेभी प्रणाली परिवर्तन हुँदैमा श्रमिकले नै थप रकम तिर्नुपर्ने वा हाल मलेसियामा कार्यरत नेपाली श्रमिकको रोजगारी तत्काल समाप्त हुने भन्ने होइन। यसको वास्तविक प्रभाव लेभीको अन्तिम दर, रोजगारदाता माथि पर्ने आर्थिक दायित्व, कार्यान्वयन प्रक्रिया र उद्योगहरूले अपनाउने प्रविधिमा निर्भर रहनेछ।




















