शंकर ग्रुप संकटमा, जगदम्बा अब रहेन ‘देशको मेरुदण्ड’

काठमाडौं । ‘देशको मेरुदण्ड’ भनेर विज्ञापन गर्दै आएको शंकर ग्रुपको जगदम्बा स्टिलका डण्डीको कमजोरी पर्दाफास भइसकेको छ । सबैको मुख–मुखमा झुण्डिने गरी खर्चिलो विज्ञापन गरी आफैँले एक नम्बरको डण्डी घोषणा गरेको यो ग्रुप आफ्नै कारणबाट सरकारको कारबाहीमा परेको हो । उपभोक्तालाई विभिन्न आकर्षक तथा झुटा नारा र आश्वासन दिएर ठगी गर्दै आइरहेको शंकर ग्रुपको लुटधन्दा अहिले पर्दाफास हुने क्रम जारी छ । कम्पनीबाटै कमसल डण्डी बजारमा पठाएर बिक्री गर्दै आएको यो गु्रपको डण्डीको बिक्री देशैभर ५० प्रतिशत घटेको स्वयम् डिलरहरू नै बताउँछन् । 

विज्ञापनकै कारण कुनै बेला सर्वसाधारणको पहिलो रोजाई बन्ने गरेको यो डण्डी अहिले विकल्पको रूपमा प्रयोग भइरहेको छ । यो कम्पनीको एकपछि अर्को गर्दै विभिन्न लुटधन्दा पर्दाफास हुन थालेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसबाट सञ्चालित सबै कम्पनिमाथि एकैपटक छानबिन गर्ने तयारीसमेत गरिरहेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागका अनुसार गुणस्तरहीन भेटिएको १६ एमएमको ‘टिएमटी बार फी ५००’ रड उत्पादनमा रोक लगाएको हो । जगदम्बाले मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर गुणस्तरहीन रड उत्पादन गरेको भेटिएको विभागले प्रस्ट पारिसकेको छ । जसको समाचार ‘हिमालय टाइम्स राष्ट्रिय दैनिक’ ले पनि पटक पटक प्रकाशित गर्दै आइरहेको छ । 

यसअघि सोही ग्रुपका सञ्चालक सुलभ अग्रवालले कोरोना महामारी सुरु हुनै लाग्दा थर्मल गनको कालोबजारी गर्दै सर्वसाधारणलाई ठगी गरेपछि प्रहरी फन्दामा परेका थिए । कानुनी प्रावधानअनुसार भन्सार तिरेर ल्याएका सामानको मात्र व्यापार गर्न पाइन्छ । सामाजिक काममा ल्याइएका भनिएका वस्तुहरूको व्यापारमा भने बन्देज लगाइएको छ । तर, भन्सार कार्यालयको विवरणअनुसार शंकर ग्रुपले तीन हजार थान टेस्ट किट, केही मास्क, पाँच सय थान पिपिइ र १२ सय थान थर्मल गनलाई व्यापारिक प्रयोजनमा देखाएर भन्सार तिरेको थियो । र, बाँकी भने ‘सेटिङ’ मा छिराएर अत्यधिक बढी मूल्यमा बेचेको पाइएको थियो ।

गत बर्षको २५ चैतमा पक्राउ गरी यही बर्षको १८ बैशाखमा साढे २५ लाख धरौटीमा रिहा भएका अग्रवालमाथिको छानबिन प्रक्रिया अझै जारी छ । जगदम्बा स्टिललाई केही वर्षअघि सरकारले कवाडी कच्चापदार्थ प्रयोग गरेर गुणस्तरहीन स्टिल उत्पादन गरेको भन्दै कारबाही पनि गरेको थियो । 

फलामे छडलगायतका निर्माण सामग्रीको उपभोक्ता जगदम्बा ग्रुपले उसका उत्पादन परीक्षणमा गुणस्तरहीन प्रमाणित भएपछि ‘दक्ष प्राविधिकको अभावमा गल्ती भयो’ भनेको छ । र, बजारबाट सामान फिर्ता लगेको छ । कमसल डन्डी पटक–पटक बिक्री गर्छ र गल्ती भयो भन्छ,’ एक उपभोक्ताले भने, ‘यस्ता व्यापारीमाथि नेपालमा कुनै कारबाही हुँदैन, सबै पैसामा बिकेका छन्, सायद शंकर ग्रुप यही विश्वासका साथ निरन्तर उपभोक्तामाथि खेलबाड गरिरहेको छ ।’

फलामको डन्डी उत्पादन गर्न उच्च गुणस्तरको ब्लेड प्रयोग गर्नुपर्नेमा जगदम्बाले कवाडीमार्फत संकलन गरेका फलामका टुक्रा पगालेर ब्लेड बनाई प्रयोग गर्दै आएको पाइएको छ । जसमा बाहिरबाट हेर्दा डण्डी एउटै देखिए पनि भित्र भने कमसल हुने गरेको प्राविधिकहरू बताउँछन् । जसबाट उपभोक्ता मारमा पर्छन् तर कम्पनी संचालकहरूलाई भने मालामाल हुन्छ । यो कम्पनीको डन्डीमा पनि त्यही भएको हो । यतिबेला व्यावसायिक घराना शंकर गु्रप कोरोना कहरमा स्वास्थ्य उपकरण कालोबजारी गरेको प्रमाणित भएदेखि नै खराब व्यवसायीका रुपमा बदनाम हुन पुगेको छ ।

यस्तो छ शंकर ग्रुपको मार्केट अवस्था

शंकर ग्रुपका मुख्य कम्पनीहरूमै अहिले छानबिन भइरहेको छ । जसका कारण नयाँ प्रोडक्ट बजारमा जान सकेको छैन । पुराना प्रोडक्ट मात्र अहिले मार्केटमा बिक्री भइरहेका छन् । त्यो पनि न्यून रूपमा बिक्री भइरहेको छ । यो गु्रपका जगदम्बा स्टिल उद्योग प्रा.लि. बारा, जगदम्बा सिमेन्ट उद्योग प्रा.लि. बारा, मंगला सिमेन्ट उद्योग प्रा.लि. धादिङ, रिद्धिसिद्धि मिनिरल वाटर, जगदम्बा मिल्स, जगदम्बा मोटर्स, युनियन लाइफ इन्स्योरेन्स र जगदम्बा वायरमाथि छानबिन भइरहेको छ । 

काठमाडौंको चाबहिलमा रहेको राजेश हार्डवेयर प्रा.लि.ले पनि लामो समयदेखि सोही कम्पनीको प्रोडक्ट बेचिरहेको छ । उक्त प्रा.लि.का कर्मचारी राजु शर्माका अनुसार जुन हिसाबमा पहिला जगदम्बाका डन्डीहरू बिक्री हुन्थे, त्यसको तुलनामा अहिले बिक्री परिणाम निकै खस्किएको छ । ‘यस कम्पनीका पुराना फलाममा समस्या छैन, नयाँ फलाम आएको छैन । बीचमा जुन फलाम आएको थियो, समस्या त्यसैमा थियो, जुन कम्पनीले फिर्ता लगिसकेको छ ।’ उहाँले थप्नुभयो, ‘ग्राहकले किनेर लगेका त्यस्ता सामग्री सबै कम्पनीले फिर्ता लिएर क्षतिपूर्ति दिइसकेको छ । पछिल्लो समय सरकारले कारबाही गरेपछि यसको बिक्रीमा कमी त आएको छ, तर जगदम्बाका पुराना फलामहरूको बिक्री भने भइरहेको छ ।’ उहाँका अनुसार यस कम्पनीमाथि सरकारले कारबाही गरेपछि ग्राहकको पहिलो रोजाइमा जगदम्बा पर्न सकेको छैन ।

यस्तै काठमाडौंका अन्य डिपोहरूमा पुग्दा पनि जगदम्बाका सामान बिक्री हुन छाडेको र गुणस्तरहीन भनिएका सामान कम्पनीले फिर्ता लगेको जानकारी व्यापारीहरूबाट प्राप्त भयो । व्यवसायीका अनुसार उपभोक्ता नै यतिबेला जगदम्बाका उत्पादन किन्नेभन्दा अन्य उत्पादन किन्नेतर्फ आफ्नो मुड बनाएर आउने गरेका छन् ।  यस्तै अवस्था देशका अन्य स्थानको पनि छ । कम्पनीको मार्केट अवस्था बुझ्न उपत्यकासहित देशका अन्य प्रदेशमा हाम्रा संवाददाता पुग्दा सबैबाट यस्तै प्रतिक्रिया आएको छ । जसबाट यस कम्पनीको स्टिल मात्र होइन अन्य प्रोडक्टको बिक्रीमा समेत कमी आएको देखिन्छ । 

विराटनगरको एयरपोर्ट लाइनमा रहेको राजेश हार्डवेयरमा हाम्री संवाददाता जीना कार्की पुग्दा त्यहाँका सञ्चालक विनोद अग्रवालले पनि यस कम्पनीको प्रोडक्ट घटेको स्वीकार्नुभयो । 

त्यस्तै, कपिलवस्तुको चार नम्बरमा रहेको पौडेल हार्डवेयर एण्ड सप्लार्यसका सञ्चालक नवराज पौडेल पछिल्लो समय जगदम्बाको रड विक्री शुन्य जस्तै रहेको बताउनुहुन्छ । ‘पहिला राम्रो बिक्री थियो, अहिले आएर यसको सिमेन्ट र छड बिक्न छाडेको छ’, उहाँले भन्नुभयो । मिडियामा यो कम्पनीका बारेमा समाचार सार्वजनिक भएपछि उपभोत्ताmले यो कम्पनीका सामान खरिद गर्न छाडेको उहाँले बताउनुभयो । ‘पहिला त राम्रै बिक्री हुन्थ्यो तर अहिले भने ठप्पै छ’, पौडेलले भन्नुभयो । 

यस्तै हाम्रा देशैभर रहेका संवाददाताले एकै खालको रिपोर्ट पठाएका छन् । सबैको रिपोर्टमा जगदम्बाका सामान बिक्री हुन छाडेका छन् । यो कम्पनीले कमसल सामान बिक्री वितरण गरेको सार्वजनिक भएपछि यतिबेला ग्राहकले यसका सामान किन्न छाडेका छन् ।     

विभागको कारबाहीबाट छड उत्पादन तथा बिक्रीमा रोक लगाउँदै बजारबाट फिर्ता लिन निर्देशन दिएपछि कम्पनीको गोदाममा रहेको स्टक पनि नष्ट गर्ने जनाएको छ । कम्पनीको गोदाममा रहेको त नष्ट होेला तर बजारमा गई बिक्री भई प्रयोगमा समेत आइसकेको छड के गर्ने त्यो प्रश्न महत्वपूर्ण छ । प्रयोग भई निर्माण गरिएका भौतिक संरचना के गर्ने ? त्यो संरचनाबाट हुन सक्ने मानवीय जोखिमलगायत सम्पत्तिको जोखिमको जिम्मा कसले लिने भन्ने विषय अत्यन्तै गम्भीर छ । भविष्यमा यसको प्रयोगबाट निर्माण भएका संरचनाले मानवीय तथा भौतिक क्षति पु¥याएमा के गर्ने भन्ने विषय जटिल छ । यसतर्फ पनि सम्बन्धित निकायले सोच्न जरूरी छ । विगत लामो समयदेखि राजनीतिक पहुँचका आधारमा उपभोक्तालाई ठग्दै आएको शंकर ग्रुपको लुटधन्दा सार्वजनिक हुन थालेपछि यतिबेला उपभोक्ता आफैँ सजग हुन थालेका छन् ।

कालोबजारी गरेको आरोपमा रंगेहात पक्राउ परेका शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाललाई पनि उनका कतुर्तबाट बचाउन विभिन्न चलखेल सुरु भइरहेको सुत्रको दाबी छ । लामो समयदेखि सरकारी निकायको आँखा छल्दै र मिलेमतोमा कालोबजारीमा संलग्न हुँदै आइरहेको उक्त व्यापारिक घरनालाई बचाउन शक्तिकेन्द्र लागिरहेको बताइन्छ । ठगी धन्दामा रहेकाको कुनै विवेक र मानवयीता हुँदैन । यिनीहरूले मौका पाउनसाथ यस्तो धन्दा सुरु गरिहाल्छन् । सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नारा लगाउँदै आएको छ । यस्ता दिनदहाडै जनता लुट्न पल्केकालाई उन्मुक्ति दिइयो भने कानुनी राज्यमाथि नै थप प्रश्न उठ्ने छ । 

यता, नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वावु पुडासैनीले विभिन्न उद्योगबाट उत्पादित वस्तुको गुणस्तर नापतौल विभागको प्रयोगशालामा परीक्षण गराउँदा ती उद्योगले नेपाल गुणस्तरअनुरूप उत्पादन नगरेकाले कारबाही गरिएको बताउनुभयो ।

विभागले नेपाल गुणस्तर (प्रमाण चिहृन) ऐन, २०३७ तथा नियमावली २०४० को नियम (१६) अनुसारको कानुनी कारबाही प्रक्रिया अगाडि बढाएको हो । यस्तै, मंगला सिमेन्टको संकलित नमुनाको १४ एमपिए र १९ एमपिए हुनुपर्नेमा सोभन्दा धेरै भएकाले विभागले कारबाही गरेको हो ।

एकपछि अर्को गर्दै शंकर गु्रपका विभिन्न लुटधन्दा सार्वजनिक हुन थालेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि शंकर ग्रुपद्वारा सञ्चालित सबै कम्पनीमाथि एकैपटक छानबिन गर्ने तयारी गरेको छ । ‘सुलभ अग्रवाल मात्र नभएर शंकर ग्रुपद्वारा सञ्चालित सबै लगानीमाथि गम्भीर भएर छानबिन गरिरहेका छौ’ महानिर्देशक रूपनारायण भट्टराईले भन्नुभयो ।’ 

शंकर ग्रुपका बदमासीको शृंखला

– महामारीको समयमा कालोबजारी

– भ्याटछली

– फिडरलाइनमा अनियमितता

– गुणस्तरहीन वस्तु उत्पादन गर्दै ठगी

– विद्युत् प्राधिकरणमा दुई अर्ब ६५ करोड रुपैयाँ बक्यौता

– नक्कली भ्याट प्रकरणमा समेत मुछिएको 

– पटक–पटक गैरकानुनी क्रियाकलापमा संलग्न रहँदै आएको 

– कबाडी सामानबाट गुणस्तरहीन रड उत्पादन 

– गुणस्तरहीन सिमेन्ट उत्पादन

–डेडिकेटेड फिडरलाइनमा अनियमिततालगायत थुप्रै प्रकरणमा जोडिएको 

ग्रुपका छानबिनमा परेका मुख्य कम्पनी

– मंगला सिमेन्ट उद्योग प्रा.लि., धादिङ

– जगदम्बा सिमेन्ट उद्योग प्रा.लि., बारा

– जगदम्बा स्टिल उद्योग प्रा.लि., बारा

– रिद्धिसिद्धि मिनिरल वाटर

– जगदम्बा मिल्स

– जगदम्बा बायर

– जगदम्बा मोटर्स

– युनियन लाइफ इन्स्योरेन्स