प्रेमका प्रश्नले दिक्क करिश्मा

काठमाडौं । नेपाली चलचित्रकी नायिका करिश्मा मानन्धर सदावहार नायिकाको रूपमा चिनिनु हुन्छ । उमेरले ४८ वर्ष पुगे पनि आफ्नो स्वास्थ्य फिट राख्नु उहाँको विशेषता हो । करिश्मालाई अहिले प्रायः दर्शक तथा मिडियाबाट आउने प्रश्न सुन्दरताको हो, अझै पनि यति सुन्दर कसरी ? यो प्रश्न मिडियाका सबैजसो अन्तर्वार्तामा दोहोरिएकै हुन्छन् । यस्तै फ्यानहरूले सधैं सुन्दर भइरहन के गर्नुपर्छ जस्ता प्रश्न गरिरहेका हुन्छन् ।  

करिब तीन दशकभन्दा लामो समय चलचित्र क्षेत्रमा बिताउनुभएकी करिश्माको चर्चा उहाँको राजनीतिक यात्रा र पढाइका कारण हुने गर्छ । उहाँले अहिलेको उमेरमा आएरपछि पढ्न सकिन्छ भन्दै कक्षा ९ बाट पढेर १० कक्षा पास गरिसक्नु भएको छ । यो कुरा धेरैका लागि प्रेरणा बन्यो ।

करिश्माले यो उमेरमा आफूलाई अन्तर्वार्तामा प्रेम सम्बन्धको प्रश्न आउने गरेकोप्रति गुनासो पोख्नु भएको छ । उहाँले फेसबुकमा लेख्नु भएको छ, ‘महिला कलाकार भएको नाताले मैले हरेक पटक भोग्नुपरेको एउटा विषय के हो भने तपाइँ फलानोसँग प्रेम सम्बन्धमा हुनुहुन्थ्यो रे ! म जुन क्षेत्रमा काम गर्छु त्यहाँ विभिन्न मानिससँग संगत हुन्छ, कतिसँग नजिक पनि भइन्छ, यो उमेरसम्म आउपुग्दा अन्तर्वार्ताहरूमा त्यो एउटा प्रश्न जरुर आउँछ ।’

अभिनेत्री करिश्माले प्रश्न गर्दै अगाडि लेख्नु भएको छ, ‘म एउटा विवाहित महिला हुँ, परिवारमा बस्छु, बिहे गर्ने उमेरको छोरी छ, अब यस्तो प्रश्नको के जवाफ दिऊँ ?’ आफूसँग प्रेमसम्बन्ध रहेको भनिएका पुरुषलाई भने यो प्रश्न कहिल्यै नगरिने उहाँ बताउनुहुन्छ । उहाँले आफू महिला भनेर हेपेको त होइन भनेर प्रश्न पनि गर्नुभएको छ । आफ्नो श्रीमान् र परिवारको इज्जत गर्न उहाँको आग्रह छ । 

‘के दर्शकहरूलाई यस्तो प्रश्नको जवाफ सुनेर रमाइलो हुन्छ होला र ?’ उहाँले अगाडि लेख्नुभएको छ, ‘के बुझौं भने अहिलेको दर्शक श्रोता धेरै स्मार्ट हुनुहुन्छ सबै कुरा बुझ्नु हुन्छ ।’ करिश्माको यो स्टाटसबाट बुझ्न सकिन्छ कि उहाँ अन्तर्वार्तामा सोधिने प्रेम सम्बन्धको प्रश्नले दिक्क हुनुभएको छ ।

चलचित्र ‘सन्तान’बाट अभिनेत्रीको रूपमा डेब्यु गर्नुभएकी करिश्माको १८ वर्षको उमेरमा निर्माता विनोद मानन्धरसँग विवाह भएको थियो । वैवाहिक जीवनमा बाँधिएपछि उहाँको फिल्म करिअरले गति लिएको थियो ।