विपन्नलाई चुल्हो बाल्नै मुश्किल : ‘लालाबालाले पेटभरि नखाएको महिनौं भयो’

म्याग्दी । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण रोगथाम तथा नियन्त्रणका लागि गत ६ महिनादेखि जारी लकडाउनका कारण गरिखाने बर्ग (मजदुर) हरुको घरमा चुल्हो बल्नै छोडेको छ ।

कोरोना संक्रमणको डरले विकास निर्माणदेखि लिएर अन्य क्षेत्रका कामहरु ठप्प भएपछि  दैनिक ज्याला मजदूरी गरेर जीविको चलाउँदै आएका म्याग्दीका विपन्न तथा मजदुरहरुको दैनिकी दयनीय बन्दै गइरहेको छ । 

रोगको भन्दा पनि भोकको चिन्ताले सताउन थालेपछि यहाँका विपन्न र मजदुरहरुले जस्तो सुकै जोखिम मोलेरै भएपनि कामको खोजी गर्न थालेका छन् ।

पश्चिम म्याग्दीको गुर्जाबाट मजदुरीको खोजिमा बेनीमा आएका जगविर विक, धनवहादुर विक र लक्ष्मण विकले मजदूरी गर्न काम नपाइएपछि भोकभोकै वस्नु परेको बताउनु हुन्छ । कमाएर ल्याउँदाको दिनमा मात्र चुल्हो बल्ने उहाँहरुका छोराछोरीहरुले पेटभरी भात खाने रहर पालेको पाँच महिना भएको आँखाभरि आँशु पार्दै सुनाउनु भयो ।

‘काम पाइँदैन,कामै गरेपछि कमाइ हुने कुरै भएन’ ३४ वर्षिय लक्ष्मण विकले भन्नुभयो ‘कमाएर ल्याउदाको दिनमा डेरामा चुल्हो बल्छ, नकमाउँदा भोकभोकै सुत्नु पर्छ ।’

त्यस्तै बेनी नगरपालिका–५, भीरमुनीका रिमे परियारको पीडा पनि लक्ष्मणको भन्दा कम छैन । ढाडको नसा च्यापिएपछि लामो समयसम्म उठ्न र बस्न नसक्ने अवस्थामा पुग्नुभएका परियार कोरोना संक्रमणको जोखिमसँगै लामो समयसम्म भएको लकडाउनले मजदूरीको बाटो बन्द भएपछि घरमा चुल्हो बल्न छोडेको बताउनुहुन्छ  ।

उसै त विरामी त्यसमाथि पनि काम नपाएर भोकभोकै वस्नुपर्दा परियारलाई पर्नु पिर परेको छ । ‘आफूलाई त जे सुकै हुँदो हो, तीनजना छोराछोरी र श्रीमतीको बिजोग हुने भयो’ परियारले घुक्क घुक्क गर्दै भन्नुभयो ।

 ‘घरमा यतिबेला रोगको डरसँगै भोकको पीडा पनि उस्तै छ, भोकभोकै मरिन्छ कि भन्ने डर छ’ परियारले दुखेसो व्यक्त गर्नुभयो ।

उहाँले श्रीमती र आफू भोकभोकै बस्न सकेपछि ससाना छोराछोरी भोक लाग्यो भनेर कराउँदा रातभरी निद्रा नलाग्ने उहाँको भनाइ थियो ।

परिवारको गुजरा चलाउन श्रीमती शोभालाई मजदुरीमा पठाउने गरेको अवस्थामा श्रीमतीको कमाइले एक छाक पेटभरी खान नपुग्ने परियारको भनाइ छ ।

मजदुरीबाट घर खर्च नचलेपछि मागेर गुजारा चलाएपनि कैयौं रात भोकै सुत्नु परेपछि छोराछोरीको अनुहारलाई हेर्न नसकेर पटक–पटक आत्महत्याको सोच समेत पलाएको उहाँले बताउनुभयो ।

परियार १२ बर्षिया छोरी किरण, १० बर्षिया रितु र ४ बर्षिय छोरा रितिम, श्रीमती शोभासंगै भुइँमा नै सुत्नुहुन्छ । भुईमा गुन्द्री ओच्छाएर सुत्ने गरेकोको छोरी रितुको भनाइ छ । ‘विरामी बुबाले कमाउन सक्नुहुन्न,धेरै रात खाली पेट सुत्नुपर्छ’ रितुले भन्नुभयो ।

 पढ्ने कपिकलमको अभावले पढ्न नपाएको उहाँको भनाइ छ । उहाँले पेटभरी भात खाएर बस्ने दिनको प्रतिक्षा गरिरहनुभएको छ ।

यता स्थानीय महिला स्वयंमसेविका राजकुमारी परियारले चामल, दाल, नून, तेलले पीडित परियारको परिवारलाई धेरै राहत हुने बताउनु भयो ।

बन्दाबन्दीको सुरुवाती चरण (गत चैत) मा नै म्याग्दीका स्थानीय तहहरुले विपन्न र मजदुरहरुलाई राहत वितरण गरेका थिए । स्थानीय तहले गरेको राहत वितरणको तथ्याङ्कलाई आधार मान्ने हो भने बेनी बजार क्षेत्रको नेरोफेरोमा मात्रै तीन हजार भन्दा बढी विपन्न तथा मजदुरहरु रहेका छन् । जिल्ला भरी गरिखाने मजदुरहरुको संख्या १० हजार भन्दा बढी रहेको छ । सबै मजदुरहरुको अवस्था विक र परियारसंग मिल्दोजुल्दो रहेको छ ।