जोहोरमा अध्यागमन विभागको ठूलो छापा: १५५ विदेशी नागरिक पक्राउ, दुई स्थानीय पनि पक्राउ।

जोहोर, मलेसिया:= मलेसियाको जोहोर राज्यस्थित पान्डन होलसेल मार्केट क्षेत्रमा सञ्चालन गरिएको संयुक्त अध्यागमन कारबाहीमा १५५ जना विदेशी नागरिक पक्राउ परेका छन्। उक्त अभियानमा दुई जना स्थानीय नागरिकलाई समेत थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।

जोहोर अध्यागमन विभागका निर्देशक दातुक मोहद रुस्दी मोहद दारुस का अनुसार “अप्स बरसामा (Ops Bersama)” नाम दिइएको अभियान जोहोर अध्यागमन विभाग र Malaysian Border Control and Protection Agency (AKPS) ले संयुक्त रूपमा सञ्चालन गरेका हुन्।

बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म चलेको करिब तीन घण्टे अभियानमा पान्डन होलसेल मार्केट तथा आसपासका ३६ वटा व्यापारिक प्रतिष्ठानमा जाँच गरिएको थियो। स्थानीयवासीको गुनासो, गोप्य सूचना तथा निगरानीका आधारमा अवैध रूपमा सञ्चालन भइरहेका व्यवसाय तथा अध्यागमन नियम उल्लङ्घन गर्ने व्यक्तिहरूलाई लक्षित गर्दै कारबाही गरिएको अधिकारीहरूले बताएका छन्।

कारबाहीका क्रममा ५६ जना इन्डोनेसियाली पुरुष, ३९ जना म्यानमारका पुरुष, ३५ जना बंगलादेशी पुरुष, १० जना पाकिस्तानी पुरुष, एक जना भियतनामी पुरुष, एक जना चिनियाँ पुरुष, एक जना म्यानमारका बालक, ६ जना इन्डोनेसियाली महिला, ५ जना म्यानमारका महिला तथा एक जना भियतनामी महिला पक्राउ परेका छन्। पक्राउ परेकाहरूको उमेर १० देखि ४९ वर्षबीच रहेको जनाइएको छ।

अधिकारीहरूका अनुसार पक्राउ परेकामध्ये केही व्यापारिक प्रतिष्ठानमा काम गरिरहेका थिए भने केही ग्राहकका रूपमा त्यहाँ उपस्थित थिए। यसबाहेक, दुई जना स्थानीय नागरिकलाई पनि थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।

पक्राउ परेकामाथि मलेसियाको अध्यागमन ऐन १९५९/६३ तथा अध्यागमन नियमावली १९६३ अन्तर्गत अनुसन्धान भइरहेको छ। उनीहरूलाई हाल जोहोर बारुको सेटिया ट्रोपिका अध्यागमन डिपोमा राखिएको छ।

जोहोर अध्यागमन विभागले मलेसियाको अध्यागमन कानुनको प्रभावकारी कार्यान्वयनका लागि यस्ता अनुगमन तथा कारबाही आगामी दिनमा पनि निरन्तर जारी रहने जनाएको छ।