मलेसियाको प्रगतिशील तलब नीतिबाट ५१ हजारभन्दा बढी स्थानीय कामदार लाभान्वित, तलब १३.८ प्रतिशतले वृद्धि।

क्वालालम्पुर:= मलेसिया सरकारले लागू गरेको प्रगतिशील तलब नीति (Progressive Wage Policy – PWP) अन्तर्गत हालसम्म ५१,३६३ जना स्थानीय मलेसियाली कामदार प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। मलेसियाको मानव संशाधन मन्त्रालयले संसदमा दिएको लिखित जवाफ अनुसार यस नीतिले सहभागी कामदारहरूको मासिक आम्दानी उल्लेखनीय रूपमा बढाएको छ।

मन्त्रालयका अनुसार, नीतिअन्तर्गत लाभान्वित कामदारहरूको मध्यक मासिक तलब (Median Monthly Wage) १३.८ प्रतिशत (RM २९०) ले वृद्धि भई RM २,१०० बाट RM २,३९० पुगेको छ।

हालसम्म ४,०२५ रोजगारदाता यस कार्यक्रममा सहभागी भएका छन्। तीमध्ये ५०.२ प्रतिशत साना तथा मझौला उद्यम (SME) रहेका छन्। रोजगारदाताहरूलाई प्रोत्साहन गर्न सरकारले RM ६४ मिलियनभन्दा बढी अनुदान वितरण गरिसकेको मन्त्रालयले जनाएको छ।

क्षेत्रगत रूपमा हेर्दा, थोक तथा खुद्रा व्यापार (२६.७ प्रतिशत) मा सबैभन्दा बढी सहभागिता रहेको छ। त्यसपछि उत्पादन क्षेत्र (१५.७ प्रतिशत) तथा व्यावसायिक र प्राविधिक सेवा क्षेत्र रहेका छन्।

यो नीति जनवरी २०२५ देखि पूर्ण रूपमा कार्यान्वयनमा आएको हो। यसको मुख्य उद्देश्य निजी क्षेत्रमा कार्यरत स्थानीय मलेसियाली नागरिकहरूको सीप, उत्पादकत्व र आम्दानी वृद्धि गर्नुका साथै विभिन्न उमेर समूहबीचको आय असमानता कम गर्नु हो।

यद्यपि, यो योजना स्थानीय मलेसियाली नागरिकहरूका लागि मात्र लागू गरिएको हो। मलेसियामा कार्यरत विदेशी कामदारहरूको हकमा भने सरकारले तोकेको न्यूनतम मासिक तलब RM १,७०० अनिवार्य रूपमा लागू हुने व्यवस्था यथावत रहेको मन्त्रालयले स्पष्ट पारेको छ।