खाद्य आयात आधा घटाउने मलेसियाको दीर्घकालीन योजना, सन् २०५० सम्म खाद्य सुरक्षामा आत्मनिर्भर बन्ने।

क्वालालम्पुर:= मलेसिया सरकारले देशलाई खाद्य सुरक्षामा आत्मनिर्भर बनाउने उद्देश्यसहित सन् २०५० सम्म खाद्य आयात ५० प्रतिशतले घटाउने महत्वाकांक्षी दीर्घकालीन योजना सार्वजनिक गरेको छ।

हाल मलेसियाले वार्षिक रूपमा करिब RM ८० अर्ब (८० बिलियन मलेसियन रिङ्गिट) बराबरको खाद्यान्न आयात गर्दै आएको छ। यही ठूलो आयात खर्च घटाउँदै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले चरणबद्ध रणनीति अघि सारेको हो।

मलेसियाका उप-प्रधानमन्त्री तथा ग्रामीण एवं क्षेत्रीय विकास मन्त्री दातुक सेरी डा. अहमद जाहिद हमिदीका अनुसार योजना तीन चरणमा कार्यान्वयन गरिनेछ। पहिलो चरणमा सन् २०३० सम्म खाद्य आयात कम्तीमा १५ प्रतिशत, दोस्रो चरणमा सन् २०४० सम्म ३० प्रतिशतभन्दा बढी, र अन्तिम चरणमा सन् २०५० सम्म ५० प्रतिशत ले घटाउने लक्ष्य राखिएको छ।

यो लक्ष्य हासिल गर्न सरकारले विभिन्न सरकारी एजेन्सीहरूको स्वामित्वमा रहेका प्रयोगविहीन तथा बाँझो जमिनलाई ‘एग्रो मदानी (Agro MADANI)’ परियोजनामार्फत कृषि तथा पशुपालन उत्पादनका लागि उपयोग गर्ने योजना बनाएको छ।

सरकारले विशेषगरी ब्रोइलर कुखुरा, अण्डा र मासु लगायतका खाद्य वस्तुको स्वदेशी उत्पादन बढाएर बजारमा आपूर्ति सुदृढ गर्ने र मूल्य स्थिर राख्ने रणनीति अपनाएको जनाएको छ।

सरकारका अनुसार यस नीतिले स्थानीय किसानलाई विस्थापित गर्ने होइन, बरु उत्पादन वृद्धि, खाद्य सुरक्षाको सुदृढीकरण तथा उपभोक्तालाई उचित मूल्यमा गुणस्तरीय खाद्यान्न उपलब्ध गराउने लक्ष्य राखेको छ। यदि योजना सफल भयो भने, मलेसियाको खाद्य आयातमा उल्लेखनीय कमी आउने र देशको कृषि क्षेत्र थप सशक्त बन्ने अपेक्षा गरिएको छ।